काठमाडौं- चिकित्सक कुटपिटको घटना बारम्बार भएको भन्दै चिकित्सकहरु आज (बुधबार) दोस्रो पनि आन्दोलनमा उत्रिएका छन्।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने विभिन्न प्रकारका आक्रमणको विरोधमा हिजोबाट सुरु भएको चिकित्सकको आन्दोलनले आज पनि निरन्तरता पाएको छ। यसरी चिकित्सकहरु आन्दोलनमा उत्रिँदा त्यसको प्रत्यक्ष मारमा बिरामीहरु परेका छन्।
चिकित्सक कुटपिटको घटना किन बारम्बार हुन्छ,के भन्छन् स्वास्थ्य क्षेत्रका सरोकारवाला
चिकित्सा शिक्षाका विज्ञ तथा आइओएमका पूर्वडिन डा जगदीश अग्रवालले मुख्यगरी ४ कारणले चिकित्सकहरुमाथि कुटपिट भइरहेको बताउँछन्।
उनले बिरामी, बिरामीका आफन्त तथा चिकित्सकबीच बिरामीको उपचारका बारेमा निरन्तर संवाद हुन नसक्दा चिकित्सकहरु कुटिने घटना बढिरहेको औंल्याए। जसलाई उनी पहिलो कारण भन्छन्।
त्यस्तै चिकित्सक तथा बिरामी दुवै पक्षले गल्ति तथा कमीकमजोरी हुँदा कानुनी उपचारमा जान सकिन्छ भन्ने ज्ञानको कमी हुँदा यस्ता घटना बढिरहेको उनले बताए।
तेस्रोमा, उपचारमा केही तलमाथि हुनेबित्तिकै दोष जति डाक्टरलाई दिने प्रवृतिका कारण पनि यस्ता घटना घटिरहेको उनले बताए।
'कुनै पनि चिकित्सकले एक विधीमा रहेर उपचार गर्ने हो। सबै ठाउँमा स्वास्थ्य उपकरण, सामाग्रीको पहुँच समान हुँदैन। सबै ठाउँमा समान योग्यता, क्षमता र सीपका स्वास्थ्यकर्मी पनि हुँदैनन्,’ उनले भने।
आवश्यक स्वास्थ्य उपकरण नभएर पनि बिरामीको मृत्यु हुने र चिकित्सकले कुटाइ खानुपर्ने अवस्था आएको उनको बुझाइ छ।
चौथौ, डाक्टरबाट भूलवश वा अज्ञानताले पनि उपचारमा कमीकमजोरी हुन सक्ने उनको भनाइ छ। उपचारमा तलमाथि भइहाले दुवै पक्षले कानुनी उपचार रोज्नुपर्ने अग्रवालको सुझाव छ।
‘कानुनको पालना सबैले गर्नुपर्छ, डाक्टरमाथि पनि कानुनी उपचार गर्न सकिन्छ' उनले भने।
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्की चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही तथा सजाय गर्ने संयन्त्र कमजोर हुँदा यस्ता आक्रमण बढेकोे बताउँछन्। त्यस्तै डाक्टर तथा स्वास्थ्यकर्मी कुटपिटमा संलग्न व्यक्तिलाई कारबाही गर्नुको साटो राजनीतिक संरक्षण दिने परिपाटीका कारण यस्ता घटना दिनप्रतिदिन बढिरहेको उनको धारणा छ।
साधारण व्यक्तिले भन्दा पनि राजनीतिक पृष्ठभूमि भएका पहुँचवालाहरूले डाक्टरमाथि कुटपिट गर्ने गरेको तथा यसका लागि ऐन बने पनि त्यसको कार्यान्वयनको पक्ष फितलो हुँदा चिकित्सकमाथि हुने कुटपिटको घटना बढेको उनी बताउँछन्।
डाक्टरले उपचारमा लापरबाही नै गरेको पुष्टि भए नेपाल मेडिकल काउन्सिलमार्फत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको धारणा छ।
'चिकित्सक कुटपिटको घटनालाई रोक्नका लागि सरकारले अस्पताल, व्यवस्थापन वा चिकित्सकका के समस्या छन् त्यसलाई खोजेर समाधान गर्नुपर्ने हुन्छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको कार्यान्वयन कडा रुपमा गरेको खण्डमा चिकित्सकहरु आक्रमणमा पर्ने घटनाको समाधान हुनसक्छ' उनले भने।