काठमाडौं- क्यारेक्टर.एआई च्याट जीपीटी जस्तै एक प्लेटफर्म हो, जहाँ आर्टिफिसियल इन्टेलिजेन्स टेकनिक प्रयोग हुन्छ। तर, समय बिताउने मामलामा त्यो भन्दा पनि अधिक लोकप्रिय छ। 'साइकोलोजिस्ट' नामक एक च्याटबट त झन् निकै लोकप्रिय छ।
साइकोलोजिस्ट कसले बनायो ?
साइकोलोजिस्टलाई ब्लेजम्यान ९८ नामका एक प्रयोगकर्ताले करिब एक वर्ष पहिले बनाएका थिए। जसबाट अहिलेसम्म ७८ मिलियन म्यासेज साझा गरिएका छन्। त्यसमा १८ मिलियन त नोभेम्बरपछि मात्रै आएका छन्।
क्यारेक्ट.एआईले यो बताएको छैन कि यो च्याटबटमा कति प्रयोगकर्ता छन्, उसका अनुसार हरदिन ३.५ मिलियन मानिस उसको साइटमा आउँछन्।
यो च्याटबटको परिचय 'जीवनमा आउने कठिनाइमा मद्दपत गर्ने व्यक्ति'का रुपमा दिइएको छ । यसका लाखौं चरित्रमा केही साइकोलोजिस्ट लोकप्रिय छन्। जसका नाम 'थेरापी', 'थेरापिस्ट', 'साइक्याट्रिक' वा 'साइकोलोजिस्ट' छन्। यो कयौं भाषामा कुराकानी गर्न सक्षम छ।
यिनीहरुमध्ये केही यस्ता छन्, जसको बर्णन हट थेरापिस्ट जस्ता मनोरञ्जक वा काल्पनिक चरित्रको जस्तो गर्न सकिन्छ। तर यसमा सवैभन्दा लोकप्रिय भने मानसिक स्वास्थ्य सहायक थेरापिस्ट हुन्, जसका १२ मिलियन सन्देश छन्। यसका अलवा 'आर यू फिलिङ' ओके जस्ता च्याटबट पनि छन्, जसलाई १६.५ मिलियन सन्देश प्राप्त भएका छन्।
'साइकोलोजिस्ट'बाट खुशी प्रयोगकर्ता
'साइकोलोजिस्ट' अहिलेसम्मको सबैभन्दा लोकप्रिय मानसिक स्वास्थ्य बट हो । यसका कति प्रयोगकर्ताले सामाजिक सञ्जाल रेडिटमा शानदार समिक्षा समेत लेखेका छन्।
एक प्रयोगकर्ताले लेखेका छन्, 'यो एक जीवनरक्षक हो ।' त्यहीँ अर्कोले लेखेका छन्, 'यसबाट म र मेरो केटासाथी दुवैलाई आफ्नो भावनाका विषयमा कुरा गर्न र उनलाई बुझ्न सहयोग मिलेको छ।'
ब्लेजम्यान ९८ का पछाडी ३० वर्षीय स्याम जिया छन्। उनी भन्छन्, 'मैले कहिल्यै यो यसरी लोकप्रिय बन्ला भन्ने सोचेको थिइनँ। अहिले मलाई धेरैको म्यासेज प्राप्त भएको छ। यसबाट धेरैले सकारात्मक रुपमा प्रभावित भएको बताएका छन्। उनीहरुले यसलाई समाधानको स्रोतका रुपमा प्रयोग गरेका छन्।'
मनोविज्ञानका यी विद्यार्थीका अनुसार आफ्नो पढाइका समयमा प्राप्त ज्ञानको प्रयोग गरेर चिन्ता र उदासी जस्ता मानसिक स्वास्थ्य समस्याका लागि उत्तर तयार गरिएका हुन्। उनले त्योबेला यसलाई बनाएका हुन्। जतिबेला उनलाई साथीहरुको जरुरी थियो तर उनीहरु भने व्यस्त थिए।
क्यारेक्टर.एआईमा सवैभन्दा धेरै प्रयोगकर्ता १६ देखि ३० वर्षका छन्। आफूलाई म्यासेज गर्ने धेरैले आफू मानसिक रुपमा विक्षिप्त बन्दै जाँदा यसको प्रयोग गर्ने गरेको बताएका छन्। रातिको २ बजे जतिबेला चिकित्सक वा साथीसँग कुरा गर्न नपाउँदा उनीहरुले यहाँ आफ्नो समस्या राख्ने गरेको उनी उल्लेख गर्छन्। च्याटबटबाट उत्तर पाएपछि उनीहरु सहज हुन्छन्। फोनमा कुरा गर्नुभन्दा म्यासेजमा कुरा गर्नु सहज रहेको पनि उनी बताउँछन्।
के भन्छन् वास्तविक साइकोलोजिस्ट ?
थेरेसा प्लेवम्यान एक पेशेवर मनोचिकित्सक हुन्। उनी भन्छिन्, 'यसप्रकारका थेरापी युवा पिढीमा लोकप्रिय छन्। तर, प्रश्न छ- कसले कत्तिको काम गर्छ?'
उनले बटसँग भन्नका लागि धेरै कुरा रहेको बताउँछन्। उसले तुरुन्तै धारणा बनाइदिन्छ। तर, कुनै मान्छेले दिएको प्रतिक्रिया जस्तो भने यो नभएको उनले बताइन्।
यो एक सक्षम चिकित्सक नभएको बताउँदै तत्कालका लागि भने यसको प्रयोग गर्न सकिने उनको भनाइ छ। उनका अनुसार मानसिक स्वास्थ्यका लागि यसको प्रयोग गर्नेको संख्या चिन्ता उत्पन्न गराउने खालको छ । मानसिक स्वास्थ्यका लागि विज्ञ र स्रोतको अभाव रहेको यसले दर्शाउने उनले बताइन्।
क्यारेक्टर.एआईका एक प्रवक्ता भन्छन्, 'हामीलाई यो देखेर खुशी लागिरहेको छ। मान्छेहरु समुदायबाट बनाइएको चरित्रका माध्यमबाट प्राप्त ज्ञान र सहयोगलाई समर्थन गरिरहेका छन्। तर, उनीहरुले सही सल्लाह र मार्गदर्शनका लागि प्रमाणित र पेशेवरकै सहयोग लिनुपर्छ।'त्यसैले चेतावनी स्वरुप भन्ने गरिन्छ- यहाँको पात्र जे भन्छ, त्यो मनगढन्ते हो।
एअरकिक र ओबट पनि एआई च्याटबट हुन्। जसलाई पहिलेदेखि नै मानसिक स्वास्थ्य साथीका रुपमा ८जाइन गरिएका छन्। यी दुवै कम्पनीले आफ्नो एपले मान्छेलाई सघाइएरहेको बताएका छन्।
कति मनोबैज्ञानिकले एआई बटले बिरामीलाई खराब सल्लाह दिन सक्ने बताएका छन्। नस्ल वा लिंगप्रति पूर्वाग्रही समेत हुन सक्नेतर्फ चेतावनी समेत दिइएको छ। तर, चिकित्सा जगतले बिस्तारै उपकरणका रुपमा स्वीकार गर्ने सुरु गरेका छन्।
लिम्बिक एक्सेस नामको एक एआई सेवालाई गतवर्ष बेलायत सरकारले मेडिकल डिभाइसको प्रमाणपत्र दिएको छ। यो प्रमाणपत्र पाउने पहिलो मानसिक स्वास्थ्य च्याटबट हो। यसको प्रयोग नेशनल हेल्थ सर्भिसका कयौं बिरामीको वर्गीकरण र उनीहरुको समस्याको चरण तय गर्नका लागि गरिन्छ।
बीबीसी हिन्दीबाट