काठमाडौं- वीर अस्पतालमा सबैभन्दा धेरै बिरामीको भीड हुने विभाग मेडिसिन हो। र, मेडिसिनपछि धेरै व्यस्त र बिरामीको अत्यधिक भीड हुने विभाग हो, युरोलोजी विभाग।
देशकै पुरानो र बिरामीको आशाको केन्द्र हो वीर अस्पताल। ७७ वटै जिल्लाबाट स्वास्थ्य उपचार लिन बिरामीहरु यहाँ आउँछन्। ग्याष्ट्रोइन्ट्रोलोजी, न्यूरोलोजी, इण्डोक्राइन, प्याथोलोजी, डेन्टल, इएनटी लगायतको विशेषज्ञ सेवा यहाँ सञ्चालित छन्।
आठ वर्ष भयो, यो विभाग वीर अस्पतालमा सञ्चालनमा आएको। यो विशिष्टकृत सेवा हो। पहिले यस अन्तर्गतको सेवाहरु जनरल सर्जरी मार्फत हुने गर्दथ्यो। २०७२ साल वैशाखदेखि युरोलोजी विभाग जनरल सर्जरी विभागबाट छुट्टिएर सञ्चालनमा आएको विभागका प्रमुख प्राडा रविन बहादुर बस्नेतले बताए।
नाम रिफरल सेन्टर काम जनरल
युरोलोजी विभागमा दैनिक १५० देखि २०० बिरामी ओपिडी पुग्छन्। जसमध्ये ७० देखि ७५ प्रतिशत बिरामी हुन्छन्, काठमाडौं बाहिरका।
उनीहरुमा पनि ७५ प्रतिशत बिरामी काठमाडौं आउन नपर्ने र उनीहरुकै ठाउँमा रहेका अस्पतालमा उपचार गरे पुग्ने खालका हुन्छन्। तर काठमाडौं बाहिर उपचार हुने बिरामीहरु पनि वीर अस्पताल आउने गरेको डा बस्नेत बताउँछन्।
उनले भने, ‘वीर अस्पताललाई रिफरल सेन्टर भनेपछि रिफर भएका बिरामी मात्र आउनुपर्छ। बाहिर उपचार नभएका बिरामी मात्र आएपनि हामीलाई ७५ प्रतिशत भार कम हुन्छ।’
उनका अनुसार युरोलोजी सम्बन्धी सेवा झापा, धनगढी, वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज लगायत जिल्लामा उपलब्ध छ। रिफरल अस्पतालको रुपमा विकास गरिसकेको वीर अस्पतालमा रिफरल बिरामी मात्र आउनुपर्ने उनले बताए।
काठमाडौं आउन आवश्यक नभएका बिरामीलाई पनि उपचार गर्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछन्। यसले गर्दा वास्तविक बिरामी जसलाई उपचारको खाँचो छ, उनीहरु उपचारबाट बञ्चित भइरहेका छन्।
अन्य देशमा भइरहेका अभ्यासबाट सरकारले सिक्नुपर्ने बताउँदै उनी भन्छन्, ‘भारतमा रिफरल सेन्टरमा बिरामी सिधै कहिले पनि जान पाउँदैन। आफ्नै ठाउँमा उपचार गरेर नभएपछि त्यहाँको डाक्टरले रिफर गर्छन्।’
वीर अस्पताल नामको रिफरल सेन्टर भएपनि काम जनरल मात्र भएको उनी बताउँछन्। सामान्य ओपिडीमा उपचार हुने बिरामीलाई विशेषज्ञ सेवाको आवश्यकता चिकित्सकको सल्लाह अनुसार मात्र लिनुपर्ने उनी बताउँछन्। मिर्गौलाको पत्थरी र प्रोस्टेटको समस्या लिएर आउने बिरामीहरु धेरै छन्।
‘हामी ओपिडीमा २ सय जति बिरामी हेर्छौ। वीर अस्पतालमै आउनुपर्ने २० जना जति पनि हुँदैन। उनले भने’, ‘पिसाब पोलेको, ढाड दुखेको समस्या लिएर पनि युरोलोजीमा आउँछन्। यसले गर्दा उपचारको आवश्यक परेका वास्तविक बिरामी मर्कामा परेका हुन्छन्।’
एउटा बिरामीलाई २ देखि ७ मिनेट दिनुपर्ने भएपनि २ सय जना बिरामीलाई उत्तिकै समय दिन नसकिएको उनले बताए। बिरामीको भीड धेरै हुँदा गुणस्तरीय सेवा दिन पनि नसकिएको उनले बताए।
उनका अनुसार बिरामी सबैभन्दा पहिले प्राइमरी स्तरको अस्पताल जानुपर्छ। प्राइमरी अस्पतालमा उपचार नभएपछि सेकेण्डरी, त्यहाँ उपचार नभएपछि जिल्ला वा प्रादेशिक अस्पताल जान चिकित्सकले सुझाव दिन्छन्।
प्रादेशिक अस्पतालमै बिरामीको धेरै समस्या समाधान हुने उनले बताए। प्रादेशिक अस्पतालमा उपचार संभव नभएपछि मात्र केन्द्रीय अस्पतालमा जानुपर्ने उनी बताउँछन्।
जनशक्ति र उपकरणको अभाव
जनशक्ति र उपकरणको अभाव सरकारी अस्पतालको लागि प्रमुख समस्या नै जस्तो भइसककेको छ। सरकारले बिरामीको भीड कम गराउन निर्देशन दिन्छ। सहज, सर्वसुलभ र गुणस्तरीय सेवा नीतिमा उल्लेख हुन्छ। तर व्यवहारमा पाईदैन।
सरकारले बिरामीको भीड कम गर्न निर्देशन मात्र दिने तर त्यो अनुसारको सुविधा र सहयोग प्राप्त नभएको उनको गुनासो छ। प्रशासनिक रुपमा हुनुपर्ने प्राविधिक सहयोगहरु नपाउने गरेको उनको उनले बताए। आवश्यक उपकरणको अभाव र भएका पनि पुराना भएको उनले सुनाए।
‘कुनै सामानहरु तीन चार वटा केसपछि प्रतिस्थापन गर्नुपर्ने हुन्छ। कहिले काँही सानो एउटा औजार नभएर पनि डेढ दुई महिनासम्म पनि हाम्रो अपरेशन रोकिन्छ। तीन महिना अघि जे समस्या थियो, अहिले पनि यही समस्या छ।’ उनले भने।
युरोलोजी विभागमा भोगिरहेका समस्याहरुलाई उनलाई यसरी वर्गाीकरण गर्छन्:
एक, जनशक्तिको अभाव: यो विभागमा चिकित्सक पुग्ने छन्। तर नर्सिङ जनशक्ति छैनन्। कन्सल्टेण्ट ६ र रजिडेण्ट ५ चिकित्सक यो विभागमा छन्। तर युरोलोजीका लागि तालिम प्राप्त नर्सिङ स्टाफ दुई जना मात्र छन्। फ्लोर स्टार्फको पनि अभाव रहेको डा बस्नेतले बताए। उनका अनुसार एउटा शल्यक्रिया गर्न ३ देखि ४ चिकित्सक, २ जना नर्स र बाहिरबाट सामान पास गर्ने कर्मचारी आवश्यक पर्छ। तर युरोलोजी विभागमा फ्लोर स्टार्फ नभएको उनले बताए।
दोस्रो, उपकरणको अभाव: वीर अस्पतालको युरोलोजी विभागमा नयाँ प्रविधिको उपकरण नभित्रिएको पाँच वर्ष भयो। अपरेशन थिएटरमा बिग्रिएका स–साना सामानहरु पनि हालसम्म प्रतिस्थापन हुन नसकेको उनले बताए।
हामीले अहिले जुगाड गरेर काम गरिरहेका छौँ। कतिपय एउटा सानो औजारले चार÷पाँच वटा अपरेशन गर्न सक्छ। त्यो दुई तीन महिनामा प्रतिष्ठान गरियो भने राम्रो हुन्छ। तर यहाँ सामान बिग्रिएर काम बन्द भएपछि मात्र सामानको रिप्लेस हुन्छ। उनले भने।
र, तेस्रो प्रोत्साहनको अभाव: वीर अस्पतालमा हुने कुल शल्यक्रियामध्ये ४० प्रतिशत युरोलोजी विभागले गर्छ। बिरामीहरुको उपचारमा दिनभर खटिएपनि केही घटना घटे आक्रमण गर्ने प्रवृत्तिले आत्मबल घटाएको उनी बताउँछन्।
योसँगै चिकित्सकलाई समय–समयमा तालिम, अभिमुखिकरणको आवश्यकता पर्ने उनले बताए। यसका लागि अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालयले कुनै किसिमको पहल नगरेको उनको अनुभव छ। चिकित्सकलाई आर्थिक र सामाजिक रुपले सरकारले प्रोत्साहन गर्नुपर्ने उनको मााग छ।
शल्यक्रियाका लागि ९ महिनासम्म पालो कुर्छन् बिरामीहरु
वीर अस्पतालको अन्य विभागमा जस्तै शल्यक्रियाका लागि पालो कुर्ने बिरामीको समस्या यो विभागमा पनि छ। विभागमा हाल शल्यक्रियाका लागि ९ महिनासम्म पालो कुर्ने बिरामीहरु रहेको डा बस्नेत बताउँछन्। शल्यक्रियाका लागि अस्पताल पुग्ने बिरामीहरुलाई वीरले दुई भागमा वर्गाीकरण गरेको छ।
पहिलो, इमरजेन्सी अपरेशन: जुन तत्काल र केही घण्टाको फरकमा गरिहाल्नुपर्छ। तत्काल शल्यक्रिया नगरे बिरामीको ज्यान जान सक्छ।
र, दोस्रो, सेमी इमरजेन्सी अपरेशन: एक÷दुई सातामा शल्यक्रिया गर्ने बिरामीहरु हुन्। मिर्गौलाको क्यान्सर, एउटा मात्र मिर्गौला भएका लगायत बिरामीहरु हुन्। पिसाब रोकेर आउने बिरामीहरु पनि यस अन्तर्गत पर्दछन्। कुर्न मिल्ने बिरामीहरुलाई समय दिएर पठाउने गरिन्छ।
पर्खनी बिरामीहरु सबैको सम्पर्क नम्बर राख्ने र शल्यक्रिया गर्ने दिन आएपछि फोन गरेर बोलाउने गरेको उनले बताए। जनरल सर्जनले गर्न नसक्ने शल्यक्रिया मात्र युरोलोजीमा रिफर गर्नुपर्नेमा सामान्य खालको शल्यक्रिया पनि यो विभागले गर्नु परेको उनले बताए। सबै किसिमको सर्जरी गर्नु पर्ने भएकाले मिर्गौला प्रत्यारोपण कम भइरहेको उनी बताउँछन्।
शल्यक्रियाको लागि बिरामीको चाप घटाउने हो भने सरकारी र नीतिगत तहबाटै पहल हुनुपर्ने उनको भनाई छ। युरोलोजीको लागि दुई वटा अपरेशन थिएटर छन्। र, ७७ शय्या छुटयाइएको छ। तर २२ शय्या मात्र सञ्चालनमा छन्। बाँकी शय्या कोभिडको लागि भनेर राखिएको छ।