जाडो महिनामा प्राय: बिरामी चिसो पानी खाँदा दाँत सिरिङ-सिरिङ भयो भन्ने गुनासो लिएर आउँछन्। गिँजामा फोहोर जम्मा भएर यस्तो समस्या आएको हो। अर्कोचाहिँ गिजा तल सर्दै जानाले पनि यस्तो हुन्छ । दाँतमा इनामेल र डेन्टिङ भागहरू हुन्छन्। यदि त्यो भन्दा तलको तह बाहिर निस्किँदा सिरिङ-सिरिङ हुने समस्या आउँछ। जाडो महिनामा चिसो पानी खाँदा बिरामीहरूलाई अलि बढी सेन्सेटिभ भएजस्तो महसुस हुन्छ।
गिजामा लेउ लाग्ने समस्या
गिजामा आउने मुख्य समस्या दन्त लेउ जम्दै जानु हो। त्यसले विस्तारै गिँजामा असर पार्दै गर्छ। गिजाबाट सर्दै-सर्दै हड्डीमा असर पार्छ । तलको लेउ हड्डीसम्म पुगेर दाँतहरू खिइने खालका समस्या लिएर आउँछन्।
जसरी ढुंगामा लेउ लाग्छ, त्यसरी नै हामीले खाएपछि दाँतमा लेउ बस्छ। यसका लागि दिनमा दुई पटक दाँत माझ्नै पर्छ। दाँत ब्रस गर्न पनि सही तरिका जान्नुपर्छ । नत्र ब्रस गर्दा पनि लेउ लाग्ने समस्या भएको पाइएको छ। राम्रोसँग ब्रस गरेन भने दन्त लेउ जम्मा हुँदै गएर पत्थर जस्तो बन्छ। त्यसलाई हामी क्याल्कुलस भन्छौँ। त्यो जम्मा हुँदै गएर दन्त लेउमा भएका ब्याक्टेरियाहरूका कारण गिजामा असर हुँदै जान्छ। त्यो हड्डीेसम्म पुगेर खिइँदै जान्छ। हड्डी कमजोर भएपछि दाँत हल्लिन्छ।बच्चाहरूमा त्यति धेरै लेउ जम्दैन। वयस्क हुँदै जाँदा गिजा सर्दै जाने र खिइने हुन्छ।
जोगिन के गर्ने ?
यसबाट बच्न हामीले दिनमा दुईपटक राम्रोसँग ब्रस गर्नुपर्छ। त्यसबाहेक दाँतको बीच बीचको भागमा ब्रसले पनि हुँदैन। त्यसका लागि डेन्टल फ्लस गर्नु जरुरी हुन्छ। त्यसबाहेक सिरिङ-सिरिङ हुने समस्या छ भने डिसेन्सिटाइजिङ पेस्टहरू हुन्छन्।
कतिसम्म गिजामा असर परेको छ, त्यसअनुसार फरक-फरक किसिमका उपचार छन्। गिजाबाट रगतमात्र आइरहेको छ, हड्डीहरूमा असर परेको छैन भने त्यसलाई सामान्यतया सफा अर्थात् डिपस्केलिङ भन्छौँ। त्यति गर्दा बिरामीहरूलाई राहत हुन्छ। त्यसबाहेक गिजाको पकेट नाप्दा यदि प्रोभ गहिरो छ भने सामान्य स्केलिङ गरेर मात्र हुँदैछ। त्यसमा चाहिँ गिजा पल्टाएर भित्रैबाट सफा गर्नुपर्ने हुन्छ। त्यसलाई फ्ल्याब सर्जरी भनिन्छ। हड्डीहरू खिइएको छ भने फ्ल्याब सर्जरीमा बोन ग्राफ्टहरू हाल्ने, मिमडिनहरू हाल्ने पनि गर्न सक्छौँ। अथवा अहिले लेजहरूको प्रयोग पनि गर्न सकिन्छ। त्यो ट्रिटमेन्ट मोडालिटीमा पर्छ।
मुख्य ब्रस , फ्लस, माउथ वास प्रयोग गर्नुपर्ने हुन्छ्। त्यसबाहेक ६/६ महिनामा दाँतमा के समस्या छ सोही अनुसार डेन्टल चेकअप गराइराख्नुपर्छ। सामान्य ब्रसिङ र फ्लसिङबाट पनि धेरै समस्याबाट जोगिन सक्छौँ।
यदि रोग लागिहालेमा उपचारका विभिन्न तरिकाहरु छन्। सुरुमा केही खानेकुरा टोक्दा गिजामा रगत आउने बितिक्कै मेरो गिजामा समस्या छ भनेर सचेत हुनुपर्छ। परामर्शका लागि जानुपर्छ। कतिपय बिरामी भन्नुहुन्छ– गिजामा समस्या आएको थियो। तर कुल्ला गरेर ठीक भयो। म देखाउन आइनँ।
एकपटक तपाईंको दाँतमा किरा लागेपछि एकदमै दुखाइ हुन्छ। तर त्यो भन्दा फरक चाहिँ गिजामा वा हड्डीमा समस्या छ भने मन्दमन्द मात्र दुखाइ हुन्छ। त्यही भएर बिरामीलाई कुल्ला गरेर निको भयो भन्ने हुन्छ। तर पहिलो लक्षण भनेकै गिजाहरूबाट रगत आउनु हो । त्यस्तो समस्या आएमा चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ।
(गिजारोग तथा दन्त प्रत्यारोपण विशेषज्ञ डा भट्टराई हिमाल डेन्टल अस्पताल चाबहिलमा कार्यरत छिन्।)