जब तिमी आमाको गर्भमा आयौ त्यो समय तिम्रो आमा-बाबा हामी कहाँ आउनु भयो, के गर्दा तिम्रो स्वास्थ्य राम्रो हुन्छ? के खाँदा तिमी शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छौ भन्ने चिन्ताले चिन्तित रहिरहने तिम्रो बाबा आमालाई हामीले सक्दो सहयोग गर्यौं।
जब तिम्रो आमा प्रसव व्यथाले छट्पटिँदै हामीकोमा आउनु भयो हामी दिनरात नभनी तिम्रो पहिलो रुवाइको प्रतिक्षामा काम गरिरह्यौ। तिमीलाई यो धर्तीमा पहिलो पटक स्वागत गर्ने हामी नै थियौं, त्यसपछि हरेक महिना तिम्रो आमा तिमीलाई खोप लगाउन आउनुहुन्थ्यो।
त्योबेला विभिन्न रोगविरुद खोप लगाइदिनुको साथै हाम्रा (महिला स्वास्थ्यकर्मी) सन्तानलाई पूर्ण स्तनपान गराउन नपाए पनि स्तनपानको महत्व बुझाइ रहे। तिमी २ वर्ष नहुँदासम्म २ वर्षभित्र हुने ८० प्रतिशत बौद्धिक विकास राम्रो होस् भनेर हरेक महिना तौल लिने र पाखुराको नाप अनुगमन गरि रह्यौ।
जब तिमी स्कुल जान थाल्यौ समयसँगै आउने शारीरिक र भावनात्मक परिवर्तनको कारण तिम्रा मनमा आउने परिवर्तनहरुलाई सम्बोधन गर्ने प्रयास पनि गर्यौं।
समय चक्रसंगै कोभिड-१९ को महामारीको बेला सम्झनुहोस त सबै व्यवसाय,कार्यालय बन्द हुँदा हामीहरु सेवा प्रदान गरि रह्यौ र तपाईं जस्तै थुप्रै बिरामीहरुको सेवा गर्दागर्दै थुप्रै स्वास्थ्यकर्मीहरु कोभिड-१९ को कारण मृत्युवरण गर्नुभयो, कोभिड-१९ को खोप पत्ता लागेपछि सबै मिलेर हरेक नागरिकलाई खोप लगाई जीवन रक्षा गर्न सफल भयौ।
देशको वर्तमान अवस्थाले थुप्रै युवा विदेस हुनुहुन्छ,छोराछोरीको सम्झनाले छियाछिया भएको तपाईका आमा बाबाको मनमा सके जति मलमपट्टी लगाउने काम पनि हामी गरिरहेका हुन्छौं।
अन्तमा स्वास्थ्यकर्मी पनि मानव हो,बिरामी अनुपातमा कर्मचारी नभएकोले होस् या अन्य कुराले हुने समस्यालाई आपसी सहाकार्यबाट हल गरि नेपालको स्वास्थ्य राम्रो बनाउने जिम्मेवारी सबैको होइन र? गर्भावस्थादेखि जीवन रहुन्जेल तपाईंको स्वास्थ्य राम्रो होस् भनेर सोच्ने स्वास्थ्यकर्मीमाथि ज्यादती किन र कहिलेसम्म?
(लेखक भुजेल भरतपुर स्वास्थ्य चौकी चितवनका सिअहेव हुन्।)