काठमाडौं- जेठ पहिलो साता बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक केयर युनिट भित्रको एउटा भिडियो सामाजिक सञ्जाल टिकटकमा भाइरल भयो। उक्त भिडियो गिभिना मगरले टिकटकमा राखेकी थिइन्।
भिडियोमा गिभिना र नर्सहरुबीच चर्काचर्की परिरहेको देखिन्छ। उक्त भिडियोमा गिभिनाले बिरामीलाई समयमै औषधि नदिएको भन्दै नर्सहरुसँग भनाभन गरिरहेका थिए।
गिभिनाले टिकटकमा अपलोड गरेको भिडियोपछि कुरा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्र सीमित भएन। सामाजिक सञ्जालको माध्यमबाट भाइरल नै भयो। टिकटक, फेसबुक, ट्वीटर, इन्स्टाग्राम सबैतिर यो भिडियो पुगिसकेको छ। भिडियो सार्वजनिक भएपछि नर्सहरुको पक्ष र विपक्षमा आवाज उठ्नुका साथै गिभिनाका विषयमा पनि पक्ष र विपक्षमा आवाज उठिरहेको छ।
भिडियो सार्वजनिक भएपछि नर्सिङ पेशाप्रति नै गाली आउन थालेको छ। नर्सिङ पेशालाई नै लक्षित गरेर गाली गलौज हुन थालेपछि नर्सहरु र नेपाल नर्सिङ संघले संस्थागत रुपमा भिडियोको विषयमा विरोध गर्दै भिडियो खिच्नेलाई कारबाहीको माग गरेका छन्। अहिले देशभरका नर्सहरु आन्दोलनमा उत्रिएका छन्। र, निकै संवेदनशील ठाउँमा अनुमति बिना भिडियो खिच्ने व्यक्तिलाई कारबाहीको माग उनीहरुले गरेका छन्।
भिडियोका विषयमा विरोध भएपछि गिभिनाले सामाजिक सञ्जलमा नै आफूले नर्सहरुलाई २ बजे दिने भनिएको औषधि किन साढे ४ बजे दिइएको भनेर प्रश्न गर्दा उल्टै उहाँहरुले गालीगलौज गरेको बताएकी छिन्।
घटना वैशाख २८ गतेको हो। त्यस दिन के भएको थियो ? यो घटनाले कसरी आन्दोलनको रुप लियो? लगायत विषयमा स्वास्थ्यखबरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी नर्सिङ प्रमुख सबिता पन्थीसँग कुराकानी गरेको छ। पन्थीले हामीले घटनाका विषयमा यसरी जानकारी दिइन्। उनले दिएको जानकारी उनकै शब्दमाः
यस अस्पतालको आकस्मिक केयर युनिटमा क्यान्सरका बिरामीको उपचार गरिन्छ। किमोथेरापी, रेडियोथेरापी र सर्जरी गरेका बिरामीहरुलाई केही जटिलता भए अथवा किमोथेरापी गर्नुअघि एउटा औषधि लगाइन्छ। त्यो औषधि लगाउन बिरामीहरु यहाँ आउँछन्।
यो युनिट बिरामी भर्ना गर्ने ठाउँ नभई उपचार गर्ने र बिरामीलाई गाह्रो भए वार्डमा भर्ना हुन्छन्। नभए बिरामीहरु औषधि लगाएर फर्किन्छन्।
यहाँ गिभिना मगर एकजना बच्चासँग आउनु भएको थियो। उहाँ त्यो बच्चाको आफ्नो मान्छे होइन। उहाँले त्यो बच्चालाई भेटेको नौ दिन मात्र भएको थियो। हामीसँग ती बच्चाको उपचार भएको एक वर्ष भयो।
उहाँ वैशाख २७ गते बेलुकी बच्चा लिएर औषधि लगाउन आउनुभयो। ओपिडीमा डाक्टरले औषधि लेखिदिनु भएको थियो। त्यति बेला बिरामी चार बजेतिर पुग्नु भएको थियो, त्यसैले चार बजे औषधि लगाइएको थियो। एउटा एन्टीबायोटिक र एउटा रगत बढ्ने औषधि थियो। औषधि लगाएर उहाँहरु जानुभयो। एन्टीबायोटिक औषधि १२/१२ र अर्को औषधि २४/२४ घण्टाको फरकमा लगाउनुपर्ने थियो। उहाँहरु २७ गते आएर औषधि लगाएर जानु भएको कुरा ठिक हो।
२८ गते उहाँहरु आउनुभयो। १२ घण्टाको फरकमा लगाउनु औषधि लगाइएको थियो। २४ घण्टाको फरकमा लगाउनुपर्ने औषधि चार बजे नै लगाउनुपर्छ। त्यहाँको नर्सले यो २४ घण्टामा फरकमा लगाउने औषधि हो, हिजो जति बजे लगाइएको थियो, त्यही समयमा लगाउनुपर्छ। भर्खर २ बजेको छ भन्नुभयो।
हाम्रो मेडिसीन दिने कोलम हुन्छ। त्यसमा ६, २ र १० बजेको मात्र कोलम हुन्छ। त्यो बीचको समय हुँदैन। त्यसैले उहाँको २७ गते औषधि चार बजे दिएपनि २ बजेको समयमा साइन गरिएको थियो। यो १२ घण्टाको औषधि मैले लगाई सकें। २४ घण्टाको चार बजे लगाउने हो भर्खर २ बजेको छ। तपाईं २ घण्टापछि आउनुस् भनेर नर्सले भन्नुभयो।
यो भन्दा उहाँले ‘तपाईंले कसरी ४ बजे भन्नु भयो। हिजो हामीले २ बजे औषधि लगाएका थियौं म सँग भिडियो छ तपाईले कसरी यो भन्ने? जे पायो त्यही बोल्ने? तपार्इंहरुले यस्तो लापरबाही गर्ने?’ भनेर कुरा सुरु भएको हो।
आकस्मिक केयर युनिट एकदमै ‘रस’ हुने एरिया हो। यहाँ बिरामीको चापका कारण २४ घण्टा भनेर सबै बिरामीलाई ठ्याक्कै त्यही समयमा औषधि लगाउन सकिँदैन। १५० जना बिरामी हेर्नुपर्छ। २ बजे औषधि लगाउन सुरु गरेपनि चार बज्छ। फेरि उनीहरुले भनेजस्तो २ बजे औषधि लगाएको पनि होइन। अघिल्लो दिन चार बजेतिर औषधि लगाइएको हो।
त्यो डिसकसनपछि नर्सिङ स्टफ सबै जना आफ्नै काममा व्यस्त हुनुभयो। उहाँले त्यो भिडियो धेरै पटक इडिट गरेर हाल्नु भएछ। त्यहाँ नर्सले सम्झाएको कुराहरु केही पनि राख्नु भएन। उहाँले तपाईंहरु उता बस्नुस् सबै बिरामीलाई औषधि लगाउनुछ, तपाईंलाई म पछि सम्झाउँछु भनेर चर्केर बोलेको भिडियो मात्र क्याप्चर गरेर भाइरल बनाउनु भएछ।
त्यो भिडियो खिचेको र आएको हामी कसैलाई थाहा भएन। अर्को कुरा त्यो यति संवेदनशील ठाउँ हो, जहाँ अनुमति बिना भिडियो खिच्ने अधिकार छैन।
उहाँले त्यो भिडियो जेठ ३ गते टिकटकमा राख्नु भएछ। भिडियो मात्र राख्नु भएन। उहाँले नर्सिङ पेशालाई नै नानाथरी गाली गरेर राख्नुभयो। जेठ ३ गते राखेको भिडियो मलाई बिहान ४ बजे एक जना स्टाफले देखाउनुभयो। त्यसपछि मैले सम्बन्धित विभागलाई सोधें। सम्बन्धित सबैलाई बोलाए र अस्पताल प्रमुख, बिरामी र गिनिभालाई पनि बोलायौँ। त्यसपछि डेढ घण्टा वार्ता गरेर दुवै पक्षबाट गल्ती भएका छन् भने माफ गरौँ, माफी मागौं र त्यो भिडियो डिलिट गरौँ भनेर सहमति भयो। त्यो वार्तामा उहाँले आफ्नो दुई वटा टिकटक आइडी भएको बताउनुभयो। एउटा मेरो हो तर अर्को फेक आइडी हो भनेर उहाँले झुट कुरा गर्नुभयो।
‘म ट्वालेट जाँदा बिरामी बच्चाले भिडियो अपलोड गरिदिएछ। मेरो आइडीबाट अपलोड भएको भिडियो मैले पर्सनलाइज गरे। तर गिभिना २८ आइडी कसले फेक बनाइदिएछ। र, त्यही आइडीबाट कसले भिडियो अपलोड गरेछ’ भनेर झुट कुरा गर्नुभयो। त्यो मैले गरेको होइन भन्नुभयो। त्यति बेलासम्म त्यो भिडियो धेरै जनाले सेयर गरेर नानाथरी आइसकेको थियो। यति हुँदा पनि हामीले माफ गरेका थियौँ।
तर भित्र सहमति गरेर बाहिर निस्कन नपाउँदै लाइभ गरेर ‘मलाई क्यान्सर अस्पताल प्रशासन र नर्सहरुले माफी माग्न लगाए। मैले मेरो बच्चालाई केही हुन्छ की भन्दै माफी मागें। तर यहाँ धेरै लापरबाही छ। यहाँको नर्सहरु के के भनेर गाली गर्नुभयो। त्यो गालीहरु तपाईंले सुन्नै सक्नु हुन्न। हामीले पनि सुन्न सकेका छैनौं,’ भनेर भन्नु भएछ।
त्यसपछि यहाँको सिस्टरले परिवार सहित जिल्ला प्रहरी कार्यायलमा कुरा भयो। त्यहाँ पनि उहाँले माफी मागेर हिड्नु भएको रहेछ। त्यसपछि टिकटक, लाइभ सबैमा भिडियो धेरै आयो। र, यो अस्पतालमा मात्र सीमित नभई पुरै नर्सिङ पेशालाई नै गिराउने तरिकाले कुराहरु आए। उहाँ मात्र नभएर अन्य व्यक्तिहरुले समेत नर्सिङ पेशालाइ गाली गर्न थाले।
त्यसपछि यो अति भयो भनेर हामीले आफ्नो कुरा राख्नुपर्छ। कारबाही हुनुपर्छ भन्नेमा हामी पुग्यौं। नेपाल नर्सिङ संघ चितवनको शनिबार बैठक बसेर एउटा ध्यानाकर्षण पत्र सिडिओलाई बुझायौँ। उहाँले ध्यानाकर्षण भएको बताउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन सुझाव दिनुभयो। त्यसपछि हामीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छौँ। एसपी सरबाट हामीलाई मेलमिलापका लागि पहल भएको थियो। तर हाम्रो कुरा अझै मिलेको छैन।
उहाँलाई कति पटक माफी दिने? पटक पटकको माफीपछि उहाँले ती कुराहरु दोहोर्याउनु भएको छ। अहिले यो विषयप्रति चितवन संघ मात्र नभएर केन्द्रको नेपाल नर्सिङ संघको पनि ध्यानाकर्षण भएको छ। यसलाई के गर्ने भनेर अझै पनि छलफलमै छ। अनुमति बिना यसरी भिडियो खिचेर कुनै पेशापति आँच आउने र गिराउने काम गरिन्छ भने त्यस्ता व्यक्तिलाई कस्तो सजाय हुन्छ? हदैसम्मको कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो।
हामीलाई सबैभन्दा दुःख लागेको कुरा भनेको हामी दिनरात, परिवार नभनेर बिरामीको उपचारमा २४ सैँ घण्टा खट्छौं। कोरोना महामारीमा हामीले आफ्नो परिवार नभनी जोखिम मोलेर काम गर्यौं। यी सब कुराहरुको भ्यालु नगरेर समाजले अहिले नर्सिङ पेशाप्रति नै यसरी सबै गाली गर्नुहुन्छ भने हामी कसरी काम गर्ने? कसरी अरुलाई विश्वास गर्ने?
म प्रमुखको हिसाबले भन्दा अहिले नर्सिङ स्टाफलाई काम लगाउन सक्ने स्थिति नै छैन। उहाँहरु यति भावविह्वल हुनु हुन्छ की यस्तो तनावमा हुनु हुन्छ की भन्न सक्दिन। यस्तो तनाव भएको छ। काम लगाउन पनि असहज भइरहेको छ।
दिउँसो त हामी हुन्छौं तर नाइट ड्युटी कसरी गर्ने? उहाँले गर्दा भिजिटर्सले विश्वास नगरेको अवस्था छ। अहिले २८० जना बिरामी भर्नामा छन्। हामी सबै जना आन्दोलनमा आउन पनि सक्दैनौं। सबै बिरामीको उपचार गर्नुपर्छ। यो वातावरणलाई कसरी मिलाउने भन्ने विषयमा हामी एकदमै मानसिक तनावमा छौं।