२० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइरहँदा महिला स्वास्थ्य स्वयंसेविका भई समाजको सेवा गर्न पाउँदा मलाई गर्वको महसुस भएको छ। यस २० औं महिला स्वास्थ्य दिवसको अवसरमा योगदान पुर्याएबापत सम्मानित हुन पाएकोमा सम्मान गर्नूहुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाप्रति हृदयदेखी नै धन्यवाद व्यक्त गर्न चाहन्छु।
वर्षमा एक दिन महिला स्वास्थ्य स्वयंम् सेविका दिवस मनाएर मात्रै उनीहरुले समाजमा पु¥याएका योगदानको वास्तविक रुपमा कदर हुन सक्दैन भन्ने मलाई लाग्छ। दुर्गममा कार्यरत्त स्वयंम् सेविकाका लागि सरकारले केही योजना ल्याउनु आवश्यक छ भन्ने मलाई लाग्छ।
स्वास्थ्य सेवा विभागको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अनुसार सेवा निवृत्त भएको अवस्थामा केही सेवा सुविधाको व्यवस्था गर्न आवश्यक छ। स्वयंसेविकाहरुलाई सेवाबाट बिदाई गर्दा नेपाल सरकारले २० हजार रुपैंया दिने गरेको पनि २० वर्ष पुगिसकेको छ। २० वर्ष देखि त्यही २० हजारमा उनीहरुको बिदाई हुने गरेको छ भन्नु लज्जा विषय हो भन्ने मलाई लाग्छ।
सरकारको यस कार्यले महिला स्वास्थ्य स्वयंसेविकाको मनोबल गिराएको छ। एक प्रकारले भन्नुपर्दा यो महिला स्वास्थ्य स्वयंसेविकाहरुमाथि भएको श्रम शोषण पनि हो। आफ्नो घर परिवारकोसमेत बेवास्ता गरेर सामाजिक सेवा खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अवकाशपछि कम्तिमा पनि केन्द्र सरकारले एक लाख रुपैंया दियोस् भन्ने सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाको तर्फबाट मेरो माग छ।
लामो समयको आन्दोलन तथा संघर्ष पश्चात् कतिपय स्थानीय निकायहरुले सेवाबाट अवकाश भएपछि २ लाख रुपैंयाका दरले महिला स्वास्थ्य स्वयंसेविकालाई दिएका छन्। यद्यपि देश सबै स्थानीय तहहरुमा यो लागू भएको छैन। म महानगर अन्तर्गत कार्यरत्त भएकोले लामो समयको संघर्षपछि हामीले यस कार्यक्रमलाई नीतिमा नै पार्न सफल भएका छौं। तर सबै स्थानीय निकायहरुको अवस्था भने त्यस्तो छैन।
आफ्नो घरपरिवारको प्रवाह नगरी छोराछोरीका लागि समेत समय व्यवस्थापन गर्न नसके पनि समाजको सेवामा खटिएका हामीहरुलाई राज्यले २० हजार रुपैंयामा टार्दाे घरपरिवारबाट समेत हामीले विभिन्न प्रकारका लान्छना सहनु परेको छ। स्वास्थ्य क्षेत्रका अन्य शीर्षकहरुमा बजेट छुटिँदा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि कुनै बजेट छुटिँदैन। कोरोना महामारी, डेंगु लगायत जुनसुकै प्रकारको महामारीको समयमा होस् महिला स्वास्थ्य स्वयंसेविकाले समाजको अग्र स्थानमा रहेर सेवा गरिरहेका छन्। तर त्यसको सही मुल्यांकन राज्यको तर्फबाट हुन सकेको छ्रन।
सरकारले महिला स्वास्थ्य स्वयंसेविका निर्देशिका बनाउँदा एक जना पनि प्रतिनिधि हाम्रो तर्फबाट सहभागी समेत गराएको छैन। यस निर्देशिका बनाउँदा हाम्रा प्रतिनिधि समेत सहभागी हुन् भन्ने मेरो माग छ। महिला स्वास्थ्य स्वयंसेविका रणनीति कसरी बनाउने भन्नेमा हामीसँग पनि सरकारले सल्लाह लिनु आवश्यक छ।
आजकाल विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुविधा पनि महिला स्वास्थ्य स्वयंसेविकाहरु सेवाको २० वर्ष हुँदा पनि उक्त सुविधा पाउनबाट बन्चित रहेको अवस्था छ।
स्वास्थ्य क्षेत्रलाई उपेक्षा गरेर नेपालले दिगो विकासको लक्ष्य प्राप्त गर्न सक्दैन भन्ने मलाई लाग्छ। त्यसैले समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि महिला स्वास्थ्य स्वयंसेविकाको योगदानलाई समेत राज्यले कदर गर्नेपर्छ।
(२० औं महिला स्वास्थ्य स्वयसेविका दिवसका अवसरमा स्वयंसेविका स्वीकृता थिङले राखेको मन्तव्यको सम्पादित अंश, थिङलाई दिवसका अवसरमा सम्मान गरिएको थियो।)