तिमी मेरो साथीमाथि मुड्की बर्साउँछौ
मलाइ उ झाडापखालाको महामारीमा जाजरकोट दौडिएको याद आउँछ!
तिमी मेरो दाईमाथि लात्ति बजार्छौ
तिमी वार्डमा भर्ना हुँदा उहाँलाई कोभिड सरेको याद आउँछ!
तिमी मेरी दिदीमाथि माझि औँला ठडाउँछौ
तिम्री दिदी सुत्केरी गराउन आफ्नो दुधे बच्चो रुवाउँदै छोडेर आएको याद आउँछ!
तिमी मेरो भाईको टाउको फोड्छौ
तिम्रो भाईको टाउको फुट्दा उ आफै रगत दिन तम्सिएको याद आउँछ!
तिम्रा दाजै झुन्डिएर मर्दा
दुखेको मनमा मल्हम लगाउन सकिन्छ कि भन्दै
रातोमाटे हिलाम्य बाटोमा लड्दै पोष्टमार्टम गर्न गएको याद आउँछ!
तिमी मेरी बहिनीको सातो खान्छौ
मलाई आधा रातमा एनआइसियूमा तिम्रो बच्चोलाई यिनीले दुध बनाएर खुवाएको याद आउँछ!
मलाई थाहा छ
यो अराजक भिडले
एकदिन मलाई पनि कुट्ने छ!
तर यसको मलाई रत्तिभर डर छैन!
मलाइ डर त
कतै मार्लान नै भन्नेको छ!
र राम्ररी थाहा भैसकेको छ
नयाँ नेपालमा
मान्छे मारेको कानुन लाग्दैन!
अनि याद आउँछ आफ्ना आमाबाको
अचेल तिनका आँखामा
छोरो डाक्टर बन्दा ताक को चमक छैन!
मात्र एउटा आशा छ,
ड्युटी सकेर छोरो घर फर्कियोस्
सकुसल! ! सग्लै! बिहान घरबाट निस्किदा जस्तै! !