टाइफाइड सालमोनेला भन्ने सूक्ष्म जीवले गराउने रोग हो। जुन खाना र पानीबाट सर्नेगर्छ। दक्षिणपूर्व एशिया र दक्षिण अफ्रिकामा यो रोग सबैभन्दा बढी देखिएको छ। सरसफाइको कमी र प्रदूषित पानी नै यसको मुख्य कारण देखिन्छ। गाउँघर भन्दा शहर बजारमा यो रोग बढी देखिने गरेको छ। ढल प्रयोग गरी लगाएको तरकारी तथा फलफूल, सडक छेऊको खानेकुरा, हात नधोई खाने बानी र खुला शौचालयको प्रयोगले पनि टाइफाइडको जोखीम बढाउँछ।
ज्वरो र पेट दुख्ने यसका मुख्य लक्षणहरू हुन्। अरू लक्षणहरूमा टाउको दुख्ने, जाडो लाग्ने, खोकी, पसिना आउने, हातखुट्टा तथा जोर्नी दुख्ने, खान मन नलाग्ने, वाक्वाकी लाग्ने, उल्टी हुने, पखाला अथवा कब्जियत हुने पनि हुन सक्छ। छालामा सानो-सानो बिबिराहरू पनि आउन सक्छ। दुई हप्तापछि रोगले जटिल रूप लिन सक्छ र विभिन्न समस्या आउन सक्छ जस्तै: आन्द्राबाट रगत बग्ने, आन्द्रा फुट्ने, दिमाग तथा नशामा समस्या आउने, मुटु, फोक्सो(निमोनीया), कलेजो, प्यान्क्रियाज, हड्डी, आँखा र रगतमा पनि थप समस्या आउन सक्छ र समयमा नै उपचार नभए ज्यान सम्म पनि जान सक्छ।
१० प्रतिशत बिरामीलाई यो समस्या २ देखि ३ हप्तामा फेरि देखिन सक्छ। उपचार नगरेर नै सन्चो भएका बिरामीको दिशा र पिसाबबाट किटाणु अरूलाई सर्न भने सक्छ। रोग पत्ता लगाउनका निम्ति बिरामीको लक्षणसहित प्रयोगशालामा रगत परीक्षण गर्नुपर्ने हुन्छ। रगत परीक्षणमा ब्लड कल्चर, एन्टिबडी टेस्ट र वाइडल पर्ने गर्छन। कुनै प्रकारको औषधि सेवन नगरी ब्लड कल्चर गराएमा जम्मा ४० देखी ८० प्रतिशत बिरामीमा मात्र किटाणु देखिने गर्छ। कम प्रतिशतमा देखिए तापनि यो जाँच नै सबैभन्दा भरपर्दो जाँच हो। यो जाॅचको रिपोर्ट आउन २ देखी ३ दिन लाग्छ तर यो जाँच सबै ठाउँमा उपलब्ध भने हुँदैन। अब कुरा आउँछ एन्टिबडी र वाइडल टेस्टको, जुन नेपालभरी छ्याप्छ्याप्ती गरिन्छ र तपाईलाई टाइफाइड छ, तपाईलाई फेरि टाइफाइड भयो भनिन्छ। र सके इन्जेक्सन नसके कडा एन्टिबायोटिक्स दिइन्छ। यो जाँचहरुको रोग पत्ता लगाउन सक्ने र रोगको सही पहिचान गर्नसक्ने क्षमता एकदम कम हुन्छ। नेपालको धेरै जस्तो दुर्गम भेगमा प्रयोगशालाको गुणस्तरको कुनै मापन छैन, प्रयोगशालामा प्रयोग गरिने सामाग्री पनि गुणस्तरीय नभएकाले र प्रयोगशाला प्राविधिक नभई रिपोर्ट दिनाले गलत रिपोर्ट र गलत उपचार भइरहेको पाइन्छ।
टाइफाइडसँग मिल्दाजुल्दा धेरै रोगहरू भएकाले सही रोगको पहिचान र निवारण जरुरी छ। टाइफाइड र यो जस्तै सरुवा रोगहरूमा ल्याब रिपोर्टको भन्दा सबै कुरा हेरेर डाक्टरको क्लिनिकल निदान नै महत्वपूर्ण हुन्छ। नेपालमा दुर्गमका अशिक्षितदेखि सुगमका शिक्षित वर्गमा समेत टाइफाइड प्रतिको भर्म देखिएको छ।
बेला बेलामा टाइफाइड भइरहने भन्दा पनि, टाइफाइड जस्तै अरु रोगहरूलाई (जस्तैः भाईरल ज्वरो) टाइफाइड भनेर उपचार गरेको पाइन्छ। टाइफाइड भयो भन्दैमा इन्जेक्सनबाट नै औषधि लगाउनपर्छ भन्ने हुँदैन, बिरामीको अबस्था हेरेर ट्याब्लेट औषधिले पनि उपचार हुन्छ। टाइफाइड विरुद्धको खोप पनि भएकाले रोकथामको उपाय हुन सक्छ। सरसफाइ र सफा खानेपानी नै मुख्य रोकथामको उपाय हो।