धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ८ आधारभुत स्वास्थ्य केन्द्रमा खोप अभियानका लागि ज्ञानु कुँवरलाई खटन–पटनको जिम्मेवारी दिइएको छ। उनी धनगढीमा सञ्चालित निजी अस्पतालमा कार्यरत हुन् ।
धनगढीको वडा नम्बर ११ स्थित शहरी स्वास्थ्य केन्द्रमा दिपेन्द्र चौधरीलाई उपमहानगरपालिकाले खटाएको छ। उनी पनि निजी अस्पतालका कर्मचारी हुन्। सो केन्द्रमा एक जनामात्र स्वास्थ्यकर्मी रहेका छन्।
उपमहानगरपालिकाले चौधरी र कुँवरझै खोप अभियानलाई सहयोग गर्न भनी धनगढीमा स्वास्थ्यकर्मी अभाव भएपछि निसर्ग, माया मेट्रो, कैलाली अस्पताल लगायतबाट कर्मचारीलाई खटाएको छ।
स्वास्थ्य महाशाखा प्रमुख योगेश अवस्थीले खोप अभियानलाई सहयोगका लागि निजी अस्पतालमा कार्यरत कर्मचारीलाई खटाइएको बताए। उनले भने –‘खोप अभियानलाई सहयोग पुगोस भनेर केही दिनअघि निजी अस्पतालमा कार्यरत कर्मचारीलाई तालिम पनि दिइएको थियो। निजी अस्पतालबाट खटिएका कर्मचारीले खोप लगाउने होइनन्। उनीहरुले नाम दर्ता, कार्ड वितरण लगायतमा सहयोग गर्ने हुन्।’ उनले स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी अभाव भएकोले उनीहरुसँग सहयोग लिइएको बताए।
निजी अस्पतालमात्र नभई धनगढीले कैलाली स्वास्थ्य कार्यालयकी ल्याब एसिस्टेन्ट ममता खत्रीलाई पनि स्वास्थ्य केन्द्रमा खटाएको छ। धनगढी उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिरी रोकेर निजी अस्पतालका तथा खोपमा अयोग्य व्यक्ति प्रयोग गरिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।
धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेको छ। शुक्रबार पाँचौ दिन पनि स्वास्थ्यकर्मीहरुले धर्ना जारी राखेका छन्।
धनगढी उपमहानगरपालिकाले साउन महिनामा सञ्चालन गर्ने नियमित खोप अभियानको नयाँ तालिका तयारी गरेको छ। सोही बमोजिम आजदेखि केही वडामा खोप अभियान चलिरहेको छ।
वडामा जनशक्ति अभाव भएपछि हरेक वडामा एकै साथ अभियान पनि शुरु भएको छैन। खोपबाट कुनै पनि बालबालिका नछुट्नु भन्ने लक्ष्यसहित धनगढीले एक पटक सबै वडामा खोप अभियान सञ्चालन गर्दै आएको थियो। तर, यस महिना जनशक्ति अभाव हुँदा केही वडामा ढिला गरि खोप अभियान सञ्चालन गरिन लागेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए।
उपमहानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार २, ३, १७ र १९ नम्बर वडामा ढिला खोप कार्यक्रम सञ्चालन हुने उनले बताए। धनगढी उपमहानगरपालिकाले आजदेखि बाँकी वडामा नियमित खोप कार्यक्रम सञ्चालन गर्दै छ।
महाशाखा प्रमुख अवस्थी भन्छन् –‘सबैलाई खोपको पहुँचमा ल्याउन सबै वडामा एक पटक अभियान सञ्चालन गर्नुपर्ने थियो । तर, जनशक्ति व्यवस्थापनमा समस्या भएकाले केही वडामा ढिला सञ्चालन गरिन लागेको हो । यसले केही बालबालिका खोपको पहुँचबाट वञ्चित हुने देखिन्छ।’