छालामा डाबर आउने समस्या धेरैजसो एलर्जीकै कारण हुन्छ। कुनै पनि खानेकुरा, औषधि, संक्रमणले हुन सक्छ। डाबर आउने समस्या यही कारणले नै हुन्छ भन्ने छैन। यो समस्या व्यक्ति अनुसार फरक पर्छ। ६ हप्तासम्म डाबरको समस्या भए ‘अक्युट अर्टिकारिया’ भनिन्छ। यो समस्या धेरैजसो संक्रमणकै कारण हुन्छ। तर कसैलाई ६ हप्ताभन्दा बढी पनि डाबर आउने समस्या हुन्छ। ६ हप्ताभन्दा बढीसम्म डाबर आउने समस्या भए यसलाई ‘क्रोनिक अर्टिकारिया’ भनिन्छ।
यो समस्या भए कारण थाहा पाउन निकै गाह्रो हुन्छ। क्रोनिक अर्टिकारिया भए कहिले काँही कारण थाहा नपाउँदा मधुमेह र रक्तचापमा जस्तो जीवनभर औषधि खानुपर्ने हुन सक्छ। सबै डाबरको समस्या निको हुँदैन। कसैलाई यो समस्याले निश्चित समय वा जीवनभर सताइरहन सक्छ। पाँच वर्ष, दश वर्ष वा जीवनभर औषधि खानुपर्ने हुन सक्छ। कसैलाई तातो, चिसो, हावा, पानी, बोट विरुवा जे कुराले पनि डाबरको समस्या हुन सक्छ।
चिलाउने समस्या भनेको डाबर या एलर्जीले मात्र हुँदैन। छाला चिलाउनुको कारण एलर्जी मात्र हुँदैन। धेरैजसो बिरामीले छाला चिलाउने बित्तिकै मलाई एलर्जी भयो भन्छन्। तर एलर्जीले मात्र छाला चिलाउँदैन। लुतो, फंगल इन्फेक्सन, एक्जिमाले पनि छाला चिलाउँछ।
लुतो एलर्जी होइन। जनै खटिरा निको भएपछि दुख्छ। तर कसैलाई निको भएपछि पनि चिलाउँछ। छाला सुख्खा भएपनि चिलाउँछ। वृद्धवृद्धा अवस्थामा पनि छाला चिलाउँछ।बाहिरी कारणसँगै शरीर भित्रको कारणले पनि छाला चिलाउँछ। मधुमेह, थाइराइड, रगत बढी या कम भए, क्यान्सर, मिर्गौला रोग, डायलाइसिस भएपछि र गर्ने बेला पनि छाला चिलाउँछ। रगत क्यान्सर भएका बिरामीमा झन् धेरै नै चिलाउँछ। चिलाउने कारणहरु सीमित छैनन्। छाला चिलाउनुको कारणहरु धेरै नै छन्। तर सबै चिलाउने समस्या एलर्जीका कारण हुँदैन।
केही व्यक्तिहरुले चिलाउने समस्याबाट बच्न स्टेरोइड ट्याबलेट खाने गर्छन्। चिकित्सकको सल्लाह बिना खाने यस्ता औषधिले चिलाउने कम होला नहोला तर अर्को रोग निम्त्याउँछ। स्टेरोइड औषधिले मोटोपना बढ्ने, रक्तचाप, मधुमेह, डण्डीफोर आउने, हड्डी कमजोर हुने, रगत जम्ने जस्ता समस्याहरु निम्त्याउँछ। कुनै पनि औषधि चिकित्सकको सल्लाह र प्रेस क्रिप्सन बिना खानु हुँदैन। चिलाउने, डाबर आउने समस्या भए छाला रोग विशेषज्ञसँग जाँच गराउनुपर्छ।
(पाटन अस्पतालका प्रमुख कन्सल्टेण्ट छाला रोग विशषेज्ञ प्राडा भास्करमोहन कायस्थसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीमा आधारित)