अहिलेको आधुनिक वैज्ञानिक युगमा अनेकौं आविस्कारसँगै सबैजसो क्षेत्रमा धेरै कुराको समाधान हुने सम्भावना बढदै गएको छ। नवजात शिशुले देख्छ कि देख्दैन भनी जाँच गर्न मिले जस्तै नवजात शिशुले सुन्न सक्छ कि सक्दैन भनी पत्ता लगाउन पनि सम्भव भएको छ। मानव कानको बिकासको पूर्णता गर्भावस्थामा नै हुन्छ। जन्मने बित्तिकै शिशुले सामान्य अवस्थामा सुन्न सक्ने हुन्छ।
सन १९८० मा आविस्कार भएको अटो एकाउस्टीक ईमिसन (ओएई) टेक्नोलोजिको प्रयोगबाट जन्मने बितिकै शिशुले सुन्न सक्छ कि सक्दैन भनी पत्ता लगाउन सम्भव भएको छ। अडिटरी ब्रेनस्टेम रेस्पोन्स (एबिआर) नामक परीक्षणले कानको सुनाई शक्ति, सुनाइमा संलग्न भएको भित्रि कानदेखि दिमागसँग जोड्ने नशामा भएका समस्या पत्ता लगाउन पनि सकिने अवस्थाको छ। एविआर परीक्षणलाई पनि स्क्रीनिङको रुपमा प्रयोग गर्न सकिन्छ जसलाई अटोमोटिक एविआर (एएविआर) भनिन्छ। ओएई तथा एएविआर मेसिन तथा प्रविधिबाट नवजात शिशुको सुनाइको परीक्षण गर्न सकिन्छ। यसरी परीक्षण गर्दा शिशुलाई कुनै किसिमको हानी हुंदैन।
न्यूयोनेटल हेयरिङ स्क्रिनिङ-
कुनै अस्पतालमा जन्मभएका सम्पूर्ण नवजात शिशुको सुनाईको परीक्षण गर्ने कार्यलाई यूनिभर्सल न्यूयोनेटल हेयरिङ स्क्रिनिङ कार्यक्रम भनिन्छ। अन्तरर्राष्ट्रिय जगतमा सबैजसो विकसित राष्ट्रहरुमा यसको सुरुवात दशकौ वर्ष पहिले नै भएको पाइन्छ। बिस्तारै यो कार्यक्रम धेरै राष्ट्रमा सरकारी तवरबाट नियमित कार्यक्रममा राखेको पाइन्छ। शिशु जन्मेको करिब १ महिनाभित्र दुबै कानको सुनाई ओएई वा एएबिआर प्रविधिको प्रयोगबाट गर्ने गरिन्छ। यो परीक्षण दुई चरणमा गरिन्छ।
पहिलो चरणको परीक्षण - शिशु जन्मेको १२ घण्टापछि अस्पतालबाट डिस्चार्ज हुनु अगाडि ओएइ वा एएबिआरबाट गरिन्छ। यसमा दुबै कानको परीक्षण २–२ पटक गरिन्छ। पहिलो चरणको परीक्षणबाट सुनाई सामान्य भएमा अरु परीक्षण गरिदैन।
दोश्रो चरणको परीक्षण - पहिलो चरणको परीक्षणमा शंकास्पद नतिजा आएमा वा सुनाईमा कमि वा नसुनेको जस्तो लागेमा दोश्रो चरणको परीक्षण गरिन्छ। यो परीक्षण पहिलो चरणको परीक्षणको करीब १ महिनापछि गरिन्छ। यसमा पनि पहिलो चरणको परीक्षणमा जस्तै ओएइ वा एएबिआरको प्रयोगबाट जाँच हुन्छ। यसपटक पनि दुवै कानको परीक्षणा २–२ पटक गरिन्छ। यो परीक्षणमा सामान्य देखिएमा ‘पास’ वा सामान्य नदेखिएमा ‘रेफर’ कोड गरिन्छ। ‘रेफर’ भएमा कानको सम्पूर्ण आवश्यक जांच गरेर सुनाईको यकिन गर्नको लागि अडियोलोजिष्टको मा रेफर गरिन्छ।
हेयरिङ स्क्रिनिङको आवश्यकता किन?
नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा नवजात शिशुले सुन्न नसक्ने कुरा शिशुको उमेर १ देखि २ वर्ष पुगेपछि वा बोलि तथा भाषाको विकास नभएपछि थाहा पाउँछन्। यो समयमा शिशुको विकासमा धेरै पछाडि परिसकेको हुन्छ। यदि समयमा नै सुनाइको समस्या पत्ता लगाउन सकेको खण्डमा समयमा नै यसको उपचार गर्न सकेमा शिशुको विकासलाई सामान्य बनाउन सकिन्छ। कानको सुनाई कम भएका शिशुलाई सामान्य बनाउनको लागि आवश्यकता अनुसारको श्रवण यन्त्र (हेयरिङ एड) समयमा लगाई दिएमा अन्य वृद्धि विकासलाई पनि सामान्य बनाउन सकिन्छ।
पटक्कै कान नसुनेका शिशुलाई समयमा नै कक्लियर इम्प्लान्ट प्रयोग गरी अन्य तालिम दिई सामान्य व्यक्तिको रुपमा परिर्वतन गर्न सकिन्छ। कानको बाहिरी भागको माग विकास नभएको अवस्थामा पनि विभिन्न अत्याधुनिक श्रवण यन्त्रहरु जस्तै ‘बाहा’ ‘बोन ब्रिज ’ ‘साउण्ड आर्क’ ‘एडेयर’ जस्ता उपकरणको प्रयोगबाट सुनाई सामान्य बनाउन सकिन्छ।
हेयरिङ कार्यक्रम संचालनमा चुनौती
१) पर्याप्त आत्याधुनिक मेसिनको जरुरत
२) प्राविधिक जनशक्तिको आवश्यकता
३) थप प्रशासनिक जनशक्तिको आवश्यकता
४) दुई चरणमा गरिनुपर्ने परीक्षण भएकोले अभिभावकले बच्चालाई दोश्रो चरणको परीक्षण गर्न नचाहने वा नसकने अवस्था।
५) रामे रेकड किपिङ तथा भविश्यमा आवश्यकता आंकडा उपलब्ध गराउन सक्नु पर्ने।
अन्तमा नवजात शिशुको श्रवण परीक्षण एक प्रकारको स्क्रिनिङ कार्यक्रम मात्र हो र यसबाट सुनाई कमी वा विल्कुलै नसुन्ने यकिन गर्न समयमा नै डायगोनोस्टिक श्रवण परीक्षण गर्नुपर्ने शिशुको पहिचान गर्दछ। यस किसिमको स्क्रिनिङ कार्यक्रम सरकारको नियमित कार्यक्रममा समाबेश गरेर नेपाल भर लागू गर्नुपर्छ। यस कार्यक्रमबाट सुनाईको कमि भएका वा विल्कुलै सुन्न नसक्ने शिशुको पहिचान भएपछि ती बाल बालिकाहरुको आवश्यक उपचार गर्नमा पनि नेपाल सरकारबाट नीति तथा योजना बनाउन जरुरी छ।
(लेखक नाक, कान घाँटी रोग विशेषज्ञ हुन्।)