भादगाउँ- क्षयरोगको शङ्का लागे पनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाइएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानअन्तर्गत वडास्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागे पनि लक्षण नदेखिएको जनाउँदै परिवारले नै शङ्कास्पद बिरामीलाई उपचारमा नपठाउने गरेको पाईएको हो।
क्षयरोग मुक्त घोषणा अभियानअन्तर्गत आइतवार बसेको जिल्ला समिति बैठक र अन्तक्र्रिया कार्यक्रममा चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार त्वायनाले नगरको वडा नं ८ र ९ वडामा गरिएको स्वास्थ्य परीक्षणबाट पत्ता लागेका बिरामीका आफन्त बिरामीलाई औषधि सेवन गराउन नमान्ने गरेको बताए।
उनले ती दुई वडाका दिर्घरोगी र गर्भवती महिलाको स्वास्थ्य परीक्षणमा ३० जनामा क्षयरोग सङ्क्रमण देखिएको बताउँदै त्वायनाले नगरमा अत्यधिकरुपमा क्षयरोगी लुकेर बसेको आशङ्का व्यक्त गरे। उनले क्षयरोग निवारणका लागि समाजमा लुकेर बसेको भन्दा पनि लुकाईएका क्षयरोगीका कारण थप चुनौती बन्दै गएको बताए।
कार्यक्रममा जिल्लामा क्षयरोगको समग्र अवस्था प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जिल्लामा पत्ता लागेका सबै प्रकारका क्षयरोगीको सङ्ख्या छ सय ५८ रहेको जानकारी दिए। यसमध्ये फोक्सोमा क्षयरोग भएका बिरामीको सङ्ख्या ५७ दशमलव दुई प्रतिशत र फोक्सोबाहेक अन्य भागमा क्षयरोग भएका बिरामीको सङ्ख्या ४२ दशमलव आठ प्रतिशत रहेको उनले बताए।
उनले क्षयरोग मुक्त चाँगुनारायण घोषणाका लागि क्षयरोगमुक्त अभियान स्वयंसेवकलाई तालिम, क्षयरोग प्रभावित व्यक्ति तथा समुदायको सहभागितामूलक योजना, अनुगमन तथा मूल्याङ्कन प्रणालीको स्थापना, समुदायमा क्षयरोग स्क्रिनिङ क्याम्प सञ्चालन, क्षयरोग मुक्त अभियान स्वयंसेवकलाई परिचालन गरी समुदायमा रहेका जोखिम समूहका बस्तीका घरदैलोमा गई स्क्रिनिङ कार्य गरी रोग पत्ता लगाउने कार्यमा सहयोग, खकार सङ्कलन तथा ढुवानी वा सम्भावित बिरामी प्रेषणलगायतका गतिविधि सञ्चालन भइरहेको जानकारी दिए।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले भने,सरकारी लक्ष्य प्राप्तिका लागि अहिलेको अभियानलाई तीव्रता दिनुपर्छ। उनले क्षयरोग मुक्त अभियानलाई सूक्ष्म योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने बताउँदै अभियानको नियमित अनुगमन र प्रतिवेदन तयार गर्नुपर्ने खाँचो रहेको बताए।
कार्यक्रममा नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखालगायतका प्रतिनिधिले कुनै पनि बिरामीको पहिलो गन्तव्य निजी फार्मेसी तथा मेडिकल पनि भएकाले क्षयरोगको ‘स्क्रिनिङ’मा उनीहरुलाई परिचालन गर्नुपर्ने सुझाव दिएका थिए। रासस