काठमाडौं- २२ वर्षअघि ललितपुर लेलेस्थित आनन्दवन अस्पतालमा एक जना कुष्ठ रोगका गम्भीर बिरामी आइपुगे। १७ वर्षीय ती किशोर बाँच्ने सम्भावना अत्यन्तै न्यून थियो। आफन्तहरूले माया मारिसकेका थिए।
छाला रोग विशेषज्ञ डा महेश साहको टिमले उनको उपचार गर्यो। लामो समयको उपचारपछि बिरामी विस्तारै तंग्रिए। ‘बाँच्दैनन् भनेका उनी बाँचे। पछि बिहे पनि गरे। सन्तानहरू जन्मे,’ डा महेश सम्झन्छन्, ‘कहिलेकाहीँ उनका बच्चाहरू स्कुल गएको देख्छु अनि खुसी लाग्छ।’
ती बिरामी अहिले बंगुर पालन गरेर राम्रो आम्दानी गर्छन्। बेलाबेला डा महेशलाई भेट्न पनि आइपुग्छन्। भेटमा श्रद्धाभावले भन्छन्, ‘तपाईंको कारण मैले पुनर्जन्म पाएँ।’
आनन्दवनका मेडिकल निर्देशक डा महेशसँग यस्ता थुप्रै स्मृति छन्। उनले जीवनको तीन दशक कुष्ठरोगका बिरामीहरूको उपचारमा बिताए। थुप्रै बिरामीलाई मृत्युशय्याबाट फर्काएर जिन्दगीको मैदानमा उभ्याए। ‘गएको महिनामा एक युवक भेट्न आए। उनलाई मैले सानै छँदा उपचार गरेर निको पारेँ। अहिले उनी अमेरिकामा छन्। जहाँ हुँदा पनि उनले मलाई सम्झिरहेका हुन्छन्,’ डा महेश खुसीको क्षण सेयर गर्छन्।
रोगका कारण परिवार समेत टुट्ने अवस्थामा बिरामीहरू आइपुग्थे। निको भएर पारिवारिक मिलनका साथ आनन्दवनबाट फर्किएको देख्दा उननाई आनन्द लाग्थ्यो।
कुनै बिरामी हुन्थे, जसले आफ्नो रोग कहिल्यै परिवारलाई सेयर गरेनन्।
एक जना बिरामीको दुखद् मरण डा महेशको स्मृतिमा अझै बिझाइरहन्छ। उनी सम्झन्छन्, ‘एक जना कुष्ठ रोगका बिरामी थिए। रियाक्सनका कारण उनलाई धेरै गाह्रो भएको थियो। अन्तिम भेटमा ती बिरामीले सोधेका थिए, डा साब, मैले अरु अस्पतालमा उपचार गर्न मिल्छ कि मिल्दैन ?’ मैले मिल्छ भनेँ। त्यसपछि उनी अर्काे अस्पताल गए।’
एक दिन ती बिरामी घरमा बेहोस भएर ढल्न पुगेछन्। उनका दाइ–भाउजुले अस्पताल लगेछन्। डाक्टरले सोधे, ‘उनलाई कुनै रोग थियो ?’
भाइलाई कुनै रोग छ भन्ने कुरा उनीहरूलाई संकेतसम्म पनि थिएन। दाइ–भाउजुले भाइको कोठामा औषधि भेटेछन्।
अस्पताल लगेर त्यो औषधि देखाउँदा डाक्टरले भनेछन्, ‘यो त कुष्ठ रोगका बिरामीले खाने औषधि हो।’
दाइ–भाउजुलाई मात्र हैन, ६ महिनाअघि बिहे गरेकी श्रीमतीलाई पनि उनले आफ्नो रोगबारे सुइँकोसम्म दिएनछन्। ‘उनी बिते। बाँचुन्जेल कहिल्यै परिवारमा रोगबारे सेयर गरेनन्। यदि गरेको भए बाँच्थे कि,’ महेश सुनाउँछन्।
अहिले त कुष्ठ रोगको अति प्रभावकारी औषधि छन्। धेरैलाई थाहा छ, ‘औषधिले किटाणु मारेपछि रोग निको हुन्छ।’ तर पनि यो रोगप्रतिको सोच आम मानिसमा पूर्ण रुपमा नबदलिएको डा महेशको अनुभव छ।
उनी आफैंले उपचार गरेर निको बनाएका एक जना बिरामीसँगको स्मृति गर्छन्, ‘एक पटक बुटवल जाँदा मैले उनलाई रेस्टुरेन्टमा खाजा खाइरहेको भेटें। उनले मलाई देखे। तर नचिनेजस्तो गरे। तर मलाई दुःख लागेन।’
डा महेशले सोचे, ‘साथीहरूसँग ती बिरामीले आफ्नो रोग लुकाएका छन्।’
बिरामी नबोले पनि महेशले उनको पीडा निको पारेको क्षण बिर्सेका छैनन्। ‘सायद उनले बिर्सेका छैनन् होला। मेरो अनुहार देखेपछि उनी भित्र अवश्य आउँछ कि यो डाक्टरले मेरो जीवन बचाइदिएको थियो,’ महेश सुनाउँछन्।
०००
विसं २०१२ सालमा धनुषामा जन्मिएका डा महेशले रसियाको तासकन्द मेडिकल कलेजबाट एमबीबीएस गरे। सन् १९९२ मा नेपाल फर्किएपछि उनले आनन्दवन अस्पतालमा कुष्ठ रोगका बिरामीको उपचार गर्न थाले।
त्यही क्रममा सन् १९९६ मा बैंककमा चर्म रोग सम्बन्धी एक वर्षको डिप्लोमा गरे। त्यसपछि नेपालमै चर्म रोगमा एमडी गरे।
उनले सन् २०१६ मा कुष्ठ रोग सम्बन्धी आफ्नो खोज प्रस्तुत गरेका थिए। उनले सरकारबाट सिनियर रिसर्चर अवार्ड समेत प्राप्त गरे। अहिले डा महेश बिरामीको सेवा मात्र हैन, चर्म रोगको बारेमा विद्यार्थीहरूलाई पढाउँछन्, सिकाउँछन् र अनुसन्धान गर्छन्।
डा महेशलाई हामीले उनको डाक्टरी यात्राबारे जिज्ञासा राख्यौँ। उनले स्मृतिका झ्यालबाट चार दशकअघिका क्षणहरूलाई सुस्तरी चियाउन थाले।
०००
त्यतिबेला दाइ इन्जिनियर भइसकेका थिए। महेशले २०२८ सालमा एसएलसी पास गर्ने बित्तिकै बा आमाले सोचे, ‘भाइलाई चाहिँ डाक्टर बनाउनु पर्छ।’
काठमाडौंको त्रिचन्द्र कलेजमा उनले आइएससीमा बायोलोजी विषय पढे। आइएससी पास गरेपछि एमबीबीएस पढ्ने योजनामा थिए। तर उनको नाम निस्किएन। एमबीबीएस पढ्न नपाउनुको पीडाले केही दिनसम्म गाँजिरह्यो। त्यसपछि महेश त्रिचन्द्रमै बिएससीमा भर्ना भए।
बिएससी पास गरेपछि एमएससी गर्दै थिए। डाक्टर बन्ने चाहनाले उनलाई पुनः सताउन थाल्यो। उनले बीचैमा पढाइ छाडिदिए। ६ महिना बेरोजगार भएर बस्दा फ्रस्टेसनले गाँज्यो।
तर, महेशमा हुटहुटी थियो। आइएससी पढेको मान्छेले एकै पटक हेल्थ असिस्टेन्टको थर्ड सेमेस्टरबाट पढ्न मिल्दोरहेछ। २ सेमेस्टर छुट हुने भएपछि उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा हेल्थ असिस्टेन्ट पढ्न थाले। २०३६ सालको आन्दोलनले डेढ वर्षको कोर्स साढे २ वर्षमा सकियो।
पास भएपछि उनले कैलाली जिल्लाको हेल्थ पोस्टमा काम गरे। त्यसपछि स्थायी भएर बाँके हेल्थ पोस्टमा पुगे। ‘काम गर्ने वातावरण राम्रो हुँदाहुँदै पनि टिक्न सकिनँ। किनकि, मलाई जागिर मात्र खानु थिएन। एमबीबीएस पढ्नु थियो,’ उनी सम्झन्छन्।
महेश सरकारलाई तत्काल राजीनामा बुझाएर शिक्षण अस्पतालमा एनेस्थेटिक असिस्टेन्ट भएर अप्रेसन कोठामा काम गर्न पुगे।
त्यही क्रममा उनको जीवनले सपनाको लय पकड्न थाल्यो। रसियन कल्चर सेन्टरमार्फत सन् १९८५ मा उनले छात्रवृत्तिमा रसियामा एमबीबीएस पढ्न जाने अवसर पाए। त्यसपछि उनी डाक्टर बन्ने अभिलाशाका साथ रसिया उडे।
०००
महेश एमबीबीएस पढ्न जाँदा २९ वर्षका थिए। जतिबेला उनीसँग पढेका साथीहरू डाक्टर बनेर बिरामीको सेवामा लागिसकेका थिए। महेशकै अनुसार उनी १० वर्ष ढिला भइसकेका थिए। तर, पनि दृढ अठोट थियो, डाक्टर बनेरै फर्किने।
पहिलो वर्ष रसियन भाषा पढ्नुपर्ने रहेछ। एक वर्ष पढेको भाषाको आधारमा सिंगो एमबीबीएसको कोर्स पढ्नुपर्ने। सानो कठिनाइ थिएन महेशका लागि।
सुरुको सेमेस्टरमा उनी रातभरि जागा बसेर पढ्थे। ‘प्रोफेसर खरर्र लेक्चर दिएर जान्थे। हामी केही बुझ्दैनथ्यौं। राति होस्टेलमा गएर एकतिर अंग्रेजी र अर्कोतिर रसियन डिक्स्नेरी राखेर पढाएको कुरा उल्था गथ्र्यौं। गर्दागर्दै बिहान २ बजिसक्थ्यो,’ उनी सम्झिन्छन्।
तेस्रो सेमेस्टरदेखि त सहज हुँदै गयो। किनकि, पहिला हेल्थ असिस्टेन्ट भएर क्लिनिकल कुरामा राम्रै दखल राखेका थिए महेशले। तेस्रो सेमेस्टरमा क्लिनिकल कुरा पढ्न उनलाई कठिन भएन। पछि उनी आफ्नो मेडिकल कलेजमा उत्कृष्ट विद्यार्थीका रुपमा दरिए।
एमबीबीएस सकिएपछि अगाडि डाको पहिचान झुन्ड्याएर सन् १९९२ मा उनी नेपाल फर्किए।
तर, नेपाल फर्किनेबित्तिकै जागिर पाउन सकस पर्यो उनलाई। स्वास्थ्य मन्त्रालयमा बुझ्न जाँदा करारमा कुरा अड्किन्थ्यो। आफू अनुकुल नभएपछि उनले फेरि मन्त्रालय धाएनन्।
एक दिन उनको भेट डा वीरेन्द्रकुमार विष्टसँग भयो। विष्टले महेशलाई अनन्दवन अस्पतालमा जाने सल्लाह दिए। महेशले पहिलो पटक आनन्दवन अस्पतालको नाम सुनेका थिए।
वीरेन्द्रले महेशलाई आनन्दवनको नम्बरसमेत दिए। महेशले फोन गरे। तत्कालीन मेडिकल सुपरिन्डेन्टले डा रुथले त्यही दिन अस्पताल बोलाए।
उनी हतारहतार आनन्दवन अस्पताल गएर डा रुथलाई भेटे। पहिलो भेटमै महेशलाई सुपरिटेन्डेन्टले प्रश्न गरेका थिए, ‘कुष्ठ रोगप्रति तिम्रो धारणा के हो ? तिमी कुष्ठ रोग अस्पतालमा काम गर्दा परिवारले के सोच्छ ?’
कुष्ठ रोगमा काम गर्ने स्वास्थ्यकर्मीको घरमा नातेदार पनि आउन नचाहेका घटना डा रुथले बताएका थिए। महेशले निर्धक्क साथ भने, ‘मैले यहाँ काम गर्दा परिवारमा कुनै समस्या हुन्न।’
त्यसपछि डा महेशको जागिर पक्का भयो। उनी त्यहीँको क्वाटरमै बसेर काम गर्न थाले। ‘२ जना नेपाली डाक्टर, २ विदेशी र एक जना हेल्थ असिस्टेन्ट गरी ५ जनाको मेडिकल टिम थियो हाम्रो। त्यहाँको काम गर्ने वातारवण एकदमै रमाइलो थियो,’ उनी अस्पतालका सुरुवाती दिन सम्झन्छन्।
महेशले अस्पतालबाट फर्कंदा कहिल्यै कसैबाट नराम्रो व्यवहार अनुभूत गर्नु परेन। आनन्दवनमा जनरल बिरामी पनि आउँथे। उनले कुष्ठ रोगसँगै साधारण रोगको पनि उपचार गर्थे। ‘कुष्ठ रोग अस्पतालमा काम गर्ने डाक्टर भनेर कहिल्यै विभेद चाहिँ भोग्नुपरेन,’ उनी सुनाउँछन्।
डा महेश हरेक बिरामीसँग आत्मीय व्यवहार गर्छन्। उनी बिरामीको पीडा सुनिदिन चाहन्छन्। उनलाई लाग्छ, ‘बिरामीको कुरा सुनिदियो भने पीडा कम हुन्छ। औषधि मात्रै दिएर समस्या निको हुँदैन।’
०००
कहिलेकाहीँ महेशलाई लाग्छ, ‘अस्पतालमा तीन दशक पत्तै नपाई बित्यो।’ उनलाई पहिलो पटक जागिरको सिलसिलामा आनन्दवन पुगेको हिजोजस्तो लाग्छ।
यी बीचमा धेरै बिरामी अचेत भएर आए। हाँस्दैहाँस्दै फर्के। कति बिरामी भएभरको सामथ्र्य लगाउँदा पनि नब्युँतिने गरी निदाए। गह्रौं मनले अलविदा भन्नुपरेका बिरामीहरूको सम्झनाले कति दिन उदास भएरै बिते।
आनन्दवन प्रवेश गर्दाको तीन दशकलाई हिसाब गर्ने हो भने बढी त उनले आनन्दकै श्वास फेरेका छन्। किनकि, निको भएर फर्किएका प्रत्येक बिरामीका अनुहार सम्झँदा उनलाई खुसी मिल्छ।
त्यस कारण डा महेशले जीवनमा पाएका महत्वपूर्ण अवार्ड सम्झनुपर्यो भने निको भएर घर फर्किरहेका ती बिरामीहरू सम्झन्छन्। जसले जाने बेलामा श्रद्धापूर्वक उनलाई भनेका थिए, ‘धन्यवाद डाक्टर साब।’
०००
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत दिगो विकासका लक्ष्यभित्र स्वास्थ्यका विषयमा महेशको योगदानको कदर गर्दै हेल्थ अवार्ड प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अवार्ड प्रदान गरेका हुन्।