काठमाडौं- आगामी जेठ १५ गते सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ। सरकारले स्वास्थ्य मन्त्रालयको बजेट घटाउन लागिरहेको छ। आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको भन्दा ४० प्रतिशतभन्दा कम सिलिङ दिएको छ। स्वास्थ्यमा चालु आर्थिक वर्षका लागि ६९ अर्ब बजेट थियो। आगामी आर्थिक वर्षका लागि ४१ अर्ब मात्र सिलिङ दिइएको छ।
कोभिड महामारीले नेपालको स्वास्थ्य प्रणालीको ऐना छर्लङ्ग देखाइदिएका कारण अब स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन कसरी हुन्छ भन्ने विषय चासो पूर्वक हेरिएको छ। कोभिड महामारीले स्वास्थ्य प्रणालीको कमजोरी देखाएपछि स्वास्थ्यखबरले पछिल्लो केही समययता स्वास्थ्य प्रणाली कसरी बलियो बनाउने? नेपालको स्वास्थ्य प्रणाली कस्तो हुने? भन्ने विषयमा शृङ्खलाबद्ध रूपमा सामग्रीहरू प्रकाशित गर्दै आइरहेको छ।
यही शृङ्खला अन्तर्गत यस पटक आगामी बजेटमा स्वास्थ्यको क्षेत्रमा कस्तो बजेट आउनु पर्छ? बजेट घटेमा के-के घाटा हुन सक्छ? सरकारले स्वास्थ्यका के-के विषय प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने? लगायतका विषयमा जनस्वास्थ्य विज्ञ डा रिता थापासँग स्वास्थ्यखबरकी अन्शु खनालले कुराकानी गरेकी छिन्।
स्वास्थ्य क्षेत्रमा बजेट घटाउनु गलत भएको डा थापा बताउँछिन्। अहिलेको अवस्थामा स्वास्थ्य प्रवर्धन र रोग रोकथाम आवश्यक भएको उनको भनाइ छ। बजेट र स्वास्थ्य क्षेत्रको सुधारका विषयमा डा थापाले दिएका सुझाव उनकै शब्दमा:
अहिले स्वास्थ्यमा बजेट घटाउने कुरा सुनिरहेको छु। देशको आर्थिक स्थिति नै कमजोर छ भनिएको छ त्यही कारण पनि घटाउन लगियो होला। तर बजेट घटाउँदा पनि कुन क्षेत्रमा घटाउने र आएको पैसा के मा लगानी गर्ने भन्ने कुरा आउँछ।
स्वास्थ्य भनेको अस्पताल मात्रै होइन। आजकल के भइरहेको छ भने, लगानी बढी अस्पतालमा गइरहेको छ। त्यो भनेको नन प्रोडक्टिभ हो। किनकि ठूलाठूला भवन, महँगा उपकरण ल्याएर अस्पतालमा थुपार्ने चलन छ।
पहिलो कुरा त स्वास्थ्यको बजेट घटाउनु हुँदैन्। सरकारले स्वास्थ्यलाई चाहिने पर्याप्त बजेट दिनुपर्छ। मन्त्रालयले पनि त्यसमा प्राथमिकता दिएर खर्च गर्नुपर्छ।
रोगलाई रोकथाम गर्ने कुरा मन्त्रालयको प्राथमिकता हुनु जरुरी छ। अहिले डेंगु, मलेरिया फैलिँदो अवस्थामा छ। यस्ता रोगहरूको रोकथाम मन्त्रालयले बढी लगानी गर्नुपर्छ।
अर्को पक्ष भनेको स्वास्थ्य प्रवर्धन हो। धेरैजसो बच्चाहरू स्वस्थ नै जन्मिन्छन्। उनीहरूको स्वास्थ्य प्रवर्धन गर्न जति विधिहरू छन्। जति हामीले गरिरहेको कार्यक्रमहरू छ, हामीले समुदाय समुदायलाई नै शिक्षा दिनुपर्यो, उनीहरूलाई सशक्त बनाउनु पर्यो।
उदाहरणको लागि मलेरिया नै हेरौँ। मलेरिया भन्यो, झुल किन्यो ल्यायो, तर ल्याएको चिजको प्रयोग हुनुपर्यो। मान्छेले झुल प्रयोग गर्नुपर्यो। त्यसको लागि गाउँ गाउँमा गएर मान्छेलाई सचेत बनाउनु पर्यो।
त्यसैले स्वास्थ्यमा बजेट बनाउँदा स्वास्थ्य प्रवर्धन र रोगको रोकथाममा बढी जोड दिनुपर्छ।
मैले नेपालमा मातृ मृत्यु दर एक लाख जिवित जन्ममा १८ सय हुँदादेखि काम गर्ने अवसर पाएको थिएँ। अहिले हेर्दा त्यो अवस्था धेरै राम्रो भएको छ। अहिले त्यो दर १५१ मा छ भनेको छ। तर त्यो १५१ लाई केलाएर हेर्ने हो भने त्यो सबै ठाउँमा त्यति छैन। गाउँ गाउँमा त्यो मृत्युदर उच्च छ। त्यस कारणले बजेटलाई सहरी क्षेत्र र ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा पहुँचको ग्यापलाई कम कसरी गर्ने सोच्नुपर्छ।
हाम्रो लगानीहरू गाउँ गाउँमा जानुपर्यो। स्वास्थ्य प्रवर्धन, रोगको रोकथाम, महिला तथा शिशु मृत्युदरमा बढी लगानी हुनुपर्छ। गाउँ गाउँमा भएको महिला स्वास्थ्य स्वंसेविकाहरुको लागि लगानी गर्नु पर्छ। उनीहरूलाई सेवा सुविधा दिएर सक्रिय रूपमा काम लगाउन सकिन्छ।
हाम्रोमा जनशक्ति कम छन्। त्यसमा लगानी गर्नु जरुरी छ। यस्तो साना-साना मानिने कुरामा थोरै लगानी गर्दा पनि धेरै लाभ हुन्छ।
नेपालमै पहिले भएको अनुसन्धानले प्रतिव्यक्ति हामी स्वास्थ्यमा लगानी निकै नै कम गर्दा समेत ५० वर्षको आयु निकालेको थियो। किनकि त्यो बेलामा हामीले जनतालाई रोग लाग्नबाट कसरी बचाउने, उनीहरूलाई शिक्षा कसरी दिने, सशक्त कसरी बनाउने, गाउँ गाउँमा गएर महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन कसरी गर्ने भनेर एउटा स्वास्थ्य सेवाको निर्माण गरेका थियौँ। त्यो आजकल आवश्यक छ। किनकि सन् २०१७ सालमा सरकारले नयाँ संरचना बनाउने नीति ल्यायो। त्यो नीति आए अनुसार भएको कुरालाई भत्कायो तर अहिलेसम्म बनाउन सकेको छैन। त्यसले गर्दा पनि आधारभूत स्वास्थ्य सेवा गाउँ गाउँमा पुग्न सकेको छैन। हुन त अहिले सबै स्थानीय तहले अधिकार पाई सकेको छ। तर त्यो अनुसार काम भएको छैन।
जति पैसा आउँछ यी कुराहरूमा लगानी हुनुपर्छ। छुट्टै अस्पताल बनाउने, ठुला ठुला संरचना बनाएर मात्रै काम छैन।
स्वास्थ्यमा बजेट घट्नु नराम्रो कुरा हो। त्यसमा हामी सबैले लभिइङ गर्नु जरुरी हुन्छ। अहिले भर्खरै स्वास्थ्य मन्त्री नियुक्त हुनु भएको छ, उहाँले पनि लागिपर्नुहोला। अब सबैले यसमा लागि पर्नुपर्छ।
विश्व स्वास्थ्य संगठनको एउटा ग्लोबल अध्ययनका अनुसार स्वास्थ्य सेवाहरूमा हामीले एक रुपैयाँको लगानी गरियो भने ६ रुपैयाँको नाफा आउँछ। हाम्रो देशमा राजनीतिज्ञ, नीति निर्माता र आम मानिसकोको समेत बुझाइमा आर्थिक लगानी भन्दा पनि आर्थिक खपत भन्ने गलत बुझाई छ। किनकि हामीले हाम्रो स्वास्थ्यमा निकै कम लगानी गर्दा पनि त्यसको फाइदा धेरै छ। यो चाहिँ खर्च होइन लगानी हो भन्ने मनोवृत्ति कम पाइएको छ।
यो पनि:
नेपालमा १६ हजार नेपाली बराबर एक जना डाक्टर, तीन सय नेपालीलाई एक सेना