नेपालगन्ज- बाँकेको कोहलपुर नगरपालिकाले बंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र थालेसेमियाबारे गाउँ–गाउँमा चेतना जगाउन सुरु गरेको छ।
थारु समुदायमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि गाउँ–गाउँ पुगेर उक्त रोगबारे जानकारी दिइएको नगरपालिकाले जनाएको छ।
चिकित्सक, जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोली गाउँ–गाउँमा पुगेर सिकलसेल एनिमिया र थालेसेमिया रोग , यसले पार्ने अल्पकालीन तथा दीर्घकालीन समस्या, थारु समुदायमा रोगको असर र नियन्त्रणलगायत विषयमा समुदायलाई सचेत बनाउने काम गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए।
उक्त नगरपालिकाले सिकलसेलको जाँच निःशुल्क गर्दै आएको र अहिलेसम्म करिब १५ हजार ब्यक्तिमा जाँच गरिसकेको छ। तीमध्ये एक हजार बढी वाहक र एक सय बढी रोगी देखिएका नगरपालिकाका ल्याव प्रमुख शिब गौतमले जानकारी दिए। पालिकाले थारु बस्ती तथा टोल टोलमा सो रोगबारे सचेतना फैलाउने काम गरिरहेको उनको भनाइ थियो।
सिकलसेल एनिमिया विज्ञ डा. राजन पाण्डे, कोहलपुर नेपालगन्ज मेडिकल कलेजका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. प्रज्ञा गौतम घिमिरे, नेपाल सिकलसेल समाजका अध्यक्ष प्रभु चौधरीलगायत विज्ञ टोलीले ती रोगबारे प्रशिक्षण दिँदै आएको छ।
नगरप्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सिकलसेल एनिमिया र थालेसेमिया बंशाणुगत रोग भएकाले यसको नियन्त्रणका लागि स्थानीय तहले जनचेतनामूलक कार्यक्रम सुरु गरेको बताए।
उनले ल्याव परीक्षणबाट मात्रै रोगलाई नियन्त्रण गर्न सकिनेमा जोड दिदै कोहलपुरको नगर अस्पतालमा आएर निःशुल्क जाँच गर्न स्थानीयलाई आग्रह गरे। जिल्लामा पछिल्लो समय यसका विरामीको संख्या बढदै जान थालेको छ। रासस