पूर्णरूपमा स्वस्थ र आरोग्यताका लागि शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्वपूर्ण छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको प्रत्याभूत गरेको छ। स्वस्थ नागरिक नै देशको सर्वाङ्गीण विकासको आधार हो भन्ने मान्यताअनुरूप गुणस्तरीय र सर्वसुलभ मानसिक स्वास्थ्य सेवामा सबै नागरिकका समान पहुँच पुर्याउने कार्यलाई नेपाल सरकारले प्राथमिकतामा राखेको छ। सबै नागरिकको मानसिक सुस्वास्थ्यका लागि मानसिक स्वास्थ्यको सेवालाई विस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको छ।
नेपालमा १० मध्ये एक जना नागरिक मानसिक स्वास्थ्य समस्यासँग बाँचिरहेका छन्, दैनिक १९ जनाले यसका कारण ज्यान गुमाउने गरेका छन्। यो निकै दुःखको कुरा हो। हाम्रो समाजमा गरिबी, बेरोजगारी, लैङ्गिक, जातीय वा भूगोलमा आधारित कलंक र भेदभाव जस्ता समस्याहरू छन्, जसले मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन्। यस्ता सामाजिक विभेदले आफ्नो मानसिक स्वास्थ्यको बारेमा खुला रूपमा छलफल गर्न र उपचार लिन चुनौती थपेको छ। यस्ता प्रचलनहरू अन्यायपूर्ण र नेपालको संविधान प्रदत्त मौलिक अधिकारको विरूद्धमा छन्। यी कारणहरूले भएका सेवाहरूको समेत उपयोग हुन सकेको छैनन्।
त्यसैले, मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कूरीतिलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्नेछ। समावेशी र समानुभूतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्छ, सबैलाई मर्यादित र सम्मानका साथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्दछ।
हामीले मानसिक रोग शारीरिक रोगहरू जस्तै हो भनी बुझ्नुपर्छ। त्यसैले, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ। यस वर्ष असोज २३ गते मनाउँदै गरिएको विश्व मानसिक स्वास्थ्य दिवसको मूल नारा ‘‘मानसिक स्वास्थ्य : सबैको अधिकार’’ले पनि यसको लागि आह्वान गरेको छ।
सबै क्षेत्रहरूले पनि मानसिक स्वास्थ्य प्रवर्धनका कार्यहरूलाई प्राथमिकता दिनु उत्तिकै महत्वपूर्ण छ। हाम्रा परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलहरूमा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने वातावरण सिर्जना गर्नु आवश्यक छ। त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका हाम्रा नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न हामीले अन्य देशहरूसँग समन्वय गर्न आवश्यक छ।
स्वास्थ्य सेवा नीति निर्माताले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस सम्बन्धी नीति निर्माण र योजना तर्जुमा गर्दा सरोकारवाला पक्ष र निकायको प्रतिनिधित्व गराउनेतर्फ गम्भीर ध्यान दिनुपर्छ। तर्जुमा गरिएका योजना र कार्यक्रमहरू कार्यान्वयनका लागि प्रभावकारी समन्वय र सहकार्य जरूरी छ। त्यसका लागि आवश्यक पर्ने स्रोत र साधनको प्रबन्ध गर्न नेपाल सरकार गम्भीर रहेको कुरा पनि म जानकारी गराउँछु।
हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट मानसिक स्वास्थ्यको सम्बोधनका लागि योगदान गर्न सकिन्छ। तसर्थ, स्वस्थ जीवनशैलीका लागि स्वस्थ आहार, पर्याप्त आराम र निन्द्रा, नियमित व्यायाम गरौँ। मद्यपान वा सुर्तीजन्य पदार्थको सेवन नगरौँ। दुःखमा साथी, सहकर्मी, आफन्तको सहयोग लिउँ र सहयोग गरौँ। तनाव र समस्यामा परेकाको कुरा सुनौँ र मद्दत गरौँ। यदि मानसिक स्वास्थ्यमा केही समस्या देखिएमा स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिन नहिच्किचाउँ। अन्य व्यक्तिलाई उपचार सेवा लिन उत्प्रेरित गरौँ। भेदभावरहित समाज निर्माण गर्न र सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गरेमा पनि मानसिक स्वास्थ्यको निम्ति ठूलो लगानी हुनेछ।
अन्त्यमा, विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा सबै नागरिकहरूमा सुस्वास्थ्य र दीर्घायूको कामना।
(विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्तव्य)