स्वास्थ्य सेवाका क्षेत्रमा विशाल पण्डित परिचित नाम हो। लामो समयदेखि स्वास्थ्य उपकरण तथा प्रविधि र औषधिका क्षेत्रमा सक्रिय पण्डितसहितको टिमले नेपालमै औषधि उत्पादक कम्पनी खोलेका छन्। एकर्ड फर्मास्युटिकल्स कम्पनी पण्डित र उनीहरुको टिमले सुरुवात गरेको औषधि कम्पनी हो। कम्पनी मार्फत उत्पादित औषधि नेपाली बजारमा आइसकेका छन्। एकर्ड फर्मा, नेपालको औषधि बजार र गुणस्तर लगायतका विषयमा स्वास्थ्यखबरले एकर्ड फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक विशाल पण्डितसँग गरेको कुराकानी :
लामो समयदेखि स्वास्थ्य सामग्री तथा उपकरण व्यावसाय र अन्य क्षेत्रको व्यावसायमा सक्रिय हुनुहुन्छ। पछिल्लो समय नेपालमै औषधि उत्पादन गर्ने भनेर लाग्नु भएको छ। औषधि कम्पनी खोल्ने सोच कसरी बनाउनुभयो?
म स्वास्थ्य क्षेत्रमा सन् २००० देखि नै लागेको हुँ। त्यतिबेलादेखि नै स्वास्थ्य उपकरणहरुमा धेरै काम गरेँ। विदेशबाट औषधि आयात गर्ने काम पनि गरेको छु। विश्व बजारमा नेपाली कम्पनीका औषधि गुणस्तरीय छन् भनेर चिनाउनु पर्छ भन्ने लागिरहेको थियो। औषधिमा काम गरेको अनुभवपछि मलाई लाग्यो– विदेशी कम्पनीको औषधि मात्र कति ल्याउने? आफैंले उत्पादन किन नगर्ने? नेपालको पैसा किन बाहिर पठाउने? यहीँ उद्योग खोलेर रोजगारी किन सिर्जना नगर्ने? त्यसपछि आवश्यक गृहकार्य र साथीहरुसँगको साथ लिएर औषधि उद्योग सुरु गरेका हौँ। औषधिमा नेपाल आफैं आत्मनिर्भर बन्न सक्छ भन्ने सोचेर नै म यस क्षेत्रमा प्रवेश गरेको हुँ।
औषधि उद्योग स्थापना गर्नुअघि बजारको अध्ययन पनि गर्नुभयो कि आफ्नै अनुभवले उद्योग चल्छ भन्ने लागेर यो क्षेत्रमा लाग्नुभयो?
अध्ययन गरेर नै यो क्षेत्रमा लागेका हौँ। बजारमा भएका औषधि हेर्दा गुणस्तरमा चाहिने मधुमेह, मुटु रोग, न्यूरोको समस्याका औषधिहरु अझै यथेष्ट उत्पादन नभएको र विदेशी औषधिले नै बजार लिइरहेको अवस्था देखियो। अलि जटिल प्रकृतिका रोगका औषधिहरु विदेशबाटै आइरहेको देखिएको हुनाले अब यो क्षेत्रमा कसरी राम्रो गर्न सकिन्छ भनेर अध्ययन गरेर नै प्रवेश गरेका हौँ। पहिलो दुई÷तीन वर्ष औषधि बजारको अध्ययन गरियो। त्यसपछि उद्योग बनाउने काम गरियो। उद्योग बनाउँदा नै नेपाली औषधि नेपालका लागि मात्र भन्दा पनि भोलिका दिनमा निर्यात पनि गर्न सकिन्छ भनेर अत्याधुनिक प्लान्ट बनाएका छौँ।
तपाईंहरुले सञ्चालन गरेको औषधि कम्पनी कति लागतमा बनेको हो? अहिले कति प्रकारका औषधि बजारमा ल्याउनुभएको छ?
अहिले उपलब्ध भएका अत्याधुनिक प्रविधिहरुको प्रयोग गर्दै भोलिका दिनमा उत्पादन वृहत रुपमा लान सक्ने गरेर लगानी गरेका छौँ। झन्डै १७० करोडको लागानीमा औषधि उद्योग स्थापना गरेका छौँ। हामीले सुरुमा ४० प्रकारका औषधि बजारमा ल्यायौँ। यसमा मुटु रोग, मधुमेहतर्फ एउटा र जनरल भनेर अर्को गरेर दुई भागमा छुट्याएर औषधि बजारमा ल्याएका छौँ। हामीसँग दुई वटा डिभिजन चलिरहेको छ। हाल ८० प्रकारका औषधि बजारमा ल्याइसकेका छौँ।
कम्पनीमा कति जनशक्ति कार्यरत छन्?
अहिले हामीसँग कर्पोरेट र फ्याक्टिङतर्फ गरेर करिब ११५ जना जनशक्ति कार्यरत छन्।
नेपालमा धेरै औषधि उद्योग छन्। उद्योगको भीडमा तपाईंको औषधि उद्योगमा के फरक छ?
सबैले आ–आफ्नो ठाउँमा काम गरिरहेका छन्। हामीले आफ्नो बाटो आफैँ बनाउने हो। मेरो जहिले पनि व्यापारको शैली भनेको आफ्नो प्रतिस्पर्धी भनेको आफैँ हो भन्ने छ। त्यसले गर्दा अरु औषधि उद्योगको भीडमा मेरो कम्पनी प्रतिस्पर्धी होइन। तर हामीले यसलाई पृथक परिचय दिन भने कोसिस गरिरहेका छौँ। अहिले नेपालमै पहिलो पटक पब्लिक औषधि कम्पनी हामीले बनाएका छौँ। हामी धेरै जनाको सहभागितामा पब्लिकमा जान्छौँ। पब्लिकले ओनरसिप लिएपछि आफ्नै औषधि खाएको अनुभव गर्न सक्नुहुन्छ।
अर्को कुरा, औषधिहरुमा पनि कुन मोलिक्युल बढी गुणस्तरको छ, त्यसलाई हामीले फोकस गरेका छौँ। नेपालमा उत्पादन भएका औषधिले नेपालको औषधि बजारमा अहिलेसम्म ५० प्रतिशत पनि कभर गर्न सकेको छैन। त्यसैले पनि प्रतिस्पर्धाको बीचमा कसरी अगाडि बढ्ने भनेर धेरै सोच्नुपर्ने अवस्था छैन। यदि गुणस्तर, वितरण र आफ्नो पहिचानलाई स्थापित गर्न सकियो भने समस्या पर्दैन जस्तो लाग्छ।
औषधि कम्पनी पब्लिकमा जाने निर्णय भइसकेको भन्नुभयो। आईपीओ जारी गर्न लागिएको हो?
हो। यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छौँ। यसको अन्तिम तयारी भइरहेको छ। अहिले सर्वसाधारणका लागि १० प्रतिशत आईपीओ जारी गर्ने हाम्रो योजना छ। हुन त यति ठूलो लगानीमा १० प्रतिशत भनेको त्यति ठूलो होइन। मुख्य कुरा औषधि उत्पादनको क्षेत्रमा नागरिकको पनि सहभागिता होस् भनेर नै आईपीओ जारी गर्न लागिएको हो। बढीभन्दा बढी मानिसको लगानी नेपाली औषधि उद्योगमा होस् भन्ने हाम्रो सोच हो। सर्वसाधारणले औषधि उपभोग गर्दा आफ्नै कम्पनीको औषधि खाएको हो भन्ने सोचाइ होस् र अपनत्व महसुस गरुन् भन्ने चाहना पनि हो। फर्मास्युटिकल कम्पनीले अहिलेसम्म आईपीओ जारी गरेका थिएनन्। नेपाली औषधि कम्पनीहरु के हो के भन्ने धारणालाई परिर्वतन गराउन पनि आईपीओ जारी गर्न लागिएको हो।
एकर्डले उत्पादन गरेका औषधि उच्च गुणस्तरको छ भनेर कसरी दाबी गर्न सक्नुुहुन्छ?
पहिलो कुरा त हामी विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्ड प्राप्त कम्पनी हौँ। यसले पनि गुणस्तर छ भन्ने प्रमाणित गर्छ। यसका साथै हामी आफैँ र तेस्रो पक्षबाट पनि गुणस्तर अडिट गरिरहेका छौँ। हामीसँग औषधिको रिसर्च, प्रडक्सन र मार्केटिङ टिम छ। अर्को, तेस्रो टिमबाट पनि आफैँले आफैँलाई अडिट गरिरहेका छौँ। त्यो टिमले बजारमा सूक्ष्म रुपमा अध्ययन गरेको हुन्छ र व्यवस्थापनलाई रिपोर्ट गरेको हुन्छ। बजारमा गएका औषधिको प्रयोगकर्ताको प्रतिक्रिया के छ? जसले औषधि सिफारिस गर्नुहुन्छ उहाँको प्रतिक्रिया के छ भनेर पनि अडिट गरिरहेका छौँ। हामी गुणस्तरको सुनिश्चितताका साथ लागिरहेका छौँ भन्ने कुरा बजारले दिएको प्रतिक्रियाबाट नै पुष्टि गर्न सकिन्छ। अहिले अडिट गर्दा गुणस्तर राम्रो भएको प्रतिक्रिया पाएका छौं। हाम्रो औषधिको गुणस्तरमा कुनै कम्प्रमाइज छैन। यो मानवसँग प्रत्यक्ष जोडिएको भएकाले गुणस्तरमा कुनै कम्प्रमाइज गर्न मिल्दैन। औषधि भनेको जीवनरक्षासँग जोडिएको विषय हो। यसको संवेदनशिलतालाई हामीले बुझेका छौँ। हामी र हाम्रा कम्पनीका कर्मचारीले आफू वा आफ्ना आफन्तले औषधि खानुपर्ने अवस्था आएमा हाम्रो कम्पनीको औषधि किनेर खान्छौँ।
एकर्डबाट उत्पादित औषधिलाई निर्यात गर्ने योजना पनि छ कि?
यसमा केही प्रयासहरु भइरहेका छन्। दुई÷तीन वटा विदेशी कम्पनीले आफ्नो उद्योगलाई अडिट गर्नको लागि करस्पोन्डेन्ट गरिरहेका छन्। दुई÷तीन वटा देशमा हाम्रो उत्पादन दर्ता गर्न प्रक्रियाका लागि अडिटका कुरा सुरु भइसक्यो। तर यसमा म धेरै आशावादी भने छैन। हामीले निर्यातमा प्रतिस्पर्धा गर्ने भनेको बंगलादेश, भारत लगायतका देशहरुसँग हो। हामी नेपाली कम्पनीले औषधिको कच्चा पदार्थ, प्याकिङ गर्ने सामग्री त्यहीँबाट आयात गरिरहेका छौँ। त्यसैले हामीले औषधिको निर्यात गर्न त्यही देशहरुसँग प्रतिस्पर्धा गरेर ठूलो मात्रामा निर्यात गर्न सक्छौँ भन्ने कुरामा म धेरै आशावादी भने छैन। तर कोसिस भने गरिरहेका छौँ। हामीले उद्योगको स्थापना गर्दा नै त्यही अनुसार नै तयारी गरेका छौँ। निर्यात पनि गर्न सकियो भने यहाँ पनि आत्मविश्वास बढ्छ।
हाम्रो लागि अहिले मुलुकमै उत्पादन गरेर आयातलाई प्रतिस्थापन गर्न सकियो भने त्यो भन्दा ठूलो उपलब्धि अरु केही हुने छैन। त्यस कारण हाम्रो जोड नै बढी त्यसमा छ। औषधिमा नेपाललाई आत्मनिर्भर बनाउनतर्फ लाग्नु पर्छ। मेरो बिजनेस करिअरको ३५औं वर्षमा औषधि उद्योग सञ्चालन गर्नुको कारण हाम्रो प्रयासका कारण औषधिमा नेपाल आत्मनिर्भर बन्ने बाटोमा इँटा थप्न सकोस् भन्ने नै हो। आयात प्रतिस्थापन गर्न ठूलो मद्दत गरोस् भन्ने मेरो चाहना हो। सबै ओषधि उद्योग र सरकारले यही सोचेर काम गर्न सकेमा हामी छिट्टै नै नेपालका लागि आवश्यक ८० देखि ८५ प्रतिशत औषधि नेपालमै उत्पादन गर्न सक्छौं।
नेपाल औषधि उत्पादनमा आत्मनिर्भर बन्न नसक्नुमा कसको कमजोरी देख्नुहुन्छ?
देश भित्रका उद्योगलाई कसरी माथि उठाउने?, देशमै भएका उद्योगलाई कसरी प्रोटेक्ट गर्ने? भन्नेतिर सरकारको ध्यान देखिँदैन। हामी उद्योगीहरु पनि सरकारले केही गरेन मात्र भन्छौँ। यसको निकास कतै भेटिएको अवस्था छैन। अन्धकारमा नै चलिरहेको छ। निजी क्षेत्रले ठूलो चुनौती लिएर अघि बढिरहेको अवस्थामा सरकारले केही साथ दिने हो भने नेपालले औषधि उत्पादनका क्षेत्रमा धेरै उपलब्धि हासिल गर्न सक्छ। उत्पादक कम्पनीले पनि सरकारले गरेन भनेर चुप लाग्नु भएन। आफ्नो तर्फबाट पनि प्रयासहरु गर्नैपर्छ।
औषधि कम्पनी सञ्चालन गर्ने क्रममा के–के समस्या र चुनौतीहरु भोग्नुभयो?
अहिले औषधि कम्पनीहरुको विकराल समस्या भनेको उधारो रहेछ। यसमा पुँजी र लगानी व्यापक हुने रहेछ। मैले यसमा गाह्रो पाटो देखिरहेको छु। हरेक व्यवसायमा कठिनता र चुनौतीहरु छन्। यसमा पनि त्यही किसिमको चुनौतीहरु छन्। चुनौतीलाई चिर्दै हामी अगाडि बढिरहेका छौँ। यो क्षेत्र भनेको मैले जानेको र बुझेकै क्षेत्र हो। त्यस कारण समस्या र चुनौतीलाई अवसरकै रुपमा लिएको छु। म विश्वस्त छु, आगामी १० वर्ष भित्रमा नेपालको औषधिले ७० प्रतिशत बजारको माग धान्छ। कठिनाइहरुको बीचमा पनि मैले अगाडिको सुन्दर बाटो देखेको छु।
धेरैजसो नेपाली औषधि उद्योगहरु सहज रुपमा उत्पादन गर्न सकिने औषधिमा केन्द्रित भइरहेका छन्। तपाईंहरुको प्राथमिकता कस्ता उत्पादनमा हो?
हामीले नयाँनयाँ कुरामा नै बढी जोड दिएका छौँ। नयाँ उत्पादन ल्याउन अध्ययन गरिरहेका छौँ। मुटु, मधुमेह र जनरल प्रोडक्टमा काम गर्दा पनि राम्रो उत्पादन भइरहेको छ। केही वर्ष भित्रमा नयाँनयाँ उत्पादन पनि खुल्नेछन्। त्यसले औषधिको आयातलाई केही विस्थापित गर्छ।
नेपालमा धेरै उत्पादन हुने औषधिको आयातमा कडाइ गर्ने भनेर सरकारले तयारी गरे पनि कार्यान्वयनमा आउन सकेको अवस्था छैन नि?
औषधिमा आयात प्रतिस्थापन गर्न ठूलो अजेन्डा चाँहिदैन। सरकारले निजी स्तरमा सञ्चालित आन्तरिक औषधि उद्योगलाई किन्नुपर्ने पनि होइन। नेपाली उद्योगले ल्याउने औषधिको कच्चा पदार्थमा कर लगाउनु भएन। यहाँ धेरै मात्रामा उत्पादन हुने औषधिलाई आयात हुन पूर्ण रुपमा रोक लगाउन पनि पर्दैन। सरकारले विदेशबाट आउने त्यस्ता औषधिमा कर बढाए पुग्छ। विदेशबाट आयात हुने औषधिमा १५ प्रतिशत बढी कर लागू हुने र कच्चा पदार्थमा कर छुट गर्नेवित्तिकै नेपालमा उत्पादित औषधि माथि उठ्दै जान्छ।
तपाईंहरुको भावी योजना के छन्?
उद्योग सुरु गरेको दुई वर्ष मात्र भयो। यो दुई वर्षमा गर्नुपर्ने हाम्रा योजना अनुसार विश्व स्वास्थ्य संगठनको जीएमपी सर्टिफाइड हुने प्रक्रिया पूरा गर्यौँ। आईपीओ जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएका छौँ। बजारमा एक लेबलमा स्थापित पनि भएका छौँ। अब बजारको माग अनुसार उत्पादन बढाउँदै लैजानेदेखि नयाँ उत्पादनतर्फ अगाडि बढ्ने योजना छ। ठूलो लगानीमा आएको कम्पनी भएकाले हाम्रो मार्केटको साइज बढाउने प्रयत्नमा हामी लागेका छौं। तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउँदै अगाडि बढेका छौं।