अस्पतालमा बिरामीहरु श्वासप्रश्वासका विभिन्न समस्याहरु लिएर आउने गर्छन्। मेरो उपचार अनुभवमा त्यसमध्ये धेरै जस्तो बिरामीहरु श्वास फेर्न ग्राहो भइरहेको, दम बढेको, सास अड्कीएको जस्तो अनुभव भएको भन्दै ओपीडी तथा इमर्जेन्सीमा आउने गरेका छन्। यस्ता समस्या लिएर आउने कतिपय बिरामीहरुको उपचार छोटो समयमा नै सम्भव हुन्छ भने कतिपयको उपचार प्रक्रिया लामो हुने गर्छ।
किन बढ्छ श्वास?
श्वासप्रश्वास एक्कासी बढ्नुका प्रमुख कारण फोक्सोसम्बन्धी रोग हो। त्यस्तै मुटु रोगी, रगतमा हेमोग्लोबिनको मात्रामा कमी हुँदा,मिर्गौलासम्बन्धी रोगका कारण,मानसिक समस्या भएका व्यक्तिहरु,शारीरिक रुपमा कमजोर हुँदा मानिसमा एक्कासी सास बढ्ने समस्या आउन सक्छ। शरीरमा अक्सिजनलाई भित्र लैजाने तथा कार्बनडाइअक्साइडलाई बाहिर फाल्ने काम मानव शरीरमा फोक्सोले गर्ने गर्छ। फोक्सोको कुनै पनि प्रकारको रोग जस्तै निमोनिया, फोक्सोबाहिर पानी जम्मा हुने समस्या,दीर्घ दम तथा एलर्जी दम लगायतको समस्या हुँदा सास बढ्नेगर्छ। दीर्घ दमको समस्या भएका व्यक्तिहरुलाई लामो समयदेखी श्वासप्रश्वासमा समस्या भइरहेको हुन्छ।
फोक्सोमा समस्या भएको कसरी थाहा पाउने?
बिरामीलाई दम बाहेक घ्यारघ्यार भइरहनु ,छातीको कोखा दुख्नु तथा खोकी लाग्दा खकार आउने गरेमा फोक्सोमा समस्या भएको शंका चिकित्सकहरुले गर्छन्। यद्यपि सबै प्रकारका फोक्सोका रोगहरुमा एकै प्रकारको लक्षण देखापर्छ भन्ने चाहि हुँदैंन। यस्तो अवस्थामा चिकित्सकसँगको परामर्शमा छातीको एक्सरे गर्नुपर्ने हुन्छ।
श्वासप्रश्वास बढ्नुका केही कारणहरु निम्नानुसार प्रस्तुत गर्न सकिन्छ
मुटुमा समस्या भएमा
यदि मुटुले राम्रो रगत पम्प गर्न सकेन भने त्यस्तो अवस्थामा श्वासप्रश्वासमा समस्या हुने गर्छ। मुटुले राम्रोसँग रगत पम्प गर्न नसकेको अवस्थामा रगत फोक्सोतिर नै फर्कने हुनाले फोक्सोमा रगत जम्मा हुनेगर्छ, जसकारण बिरामीलाई श्वासप्रश्वासमा समस्या हुनेगर्छ।
विशेषगरी मुटु रोगीहरुमा सुरुवाती दिनहरुमा उकालो ओरालो हिँड्दा स्याँ-स्याँ हुने गर्छ। मुटु एकदमै बिग्रिएको अवस्थामा भने बिरामी निन्द्रामा नै स्याँ-स्याँ गरेर उठ्ने गर्छन्। यसबाहेक थकित महसुस हुने, मुटु ढुकढुक हुने,एक्कासी चक्कर आएजस्तो हुने,छाती दुख्ने जस्ता लक्षणहरु समेत देखिन सक्छन्।
यदि कसैलाई यस प्रकारको समस्या देखिएको पत्ता लागेमा चिकित्सकको सल्लाह बमोजिम इकोकार्डियोग्राफी, इसिजी लगायतका परीक्षण आवश्यक पर्छ।
रक्तअल्पताका कारण
एक वयस्क मानिसमा कम्तिमा १२ देखि १३ पोका रगत हुन आवश्यक छ। आन्द्रामा जुका पर्नु, रक्तस्राव हुनु तथा विभिन्न कारणहरुले कहिलेकाही मानिसको शरीरमा रगतको मात्रामा कमी हुन सक्छ। शरीरमा रगतको मात्रामा कमी चाँडै थकित महसुस हुने, स्याँ-स्याँ हुने, उकालो ओरालो हिँड्दा गल्ने जस्ता समस्याहरु देखा पर्ने गर्छन्। रक्तअल्पताका कारण श्वासप्रश्वासमा समस्या आउँदा आराम गरेपछि निको हुने गर्छ। यदि कसैलाई सामान्य हिँड्दा समेत श्वासप्रश्वासमा समस्या आएको महसुस भएमा चिकित्सकको सल्लाहबमोजिम रगतको मात्रा परीक्षण गर्नु आवश्यक हुन्छ।
मिर्गौला रोगका कारण
मिर्गौला रोग तथा त्यसका कारण डायलाइसिस् गर्नुपर्ने अवस्थामा शरीरमा पानीको मात्रा बढ्ने गर्छ। उक्त बढेको पानीको मात्रा फोक्सोमा गएर बस्दा श्वासप्रश्वासमा समेत समस्या आउने गर्छ। मिर्गौला तथा मुटु रोगका कारण हुने स्याँ स्याँ करिब एकै प्रकृतिका हुन्छन्। त्यस्तै मिर्गौला रोगका कारण पिसाब नै नहुने,शरीर कालो हुँदै जाने,खानेकुरा नपच्ने तथा वाकवाकी हुने जस्ता लक्षणहरु देखा पर्ने गर्छन्।
मानसिक रोगका कारण
हामी कहाँ कतिपय बिरामीहरु कलिलै उमेरमा श्वासप्रश्वासको समस्या भएर आइपुग्ने गर्छन्। हामीसँगको परामर्शमा उहाँहरुले हिँड्दा घुम्दा श्वासप्रश्वासमा कुनै समस्या नहुने तथा आराम गरेर बस्दा ग्राहो हुने गरेको बताउने गर्नुहुन्छ। सुत्दा श्वास एक्कासी बढेको तथा घाँटीमा केहीले थिचेको जस्तो महसुस हुने उहाँहरुले बताउनुहुन्छ। प्राय एन्जाइटीको कारणले श्वासप्रश्वासमा यस्तो प्रकारको समस्या आउने गर्छ। एन्जाइटीको कारण श्वासप्रश्वासमा समस्या हुँदा काम गर्दाे केही ठीक भएको अनुभव हुन्छ भने त्यतिकै बसिरहेको अवस्थामा श्वासप्रश्वासमा समस्या हुने गर्छ। कतिपय एन्जाइटीका बिरामीहरुलाई भीडभाडमा जाँदा ग्राहो हुने,बन्द कोठामा बस्दा अप्ठ्यारो हुने जस्ता समस्याहरु देखिन सक्छन्। त्यसैले श्वासप्रश्वास बढ्नुको कारण शारीरिक समस्या मात्र होइन।
कतिपय बिरामीहरु आफूमा श्वासप्रश्वास बढ्ने समस्या भएको तर चिकित्सकको उपचारले समेत ठीक नभएको भन्दै हामी कहाँ आइपुग्ने गर्छन्। मानसिक समस्या भएका बिरामीलाई यस्तो हुने गर्छ। पछिल्लो समय वैदेशिक रोजगारीमा गएका मानिसहरुमा एन्जाइटीको समस्या देखिने गरेको छ। एन्जाइटीका कारण श्वासप्रश्वासमा समस्या आएको अवस्थामा विभिन्न प्रकारका योगा तथा ध्यान गरेर त्यसलाई कम गर्न सकिन्छ।
(धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागमा कार्यरत डा शाहसँग स्वास्थ्यखबरकी लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित।)