सिराहा– कुनै समय थियो– मुस्लिम समुदायले नर्सिङ पेसालाई सकारात्मक रुपमा लिँदैनथ्यो। तर त्यही समुदायमा हुर्के–बढेकी जुही खातुनले नर्सिङ नै रोजिन्। सुरुमा उनलाई सजिलो भएन तर समयले सबै कुरा परिवर्तन गर्दै लग्यो। उनी आफैंले पनि आफूलाई सही बाटोबाट अघि बढाइन्। अहिले जुही त्यही समुदायमा आदर्श बनेकी छिन्।
समाजले स्वास्थ्य क्षेत्र बुझेको छ र उनले गर्ने कामको महत्व महसुस गरेको छ। अहिले हुर्किंदै गरेका त्यही समुदायका किशोरी माझ उनलाई उदाहरणका रुपमा प्रस्तुत गरिन्छ।
आफूले अहिले निकै माया पाउने गरेको उनी बताउँछिन्। भन्छिन्, ‘अहिले त निकै सजिलो छ। मुस्लिम समुदायका महिलाले पनि यस क्षेत्रमा काम गर्न सक्छन् भन्ने उदाहरण पनि बन्न पाएकी छु। राम्रो छ। पहिले त मुस्लिम सोसाइटीमा नर्स बन्ने काम फोहोर हो भन्ने बुझ्ने गरिन्थ्यो। नकारात्मक रुपमा लिइन्थ्यो। निकै गाह्रो भएको थियो।’
जुही अहिले सिरहा नगरपालिका–११ मा रहेको भलुवाही स्वास्थ्य चौकीमा कार्यरत छिन्। सप्तरीको राजविराज–४ मा मो. सलिल शेख र हमिदा बीबीकी माइली सन्तान जुहीले स्टाफ नर्स पास गरेकी छिन्। तर उनले लोकसेवा पास अनमीका रुपमा गरिन्। तलब स्केल सिनियर अनमीको भए पनि उनले सेवा नर्सको दिइरहेकी छिन्।
परिवारको आर्थिक अवस्था उनको रुचिको विषय नर्सिङ पढाउन सक्ने थिएन। पढाइमा अब्बल जुही आफैंले छात्रवृत्तिमा नाम निकालेर राजविराजको युनिक एजुकेसनल एकेडमीबाट नर्सिङ पढिन्। परिवारको आर्थिक अवस्था बलियो नभएका कारण कुनै पनि हालतमा काम गर्नु थियो। त्यसैले अनमीमा लोकसेवा दिएर आफ्नो करिअर अघि बढाएकी हुन्।
आफ्नै कार्यकक्षमा गर्भवती महिलाको जाँच गरिरहेको अवस्थामा भेटिएकी उनी भन्छिन्, ‘मलाई सानैदेखि यसरी काम गर्ने रहर थियो। स्वास्थ्य क्षेत्रमा गएपछि सेवा गर्न पाइन्छ भनेर जानकारी पाएकी थिएँ। अहिले सेवा गर्न पाउँदा खुसी छु।’ दिउँसो १ बजे उनी कार्यरत संस्थामा पुग्दा उनले १० जना बिरामी हेरिसकेकी थिइन्। त्यो दिन ड्युटीमा एक्लै भएका कारण चाप धेरै रहेको उनले बताइन्।
तीन जना नर्सिङ स्टाफको दरबन्दी रहेको उक्त स्वास्थ्य चौकीमा अहिले दुई जना मात्रै कार्यरत छन्। तीमध्ये एउटाले जरुरी परेर बिदा बस्दा अर्काेलाई चाप पर्छ। विशेषगरी सुत्केरी गराउने बेला कहिलेकाहीँ व्यवस्थापन गर्न सकस पर्ने उनको अनुभव छ। अहिलेसम्म उनले सेवा दिँदा कसैका पनि आफन्तलाई ‘आमा वा बच्चाको ज्यान जोगाउन सकिएन सरी’ भन्नु परेको छैन।
लोकसेवा पास गरेर आएपछि पहिलो दरबन्दी नै उनको यही जिल्लामा परेको हो। सुरुमा कचनारी, बरियारपट्टी गाउँपालिकामा काम गरिन्। त्यसपछि जिल्ला अस्पताल सिरहामा दुई वर्ष काम गरिन्। अहिले कर्मचारी समायोजनका क्रममा भलुवाहीमा पुगेकी हुन् र यहाँ काम गर्न थालेको चार वर्ष पूरा हुन लागेको उनले बताइन्।
जुहीले भनिन्, ‘मलाई यहाँ काम गर्दा धेरै राम्रो लागिरहेको छ। यो बिकट गाउँ हो। सबै मान्छे खेतीपातीमा व्यस्त हुन्छन्। समयमा आइरन चक्की खाने कुरा समेत सम्झाइरहनुपर्ने हुन्छ। उनका अनुसार चेतनाका हिसाबले अझै बच्चा जन्माउन स्वास्थ्य चौकी नपुग्ने महिला पनि छन्। गर्भावस्थाका बेला गर्नुपर्ने जाँच र लिनुपर्ने औषधि समयमा नलिँदा हुने समस्या पनि धेरै रहेको उनी बताउँछिन्। उनले थपिन्, ‘यहाँ गाउँघरका कति महिलाहरुले घरमै बच्चा जन्माउने गर्छन्। गत वर्ष एक जना महिलाको घरमै सुत्केरी हुने क्रममा मृत्यु भएको थियो।’
त्यही उदाहरण दिएर उनी त्यहाँका महिलाहरुलाई नियमित जाँच र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुने कुरा सम्झाइरहन्छिन्। तर गाउँ–समाजमा अझै पूर्ण चेतना पुगेको छैन। त्यसले स्वास्थ्य सेवा र शिक्षा पुर्याउने अभियानमा बाधा ल्याइराख्छ। उनले थपिन्, ‘यहाँ भर्खरका बुहारीहरु मुख पनि हेराउन (देखाउन) चाहँदैनन्। कुन अंगमा के समस्या छ, त्यो पनि भन्न–हेराउन चाहँदैन्। त्यसैले सुरुमा धेरै गाह्रो भयो। म पनि महिला नै हो, तपाईंहरुका समस्या मैले बुझेकी छु भनेर काउन्सिलिङ गरेँ।’
जुहीले बिरामीलाई एक्लै राखेर यौन स्वास्थ्य सम्बन्धी सल्लाह, जाँच, स्क्रिनिङ र शिक्षा दिन थालिन्। यौन तथा प्रजननसँग सम्बन्धित विषयमा छलफल गर्ने कुरामा अनुदार समाजमा उनले यस्ता कुरा गर्दा केही असहज त भयो तर उनी आफैंले सहज बनाउँदै लगिन्। अहिले उनीसँग स्थानीय महिलाहरु खुल्न थालेका छन्। यौन तथा प्रजनन स्वास्थ्यका विषयमा सल्लाह लिन थालेको उनी बताउँछिन्। उनी त्यहाँ महिलाहरुलाई सजिलो बनाउन भन्ने गर्छिन्, ‘रोग फैलिँदा समस्या हुन्छ। हामी (म) पनि तपाईं जस्तै महिला नै हो। तपाईंको दुःख मेरो पनि दुःख हो।’ पहिलेभन्दा अहिले केही जागरुक भएकाले आफैंले पनि बुझ्ने कोसिस गरिरहेको उनले पाएकी छिन्।
उक्त क्षेत्रबाट धेरै पुरुषहरु रोजीरोटीका लागि विदेशिएका छन्। विदेशबाट फर्किंदा यौनजन्य रोग समेत बोकेर आउने सम्भावना रहेको उनले बुझेकी छिन्। त्यसैले उनी महिलाहरुलाई एचआईभी एड्स र यौन रोग लाग्ने जोखिमका विषयमा बताइरहन्छिन्। उनले थपिन्, ‘हामी गाउँमा पुगेर एचआईभी एड्सका बारेमा, यौन रोगका बारेमा गाउँ–टोलमा कुरा गर्छौं। कण्डम प्रयोगदेखि एचआईभीका कुराहरु टोल–टोलमा पुगेर गर्छौं। बालबालिकाको पोषणसम्बन्धी जानकारी दिन्छौं। जसले गर्दा यौन तथा प्रजनन स्वास्थ्यमा सतर्कता अपनाउन थालिएको छ। कुपोषण रोक्न सहयोग मिलेको छ।’
परिवार नियोजनका साधनको प्रयोगका विषयमा सचेतना बढेको उनले पाएकी छिन्। तर अझै पनि कण्डमको प्रयोगलाई लिएर कुरा गर्न समेत लाज मान्ने गरेको उनी बताउँछिन्। उनले भनिन् ‘यहाँ कण्डम प्रयोग गर्ने विषयमा यहाँ अझै पनि लाज मान्छन्। सबैभन्दा बढी प्रयोग गर्ने डिपो हो।’
जुही कार्यरत स्वास्थ्य चौकी बर्थिङ सेन्टर हो। त्यसैले सामान्य समयमा बाहेक ड्युटीको निश्चित सीमा हुँदैन। सुत्केरी गराउन आएपछि जुन बेला पनि उनी हाजिर हुन्छिन्। बिदा र चाड–पर्वभन्दा आफ्नो काम प्यारो लाग्ने उनी बताउँछिन्। ‘यहाँ रात–बिरात भन्ने हुँदैन। जतिखेर पनि सेवा प्रदान गर्न तयारी अवस्थामा बस्नुपर्छ,’ उनले भनिन्। उनलाई पालो दिने अर्की सहकर्मी पनि छिन्। सहकर्मी पनि आफू जस्तै काममा केन्द्रित हुने गरेको उनी बताउँछिन्।
सधैँ त्यहीँ सम्भव हुने समस्या लिएर मात्रै बिरामी आउँदैनन्। उनीहरुलाई रिफर गर्नुपर्ने हुन्छ। आर्थिक अवस्था कमजोर भएकाहरु पनि आउँछन्। त्यस्तो अवस्थामा उनी आफ्नो तर्फबाट सकेको सहयोग गरेर पठाउँछिन्। उनले भनिन्, ‘कतिलाई औषधि किनिदिनुपर्छ। एम्बुलेन्सको जोहो गरिदिनुपर्छ। नाजुक आर्थिक अवस्था भएको व्यक्तिलाई त्यस्तो सहयोग गर्छु। सहयोग गर्न पाउँदा खुसी पनि लाग्छ।’
अहिले आफूले नर्सिङ पढ्नुको उद्देश्य पूरा भएको जुहीलाई महसुस भइरहेको छ। उनले भनिन्, ‘सबैको सेवा गरौँ, आमा–बुवाका लागि केही गरौँ भन्ने भावना थियो। मैले अहिले गरिरहेकी छु। यो विषयलाई लिएर आफैँप्रति गर्व पनि लाग्छ।’
उनको सेवाको शैलीबाट स्थानीय प्रभावित छन्। उनको क्षमताको कदर गर्छन्। सामान्यतया नर्सलाई ‘सिस्टर’ भन्ने प्रचलन हुन्छ। तर यहाँका स्थानीय (बुढाबुढीदेखि युवायुवतीसम्म) उनलाई श्रद्धाले ‘दिदी’ भन्छन्। काम थालेको ६ वर्षमा उनले अहिलेसम्म गुनासो गर्ने मौका दिएकी छैनन्। बरु उनी जहाँ पुगेकी छिन्, त्यहाँबाट अर्काे ठाउँ जान खोज्दा रोक्नेहरु भेटेकी छिन्। आफूले हासिल गरेको उपलब्धि नै यही भरोसा र माया भएको जुही बताउँछिन्।
०००
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत दिगो विकासका लक्ष्यभित्र स्वास्थ्यका विषयमा शर्मीलाको योगदानको कदर गर्दै हेल्थ अवार्ड प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अवार्ड प्रदान गरेका हुन्।