हुम्ला– सिमकोट गाउँपालिका–७ को चौगानफयाँ गाउँ जान सदरमुकामबाट उकालो हिँडिरहेका थियौं। चौगानफयाँ सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत नर्स सुस्मिता बोहरा एक्कासि हतारिइन्। उनका पाइलाको बेग बढ्न थाल्यो। हामी पछाडि छुट्न थालेपछि उनले आवाज दिइन्, ‘सर मलाई हतार छ, म छिटो गएँ।’
उनले हामी जस्तै एक्लो ज्यान उकालिरहेकी थिइनन्। उनको पिठ्युँमा दूधे बालक थियो। तैपनि, उनी हामीभन्दा चाँडो हिँडिरहेकी थिइन्। मुख्यतः उनको शरीरबाट एकाएक थकाइ हराएको थियो र उनीसँग थियो जम्मा हतारो। उनले फेरि भनिन्, ‘म अगाडि लागेँ है सर। हजुरहरु विस्तारै आउनु।’
हामी पनि त्यहीँ जाने भएकाले सँगै जाँदा सहज हुने बताउन पाएका थिएनौं, उनले कारण खुलाइन्, ‘सँगै त जानुहुन्थ्यो सर, मेरा सेवाग्राही तारन्तार फोन गरेर कतिबेला पुग्नुहुन्छ भनिरहेका छन्। सायद सुत्केरी बेथाले च्यापेर होला।’
सुस्मिता सिस्टरसँग अब हामीसँग कुरा गर्ने समय थिएन। उनको पाइला लम्कियो। उनी पूरै बल लगाएर उकालोमा बढ्न थालिन्। हामी उनलाई पछ्याउँदै थियौं तर भेट्टाउन सकस पर्यो।
करिब तीन÷चार घण्टा बाटो पार गरेपछि बल्ल चौगानफयाँ गाउँ आयो। चौगानफयाँ सामुदायिक स्वास्थ्य इकाई पुगेपछि एउटी महिला आएर सुस्मिता सिस्टरलाई समस्या बताइन्। बाहिर चौरमा सुत्केरी बेथाले छटपटाएकी सिमकोट गाउँपालिका– ७ की सुन्तला शाही पेट मुसार्दै पसिना पुछ्दै थिइन्। सुस्मिताको स्वास्थ्य इकाई आगमनपछि गर्भवतीकी स्याहार गरिरहेकी सासु नैसरा शाहीले लामो श्वास फेरिन् र भनिन्, ‘मेडम पुगिन्, अब यिनी बाँच्ने भइन्।’
सुस्मिताले ती गर्भवती महिलाको पाखुरा समातेर सामुदायिक इकाईको बर्थिंङ रुममा लगिन्। र, भनिन्, ‘नआत्तिनुहोस्, म तपाईंसँगै छु।’ उनले सामान्य चेकजाँचपछि गर्भको बच्चा र आमा दुवैको अवस्था सामान्य भएको बताइन्। केही घण्टापछि बच्चा जन्मियो। सुत्केरी गराउन सफल भएकी सुस्मिताको अनुहार उज्यालो देखियो।
सुन्तला र उनकी सासु नैसराले सुस्मितालाई हेरे र आफ्नै भाषामा आभार प्रकट गरे। उनीहरुको आँखामा सुस्मिता देवीजस्तै प्रकट भएकी थिइन्। तर सुस्मिताका लागि आफ्नो कामको अर्को एउटा शृंखला थियो र त्यही रुपमा लिएर उनी अन्य सेवाग्राहीतर्फ अघि बढिन्।
हुम्लामै जन्मे–हुर्केेकी सुस्मिताले सुरक्षित प्रसूति सेवाको अभावमा धेरैले ज्यान गुमाएको आफ्नै आँखाले देखेकी थिइन्। पढाइमा अब्बल उनी त्यही कारण आफूले नर्सिङ पेसा रोज्ने निधो गरेको बताउँछिन्। भन्छिन्, ‘हाम्रो जिल्लाको स्वास्थ्य उपचारको अवस्था मैले नर्सिङ पढिरहँदा झन् बढी महसुस गरें। पढाइ सकेपछि जिल्लामै काम गर्ने भनेर यहाँ आएकी हुँ।’ २०७२ सालदेखि उनी सेवारत छिन्। यहाँका नागरिकलाई सेवा दिन पाउँदा खुसी रहेको बताउँछिन्।
सुस्मिता काम गर्ने चौगानफयाँ स्वास्थ्य इकाइमा सिमकोट गाउँपालिका–७ का नागरिक मात्रै नभई नाम्खा गाउँपालिका–१ धिगा, नाम्खा–३ लामाखोल्सी र सिमकोट गाउँपालिका– ८ को खोल्सी गाउँबाट सुत्केरी चेकजाँच गर्न आउँछन्। सुस्मिता र त्यहाँ कार्यरत अन्य कर्मचारीको सेवाभावले त्यहाँ तानेको हो र त्यसैमा थपिएको छ आधार नेपाल। उनले भनिन्, ‘आधारले औषधि राम्रो दिन्छ भन्ने पनि यहाँ वरिपरिका बासिन्दामा परेको छ।’
दुर्गम जिल्ला भएकाले सेवा दिन सहज छैन। स्रोत–साधनको कमी छँदैछ। भएका सेवाहरुको पनि टुंगो हुँदैन। उनले भनिन्, ‘कहिले फोनले काम गर्दैन। बत्ति आउने–जाने टुंगो हुँदैन। मोबाइलको लाइट बालेर समेत धेरैलाई सुत्केरी गराएका छौं।’
उनी आफैं दूधे बालककी आमा छिन्। आफैंलाई आराम र सन्तानलाई स्याहार चाहिने बेला छ। तर उनकै अनुहार हेरेर स्वास्थ्य इकाईमा बिरामी आइपुग्छन्। त्यसकारण यिनी बिरामीका लागि जतिबेला पनि उपलब्ध हुन्छिन्। उनले भनिन्, ‘सुत्केरी गराएपछि आमा र बच्चाको ज्यान जोगाउन पाएँ भनेर एकदमै खुसी लाग्छ। रमाइलो पनि लाग्छ।’
त्यहाँ उपचार गराउन नाम्खा गाउँपालिकाका केही गाउँबाट समेत बिरामी आउने गरेका छन्। छिमेकी गाउँपालिका नाम्खाको धिगा, गाढापारी, लामाखोल्सी र सिमकोट गाउँपालिका– ८ को खोल्सीबाट समेत चौगानफयाँ समुदायिक स्वास्थ्य इकाईमा आउने गरेको उनले बताइन्। टाढाबाट आउने बिरामीका लागि त्यहाँ खाने बस्ने व्यवस्था हुँदैन। त्यसको प्रबन्ध समेत उनी आफैंले गर्ने गरेको बताउँछिन्। उनले भनिन्, ‘कति सुत्केरी महिलाको घर टाढा हुन्छ। त्यस्तो बेला आफैंले खाने र बस्ने प्रबन्ध समेत गर्ने गरेकी छु।’
सुस्मिताले सुरक्षित प्रसूति सेवा दिएका कतिपय महिलाले सन्तानसहित स्वास्थ्य चौकी आउँदा भन्ने गर्छन्, ‘तिम्री खास आमा यी मेडम (सुस्मिता) हुन्।’ त्यही शब्दले सुस्मितालाई यस्तो ठाउँमा सेवा दिन पाएकोमा सन्तुष्टि मिल्छ।
महिना १० देखि १५ वटा सुत्केरीहरु त्यही स्वास्थ्य इकाईबाट हुन्छ। त्यहाँ सुत्केरी गराउन असम्भव देखिए उनी समयमै जिल्ला अस्पताल रेफर गर्ने गरेकी छिन्। त्यस्ता घटना भने निकै कम रहेको बताउँछिन्।
‘रिफर गरौं बाटोमै घटना होला भन्ने डर, नगरौं ज्यान जाने खतरा,’ कतिपय बेथा लागेकी महिलाका विषयमा उनको मनमा दोधार हुन्छ। त्यसैले कयौं पटक त्यही जोखिम मोलेर सुत्केरीको ज्यान जोगाएको नर्स सुस्मिता बताउँछिन्।
‘धेरै सुत्केरी र हजारौं बिरामीको उपचार गरियो तर, आजसम्म मेरो कारण कसैको ज्यान नगएकोले खुसी छु,’ उनले भनिन्, ‘मप्रतिको विश्वासले होला सुरक्षित सुत्केरी गराउन टाढा–टाढाबाट गर्भवती महिला आउने गर्छन्।’
उनले ६ वर्ष जिल्ला अस्पताल हुम्ला, ६ महिना नाम्खा गाउँपालिका खगालगाउँ स्वास्थ्यचौकी र विगत दुई वर्षदेखि चौगानफयाँ स्वास्थ्य चौकीबाट सेवा दिइरहेकी छिन्। उनको काममा घर–परिवारको पनि उत्तिकै सहयोग छ। जसले उनलाई सहज बनाएको छ। अहिले चौगानफयाँमा आधार नेपाल नामक संंस्थाले सेवामा साथ दिँदा अझै प्रभावकारी भएको उनको भनाइ छ।
000
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत दिगो विकासका लक्ष्यभित्र स्वास्थ्यका विषयमा सुस्तिमताको योगदानको कदर गर्दै हेल्थ अवार्ड प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अवार्ड प्रदान गरेका हुन्।