काठमाडौं- 'इमरजेन्सी मेडिसिन केटाहरुले पढ्ने हो! धेरै दौडथुप गर्नुपर्छ। रातदिन खट्नुपर्छ। केटी मान्छेलाई गाह्रो हुन्छ। तिमी सक्छौ?’ डा ओलिता शिल्पकारले इमरजेन्सी मेडिसिनमा डिएम गर्ने योजना आफ्ना साथीभाई र आफन्तलाई सुनाउँदा उनीहरुबाट पाएको प्रतिक्रिया थियो यो।
चाडपर्व, सार्वजनिक बिदा होस् वा अस्पतालमा हुने आन्दोलन तथा तोडफोड। जस्तोसुकै अवस्थामा पनि अस्पतालको आकस्मिक कक्ष बन्द हुँदैन।
आकस्मिक दुर्घटना वा स्वास्थ्य समस्यामा परेका बिरामी उपचारका लागि सवैभन्दा पहिले पुर्याइने ठाउँ अस्पतालको आकस्मिक कक्ष हो। त्यसैले पनि आकस्मिक कक्षमा काम गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीको खटन अन्य विभागमा काम गर्नेको तुलनामा बढी नै हुन्छ। धेरै बिरामीको चापलाई व्यवस्थापन गर्दै बिरामीको ज्यान जोगाउने, पीडा कम गर्ने र रोगको पहिचान गर्ने काम एकसाथ भइरहन्छ।
बिरामी मात्रै होइन, आफन्तको अवस्थाले आत्तिइरहेका आफन्तलाई पनि ध्यान दिनुपर्छ यहाँ। जसलाई सकेसम्म राम्रो उपचार हुने विश्वास दिलाउँदे बिरामीको अवस्थाका बारेमा राम्रोसँग बताउन सक्नुपर्छ। कहिलेकाहिँ बिरामीका आफन्तको पीडामिश्रित आक्रोश समेत खेप्नुपर्ने हुन्छ।
यही अवस्थाबारे जानकार साथीभाई र आफन्तले डा शिल्पकारलाई इमरजेन्सी मेडिसिनमा डिएम नगर्न सुझाए। उनीहरुको कुराले डा शिल्पकारको मनमा पनि कताकता भयको अवस्था सिर्जना नभएको होइन।
तर, उनले एमबीबीएस र एमडी अध्ययन पछि आकस्मिक कक्षमा आफूले गरेको ड्युटी सम्झिइन्। मृत्युकै मुखमा पुगिसकेका आकस्मिक अवस्थाका बिरामीले समयमै उपचार गर्दा पाएको नयाँ जीवनहरु सम्झिइन्। आफन्त र साथीभाइले देखाएका डर, त्रासको अगाडि उनले आकस्मिक उपचारबाट नयाँ जीवन पाएकाहरुको अनुहार देखिन् र आकस्मिक मेडिसिनमै डिएम गर्ने अठोट लिइन्।
‘कुनै समस्या भएर ऐया भन्दै आएको बिरामीलाई केही औषधि वा अक्सिजन दिएपछि उसलाई सहज भएको देख्दा, निको हुँदै गएको भेट्दा मलाई आकस्मिक विभागमा दिइने सेवाले आकर्षित गर्यो,’ उनले भनिन्, ‘एमबीबीएस र एमडी मात्रले आकस्मिकमा मात्र सेवा गर्न पाइँदैन, त्यसैले इमरजेन्सी मेडिसिनमै डिएम गरेँ।’
सन् २०१८ मा इमरजेन्सी मेडिसिनमा चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)बाट डिएम अध्ययन पूरा गरेरै छाडिन्। त्यो समय आइओएमले एमडीमा इमरजेन्सी मेडिसिन पढाउन थालेकै थिएन। सन् २०२३ बाट बल्ल एमडी इमरजेन्सी मेडिसिनको पढाइ सुरु भएको छ।
डा शिल्पकारले हाल आइओएमको उप–प्राध्यापक भएर अध्यापन गराउनुका साथगै त्रिवि शिक्षण अस्पतालबाट आकस्मिक सेवा प्रदान गरिरहेकी छिन्।
अमेरिकामा अवार्ड
इमरजेन्सी मेडिसिनमा उनको लगाव र योगदानको प्रशंसा गर्दै उनलाई अवार्ड प्रदान गरिएको छ।
अमेरिकामा रहेको सोसाइटी फर एकेडेमिक इमरजेन्सी मेडिसिन अन्तर्गतको एकेडेमिक फर वुमन इन एकेडेमिक इमरजेन्सी मेडिसिन र ग्लोबल इमरजेन्सी मेडिसिन एकेडेमीले डा शिल्पकारलाई अवार्ड प्रदान गरेको हो। अवार्ड कार्यक्रमसहित ४ दिनसम्म चलेको सम्मेलनमा उनले आफ्नो प्रस्तुति समेत दिएकी थिइन्।
‘धेरै देशहरुबाट छनौट गरेर मलाई अवार्डका लागि बोलाउँदा एकदमै खुसी लाग्यो,’ उनले भनिन्, ‘त्यहाँ अवार्ड मात्र लिइनँ, नेपालको इमरजेन्सी मेडिसिनको विकास र अवस्थाबारे विश्वसामु जानकारी गराउने र महिला चिकित्सक भएर इमरजेन्सी मेडिसिनमा काम गर्दा हुने जोखिमबारे प्रस्तुतिकरण समेत दिन पाएँ।’
टिचिङकी एक मात्र डिएम महिला
इमरजेन्सी मेडिसिनमा डिएम गर्ने महिला चिकित्सक नेपालमै दुईजना मात्र भएको उनले सुनाइन्। त्रिवि शिक्षण अस्पतालका कार्यरतको हिसाबले भने इमरजेन्सी मेडिसिनमा डिएम गरेकी एकमात्र महिला फिजिसियन उनी नै हुन्।
‘अहिले मेरो काम देखेर मैले पाएको सम्मान देखेर साथीभाई, आफन्त सबै खुसी हुनुहुन्छ,’ उनले भनिन्, ‘इमरजेन्सी मेडिसिन पढ्न र यसमा काम गर्न मैले गरेको हिम्मतको प्रशंसा नै गर्नुहुन्छ।’
तर अहिलेपनि इमरजेन्सी मेडिसिनमा महिला चिकित्सकको आकर्षण नभएको उनले सुनाइन्। उनले भनिन्, ‘अहिलेसम्म पनि इमरजेन्सी मेडिसिन पढ्ने पुरुषहरु नै हुन्छन्, मेरो सिनियर जुनियरहरु अधिकांस पुरुष नै हुनुहुन्छ।’
मेडिकल शिक्षाको सुरुवात र जागिर आइओएममै
ललतिपुरमा जन्मिएकी डा शिल्पकारको बाल्यकाल शहरमै बित्यो। सेन्ट जेभियर्सबाट आइएस्सीसम्म अध्ययन गरेकी शिल्पकारले पहिले आइओएममा माइक्रोबायोलोजीमा स्नातक गरिन्। त्यसपछि एमबीबीएस, एमडी र डिएम गरेकी हुन्।
सन् २००१ मा एमबीबीएस अध्ययन सुरु गरेकी उनले सन् २००७ मा एमबीबीएस अध्ययन पछि साढे तीन वर्ष पाटन अस्पतालमा मेडिकल अफिसर भएर काम गरिन्। त्यसपछि उनले अक्स्फोर्ड युनिभर्सीटी रिसर्च युनिटमा नेपालमै रहेर रिसर्चमा काम गरिन्। अहिले पनि उनी सुपरभाइजरको रुपमा रिसर्चमा संलग्न छिन्।
डा शिल्पकारले सन् २०१८ मा इमरजेन्सी मेडिसिनमा डिएम अध्ययन पूरा गरेकी हुन्। उनले छात्रवृत्तिमा नाम निकालेर एमबीबीएसदेखि डिएमसम्म अध्ययन गरेकी हुन्।
इमरजेन्सी मेडिसिनमा डिएम अध्ययन गरेकी डा शिल्पकारले पढाइ मात्र होइन, जागिरको सुरुवात पनि आइओएम बाटै गरेकी हुन्। ‘मेडिकल शिक्षाको अध्ययन देखि करिअर पनि आइओएमबाटै सुरु गर्न पाए आफुलाई भाग्यमानी नै ठान्छु,’ उनले भनिन्, ‘मैले अध्ययन पनि छात्रवृत्तिमै गरेको थिएँ, बिदेश नजाने कम चिकित्सकहरुमध्ये म पनि पर्छु।’
बाल्यकालदेखि नै डाक्टर बन्ने सपना
शिल्पकारको डाक्टर बन्ने सपना भने बाल्यकाल देखिकै थियो। उनलाई आफू डाक्टर बन्ने प्रेरणा भने हजुरआमाबाट पाएको बताइन्।
उनले भनिन्, ‘मेरो ग्राण्डआन्टी पनि गाइनोकोलोजिष्ट हुनुहुन्थ्यो, सायद उहाँलाई देखेर पनि मलाई सानैदेखि डाक्टर बन्न मन लागेको थियो होला, परिवारले पनि साथ दिनुभयो।’
कक्षा तीनमा पढ्दा आफू भविष्यमा डाक्टर बन्छु भन्दै लेख लेखेको स्मरण गरिन्। ‘मैले तीन कक्षामा एउटा लेख लेखेको थिएँरे म डाक्टर बन्नेछु र गरिव दुखी बिरामीको सेवा गर्नेछु भनेर,’ उनले खुसी हुँदै सुनाइन्, ‘तीन कक्षामा पढ्दा लेखेको लेख मेरो घरमा रहेछ।’
बिरामी र कुरुवाले तपाईं होइन, डाक्टर बोलाइदिनुस् भन्छन्
डा शिल्पकारले सन् २००१ मा एमबीबीएस सुरु गर्दा उनको ब्याचमा एमबीबीएस अध्ययन गर्ने ४० जनामध्ये महिला ७ जना मात्र थिए। चिकित्सा शिक्षा अध्ययनमा महिला कम हुने र भएकाहरु पनि खुलेर अगाडी आउन नसक्ने अवस्था त्यतिबेला रहेको उनले सुनाइन्। आफू महिला भएकै कारण ठूलो विभेद भोग्न नपरेको तर नेतृत्वदायी भूमिकामा भने महिलालाई पछि नै पार्ने गरिएको उनको अनुभव छ।
उनी भन्छिन्, ‘महिला चिकित्सक भएकै कारण ठूलो विभेद भोग्न परेको छैन, कामको हिसाबले हामी महिलाहरु पनि कम छैनौं तर अवसर लिने कुराहरुमा प्रोएक्टिभ हुन नसकेको हो कि जस्तो लाग्ने।’
आइओएमको उप–प्राध्यपकको रुपमा रहेकी डा शिल्पकारले आफूभन्दा जुनियर डाक्टर तथा रेजिडेन्ट चिकित्सकको नेतृत्व गर्दै आकस्मिक कक्षमा ड्युटी गर्छिन्। तर बिरामी र उनका कुरुवाले भने डा शिल्पकारलाई नर्स ठानिरहेका हुन्छन्। ‘मेरो वरपर २० जनाको राउन्ड लिएर लिड गरिरहेको हुन्छु, तर बिरामी र बिरामी कुरुवाहरुले सिस्टर डाक्टर बोलाइदिनुस् न भन्नुहुन्छ,’ उनले भनिन्, ‘हामी केटी मान्छे देखेपछि नर्स नै होला भन्ने सोच अझै कायम छ, यो त दैनिक भोग्नुपर्छ।’
कतिपय अवस्थामा त आफूले पढाइरहेको पुरुष चिकित्सकलाई मात्र डाक्टर मान्नेहरु पनि हुने गरेको उनले सुनाइन्। ‘अहिले त यस्तो कुरामा बानी परिसक्यो, म डाक्टर हो भन्ने नै सोच्दैनन् बिरामी पक्षले, मैले पढाइरहेको जुनियरलाई डाक्टर साब भन्दै आफ्नो समस्या सुनाउन खोजिरहेका हुन्छन्,’ उनले भनिन्, ‘मलाई हाँसो लाग्छ अहिले त, नर्सिङ पेसा पनि राम्रो पेसा हो। नर्स बिनाको पनि आकस्मिक सेवा चल्दैन।’
आकस्मिक कक्ष अस्पतालको अनुहार
डा शिल्पकार अहिले पठाउने, रिसर्च गर्ने र बिरामीको उपचार गर्ने जिम्मेवारीमा छिन्।
आकस्मिक सेवा विभागमा डा शिल्पकार इमरजेन्सी मेडिसिन अध्ययन गर्ने एमडी, डिएम र एमडिजिपीका रेजिडेन्ट चिकित्सक तथा आकस्मिक कक्षमा ड्युटी गर्ने अन्य विधाका इन्टर्न तथा रेजिडेन्ट चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अध्यापन गराउने र बिरामीका केस तथा रोगको उपचारबारे सिकाउने गर्छिन्।
इमरजेन्सी मेडिसिनमा अनुभव लिइरहेकी उनको बुझाइ र आम मानिसको बुझाइ फरक छ। उनी भन्छिन्, ‘इमजेन्र्सी मेडिसिन भनेको अस्पतालको एउटा कोठा हुन्छ इमरजेन्सी, बिरामी जसले पनि हेर्छ, त्यसपछि सर्जिकल केस हो वा मेडिकल भाग लगाइदिने भन्ने बुझाइ छ।’
तर डा शिल्पकार इमरजेन्सी मेडिसिन अस्पतालको अनुहार भएको बताउँछिन्। उनले भनिन्, ‘इमरजेन्सी मेडिसिन विषय नै हो विधा हो भन्ने बुझाइ बल्ल विकास हुन थालेको छ, बल्ल यसको राम्रोसँग पठनपाठन हुन थालेको छ। इमरजेन्सीमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फ्रन्टलाइनर हो।’
त्रिवि शिक्षण अस्पताल रेफरल अस्पताल भएकाले आकस्मिक बिरामीको चाप सधैंभरी भइरहने डा शिल्पकारले बताइन्। ‘मापदण्ड अनुसार आकस्मिक कक्षमा आएका बिरामीलाई ४ देखि ६ घण्टासम्म मात्र राख्ने हो, त्यसपछि कि भर्ना गर्ने कि डिस्चार्ज गर्ने गर्नुपर्छ,’ उनले भनिन्, ‘तर यहाँ भर्ना गर्ने वेड नपुग्दा बिरामीलाई धेरै समय नै राख्नुपर्छ। हाम्रो नियम हो भनेर वेड नपुगेको बिरामीलाई फर्काउन मिल्दैन। बिरामीलाई वेडमा राख्न नपाउदा दुःख लाग्छ।’
आकस्मिक उपचारका लागि आएका सबै बिरामीलाई शय्या उपलब्ध गराउन नसकेपनि उपचार भने नरोकेको उनले सुनाइन्। ‘धेरै बिरामी भएपछि राख्ने ठाउँ नहुदा एउटै वेडमा २ जना ३ जना पनि राखेर उपचार भने गर्छौं, ’ डा शिल्पकारले भनिन्, ‘कहिलेकाँही त बिरामीहरु रिसाउनुहुन्छ आकस्मिक कक्षमा रहेको बिरामी भर्ना नगरेसम्म उपचार सुरु भएको मान्नु नै हुन्न तर बिरामीको उपचार आकस्मिक कक्षबाटै सुरु भइसकेको हुन्छ।’
डा शिल्पकार बिरामी र तीनका कुरुवालाई आफ्नो आफन्त सोचेर व्यवहार गर्छिन् र आफ्ना जुनियरहरुलाई पनि सोही व्यवहार सिकाउँछिन्।
‘म आफ्नो आफन्त लिएर अस्पताल जाँदा मैले पनि राम्रो केयर, उपचारको अपेक्षा गर्छु, त्यसैले बिरामीलाई पनि म आफन्त सोचेर उहाँहरुले नबुझेको कुरा सम्झाउँछु, मेरो जुनियरलाई पनि सिकाउँछु,’ उनले भनिन्, ‘सम्झाएपछि बिरामी र उनका कुरुवाले पनि बुझ्नुहुन्छ।’
नेपालमा पनि अवसर छ, विदेशीनु मात्र विकल्प होइन
डा शिल्पकारसँगै चिकित्सा शिक्षा अध्ययन गरेका साथीहरु अधिकांश विदेशिएका छन्। डा शिल्पकारलाई भने कहिल्यै बिदेशिने सोच आएन। मेहनत गरे नेपालमै पनि अवसर रहेको उनको अनुभव छ।
'साथीहरु विदेश गए, मैले कहिल्यै विदेश जाने सोच नै बनाइन्, परिवारसँगै बसौं, नेपालमै बसौं भन्ने सोचेको थिए,’ उनले भनिन्, ‘अलिकति स्लो भएपनि नेपालमै केही हुँदोरहेछ, च्यालेन्जेज त छ तर नेपालमा करिअर नै छैन भन्न मिल्दैन। आफूले पनि गर्न सकिन्छ। अघि बढी मेहनत गर्नुपर्ला तर सकिन्छ।’
डा शिल्पकार आकस्मिक कक्षमा प्रवेश गरेपछि आफ्नो ड्युटी सकिने समय नै बिर्सिने गर्छिन्। उनलाई आकस्मिक कक्षमा बिरामीलाई सेवा प्रवाह गर्न, नयाँ रोगबारे अनुसन्धान गर्न र आफूभन्दा जुनियरलाई सिकाउने कुरामा रमाइरहेकी छन्।
उनले भनिन्, ‘इमरजेन्सी परेपछि व्यस्त भइरहन्छु, नेपालमै बसेर यहाँ काम गरेर अहिलेसम्म म पछुताएको छैन, इन्जोय गरिरहेको छु। मेरो काममा म खुसी छु।’
डा शिल्पकारले आफ्नो निजी जीवनलाई भन्दा आफ्नो पेसालाई पहिलो प्राथमिकतामा राखेकि छन्। ‘मैले मेरो पेसालाई पहिलो प्राथमिकतामा राखेको छु, हामी आकस्मिक कक्षमा काम गर्नेको ड्युटी आवर बाहेक पनि २४ घण्टा अनकलमा रहनुपर्छ,’ उनले भनिन्, ‘आफ्नो परिवारलाई त्यही अनुसार समय मिलाउने गर्छु।’
‘नेपालमै बस्छु, केही नयाँ गर्छु’
उनी विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको उपचारात्मक सेवा महाशाखासँग सन् २०१९ देखि इमरजेन्सी मेडिसिनको स्ट्यान्डर ट्रिटमेन्ट प्रोटोकल (मानक उपचार प्रोटोकल) बनाउने काममा कन्सल्टेन्टको रुपमा उनको टिमको नेतृत्व गरेकी थिइन्। उनको नेतृत्वमा बनाइएको प्रोटोकल कार्यन्वयनका लागि पनि उनी संलग्न छिन्।
नेपालमा लाखौं खर्च गरेर चिकित्सा शिक्षा अध्ययन गरेपछि यो क्षेत्रमा राम्रो सेवासुविधा र अवसर छैन भन्दै बिदेशीनेहरु बढ्दै गएका छन्। तर, डा शिल्पकारको भविष्यमा पनि बिदेश जाने योजना छैन। उनी नेपालमै बसेर इमरजेन्सी मेडिसिन सेवाको विकास र विस्तारका लागि नयाँ नायँ काम गर्न चाहन्छिन्।
‘भविष्यमा पनि मेरो विदेश जाने कुनै योजना छैन, नेपालमै बसेर इमरजेन्सी मेडिसिनको क्षेत्रमा र रिसर्चमा केही गर्ने काममा निरन्तर लाग्छु,’ उनी भन्छिन्, ‘मेहनत त गर्नुपर्छ तर नेपालमा केही हुँदै नभएको होइन, नेपालमा पनि अवसर छ, अवसर खोज्नुपर्छ बनाउदै जानुपर्छ, आफ्नै देशमा बसेर केही गर्नुपर्छ गर्न सकिन्छ।’