धनुषा– धनुषासहित तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ। जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको हो।
जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ।
चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन्।
गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन्। सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ। गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन्।
गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन्। गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन्।
प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा केडी दासका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन्। पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा दासको भनाइ छ।
डा दासले भने, ‘गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ।’ दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको डा दासको भनाइ छ। बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनुका साथै दिउँसोको समयमा घरबाहिर नस्किन डा दासले सुझाव दिएका छन्।