नर्स करिश्मा पाण्डे विगत ८ वर्षदेखि ट्रमा सेन्टरमा कार्यरत छिन् । पुर्ख्यौली घर बैतडी रहेकी उनी काठमाडौंलाई कर्मथलो बनाइरहेकी छन्। नर्स बन्नुका कारण, यस पेशामा रहेका विद्यमान चुनौती, नर्सका रुपमा काम गर्दाे भोग्नुपरेका दु:ख तथा यस पेशासँग सम्बन्धि विभिन्न कुराहरुलाई पाण्डेले स्वास्थ्य खबरसँग यसरी साटेकी छन् :
मेरो पुरानो घर बैतडी हो अहिले कोटेश्वरमा बस्छु। एक दशकदेखि म नर्सिङ पेशामा छु । २०७१ सालमा नर्सिङ पास गरेपछि करिब एक वर्ष गृह जिल्ला बैतडीमै काम गरें । काठमाडौंमा काम गर्न थालेको भने ८ वर्ष भएको छ। सानैदेखिको मनपरेको पेशा भएकोले होला कठिनाईको सभएपनि आफ्नो पेशाबाट आनन्द लिइरहेको छु।
यस पेशामा दुःख भएपनि मानव सेवामा आफूलाई तल्लीन राख्न पाउँदा आनन्द महसुस गरिरहेको हुन्छु। बिरामीले नर्स र डाक्टरहरुलाई हेर्ने दृष्टिकोणमा धेरै नै फरक पाएको छु।
डाक्टरहरुको गल्तीमा समेत बोल्न नसक्ने बिरामी तथा बिरामीका आफन्तहरु गल्ती जति सबै नर्सको टाउकोमा हालिदिने गर्छन् । उनीहरु नर्सले गल्ती नगर्दा पनि गल्ती गरेको आरोप लगाउन पछि पर्दैनन्।
सरकारी अस्पतालमा नर्सहरु भएपनि दरबन्दी पर्याप्त रहेको अवस्था छैन । जसकारण एकै नर्सले २० देखी ३० जनासम्म बिरामीको हेरचाह गर्नुपर्ने हुन्छ । त्यसमध्ये २० जना बिरामीको अवस्था गम्भीर हुने हो भने नर्सले बिरामीले चाहेकै समयमा उपचार सेवा दिन सक्दैनन्।
बिरामीलाई भनेकै समयमा औषधि दिनका लागि नर्सहरुले १ घन्टा अगाडि नै सुरु गर्नुपर्ने हुन्छ । बिरामीले नर्सको ठाउँमा रहेर सोचिदिएमा नर्स–बिरामीको सम्बन्धमा चिसोपना आउँदैनथ्यो।
अविस्मरणीय त्यो घटना
४ वर्षअघिको कुरा हो । त्यतिबेला म ट्रमा सेन्टरकै न्यूरो स्पाइन वार्डमा कार्यरत थिएँ। उक्त वार्डमा ११ वर्षिया बालिका बोन क्यान्सरका कारण ३ महिनादेखि नै उपचारत थिइन्।
ती बालिका बिरामीसँग मसँग एकदमै खुसी थिइन् । मेरो छुट्टी भएको दिन कि नआएको भन्दै फोन समेत गर्थिन् । उनी मलाई आफ्नै बहिनीजस्तो लाग्थ्यो । उनको क्यान्सर अन्तिम चरणमा पुगिसकेको थियो । निको नै नहुने अवस्थामा पुगिसकेकी थिईन्। शरीरभरि नै क्यान्सर फैलिसकेको हुनालाई उनलाई ज्यादै नै पिडा अनुभव हुने गरेका कारण कहिलेकाही प्यालेटिभ केयर सेन्टर समेत जान्थिन्।
उनी ज्यादै मायालु भएको कारण हामीले उनको जन्मदिन समेत अस्पतालमा मनाएका थियौं । ‘मलाई पनि हजुरजस्तै नर्स बनेर बिरामीको सेवा गर्ने इच्छा छ’ भनिरहन्थिन्।
एक्कासी ती बहिनीको मृत्यु भएको घटनाले मलाई अहिलेसम्म पनि पीडा महशुुस हुन्छ । हामी उनको दाहसंस्कार पनि गएका थियौं ।
उनले मृत्यु हुनुभन्दा केही बेर अगाडि पनि मलाई फोन गरेर भन्दै थिइन्, ‘दिदि मलाई एकदमै गह्रो भयो।’ त्यो आवाज अझै पनि मेरो कानमा गुञ्जिरहन्छ । ती नानी मेरो जीवनकी एक अविस्मरणाीय पात्र नै बनेकी छन्।
अविवाहित हुँदासम्म मलाई पेशाका कारण पारिवारिक जीवनमा खासै प्रभाव पर्दैन भन्न लाग्थ्यो । विवाहित भएपछि नर्सिङ पेशालाई अगाडि बढाउन एकदमै कठिन हुने रहेछ भन्ने महशुस हुन थालेको छ।
कतिपय पारिवारिक जमघटका समयमा समेत परिवारसँगै रहन नसक्दा परिवारबाट गुनासो समेत आउने गर्छ। कतिपय सँगै काम गर्ने नर्सहरु परिवारका सदस्य तथा छोराछोरी बिरामी हुँदा समेत रुँदै ड्युटीमा आउने गर्नुहुन्छ, त्यसले मलाई एकदमै भावुक बनाउने गर्छ।
नर्स नभएको भए इन्जिनियर बन्थें
म आफू स्वेच्छाले नर्स भएको । नेपाली समाजमा नर्सलाई हेर्ने दृष्टिकोण तथा यहाँ विद्यमान राजनीतिक परिस्थितीका कारण मलाई कहिलेकाहिँ नर्स नभएर इन्जिनियर बनेको भए हुन्थ्यो भन्ने लाग्छ।
सँगै पढेका कतिपय साथीहरुले अन्य पेशामा राम्रै गरिरहेको देख्दा पछुतो समेत हुन्छ। कतिपय पेशामा सुरुमा प्रवेश गर्दाको समयमा विभिन्न प्रकारका तालिमहरु दिने गरिन्छ, नर्स पेशामा त्यस्तो व्यवस्था छैन । एक्कासी बिरामीको उपचारमा खट्नुपर्दा नर्सहरुलाई गाह्रो हुन्छ ।
पेशागत दक्षता बढाउने तालिम लगायत कुनैपनि प्रकारको मोटिभेसन नहुनाले कहिलेकाहिँ मनमा विदेश जानुपर्छ कि भन्ने सोचाइ समेत आउने गर्छ। सबै विदेशिए नेपालका लागि कसले गर्छ भन्ने सोचाइले यही बसिरहेकी छु । हामीलाई दुःख भएपनि आउने पिँढीले यस्तो अवस्थाको सामना गर्न नपरोस् भन्ने सोचाइ छ। त्यसैले हामीजस्ता नर्सहरु विदेश नगएर नेपालमै बिरामीको सेवासँगै हकहितका लागि लड्नुपर्छ।
नर्स बन्न आमाबाटै प्रेरणा पाए
मेरो ममी पनि नर्स हो । उहाँले परिवारको महत्वपूर्ण जिम्मेवारी बहन गर्दै समाजका लागि गरेको मानवीय सेवाबाट म सानैदेखि प्रभावित भए।त्यतिबेला बैतडीको दुर्गम गाउँमा चिकित्सक पाइदैन थियो। चिकित्सकका रुपमा नर्सले नै काम गर्थे । मेरो ममीले समाजका धेरै मानिसहरुलाई मृत्युको मुखबाट फर्काएर ल्याउँदा धेरै मानिसहरु उहाँप्रति कृतज्ञ हुने गर्थे । मानव सेवा भन्दा ठूलो कुनै पनि धर्म छैन भन्ने कुराको छाप मलाई सानै उमेरमा परेको थियो, जसकारण म नर्स बन्नका लागि प्रेरित भएँ।
यस पेशामा रहेका दुःखका तथा चुनौतीबारे ज्ञान हुँदाहुँदै पनि मानव सेवा गर्ने इच्छा भएकाले नर्स बनें । आफूले गरेको कामले कसैको जीवनमा खुसी फर्काउन सकिन्छ भने किन नगर्ने भन्ने सोचाईले मलाई नर्स बनायो।
सरकारले निजी अस्पतालमा समेत नर्सको तलब तोक्नुपर्छ
पछिल्लो समय सरकारी अस्पतालमा कार्यरत नर्सहरुको सेवा सुविधा सन्तोषजनक नै छ। तर, निजी अस्पतालमा भने नर्सहरुको अत्याधिक श्रम शोषण हुने गरेको छ।
यसका लागि सरकारले निजी अस्पतालमा समेत नर्सहरुको तलब तोकेर दक्ष तथा सीपयुक्त जनशक्ति विदेशिने क्रमलाई रोक्नुपर्छ। कामअनुसार तलब र सामाजिक सुरक्षा नहुँदा नर्सहरु पेशाप्रति उत्साहित हुने अवस्था हुँदैन । त्यसैले नर्सहरुले स्वदेशमा नै काम गर्ने वातावरणका लागि नीति निर्माण तहबाट नै काम हुनु आवश्यक छ।
देश संघीयता गएपनि स्वास्थ्य क्षेत्रका कतिपय नीतिहरु पुरानै रहेकोले स्वास्थ्यकर्मीको दरबन्दी समेत थप नगरिएको अवस्था छ । यसका लागि सरकारी स्तरबाट नै काम हुनुपर्छ भन्ने मलाई लाग्छ।
पेशागत चुनौती
नर्सिङको मुख्य चुनौती नै बिरामी–नर्सको अनुपात नमिल्नु हो। नेपालका नर्सहरुले अत्याधिक चापमा काम गर्नुपर्ने अवस्था छ। बिरामीले चाहे अनुसारको सेवा समयमा पाउन नसक्दा स्वास्थ्यमकर्मी माथि हातपातका घटना बाहिर आउने गर्छन्।
त्यस्तै पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीहरु उपलब्ध नभएको अवस्थामा नेपालका नर्सहरु काम गर्न बाध्य छन्। जसले गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको हकमा चुनौती खडा गरेको छ।
नयाँ नयाँ आविष्कार तथा प्रविधिमैत्री तालिमहरुको व्यवस्थापन हुन नसक्दा समेत सेवा प्रवाहमा चुनौती थपिएको छ। प्रोत्साहन भत्ता समय अनुसार परिवर्तन हुन नसक्दा नर्सहरुको मनोबल गिर्दै गएको अवस्थामा छ।