काठमाडौं- सांसद सुनिता बरालले नर्सिङ पेशालाई बदनाम गराउने विषय राम्रो नभएको बताएकी छिन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनिता बरालले कार्य क्षेत्रको आफ्नै विवशता, बाध्यता या कमजोरी भएपनि समग्र नर्सिङ पेशालाई नै बद्नाम गराउन नहुने बताएकी हुन्।
उनले भनिन्, ‘कार्यक्षेत्रको आफ्नै विवशता, बाध्यता या कमजोरी पनि हुन सक्छन्। तर समग्र नर्सिङ पेशालाई नै बदनाम गराउने कुरा कदापि पनि राम्रो विषय होइन।’
यो घटना एउटा सांकेतिक मात्र भएकाले यस किसिमको विषयलाई संवेदनशील ढंगले हेरिनुपर्ने भन्दै उनले संसदको ध्यानाकर्षण गराएकी छिन्। गल्ती भएका विषयलाई सच्याउन र सुधार्न सकिने उनले बताइन्।
यस्तो छ संसदमा सांसद बरालले बोलेका विषय:
माइतीघर मण्डलामा दुई÷तीन दिनदेखि नर्सहरु आन्दोलनमा हुनुहुन्छ। सामाजिक सञ्जालको प्रयोगको विषयलाई लिएर उहाँहरु आन्दोलनरत हुनुहुन्छ। पेशाका क्रममा वा कार्यक्षेत्रमा जानकारी नदिइकन भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गरेर त्यस विषयलाई अतिरञ्जित गर्न खोजिएको उहाँहरुको आरोप छ।
कार्यक्षेत्रको आफ्नै विवशता, बाध्यता या कमजोरी पनि हुन सक्छन्। तर समग्र नर्सिङ पेशालाई नै बदनाम गराउने कुरा कदापि पनि राम्रो विषय होइन। त्यसकारण त्यो एउटा प्रतिकात्मक वा एउटा सांकेतिक घटना मात्रै हो। त्यस्ता घटनाहरु या त्यस्ता विषयहरुलाई संवेदिनशील ढंगले हेरिनुपर्छ। त्यसकारण यस्ता विषयलाई गल्ती भएका विषयलाई सच्याउने, सुधार्ने तर पेशाको बदनाम नगराउने विषयप्रति सचेत गर्न पनि जरुरी छ।