डा सुदीप श्रेष्ठ विज्ञका रुपमा नेपालको क्यान्सर उपचारमा मात्रै सक्रिय छैनन्, नेपालीको सम्पूर्ण क्यान्सर उपचार नेपालमै सम्भव तुल्याउने अभियानमा समेत लागेका छन्। भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युटबाट क्यान्सरमा विशेषज्ञता हासिल गरेपछि नेपाल फर्किएका उनले भक्तपुर क्यान्सर अस्पतालमा सेवा र नेतृत्व गरेपछि आफ्नै सक्रियतामा नेपाल क्यान्सर अस्पताल खोलेका हुन्। जसको फाउन्डर तथा अध्यक्ष रहेका डा श्रेष्ठसँग क्यान्सर उपचारमा भइरहेको प्रगति, पहुँच, क्यान्सर र यससँग जोडिएका भ्रम लगायतका विषयमा डिबी खड्काले गरेको संवाद:
तपाईंको अस्पतालको स्लोगन छ– ‘नेपालीको क्यान्सर उपचार नेपालमा नै’। सबै प्रकारको क्यान्सरको उपचार नेपालमै सम्भव छ त?
अहिले प्रायः उपचार नेपालमै सम्भव छ। कुनै विशेष केसमा बाहेक आजको दिनमा कुनै पनि क्यान्सरका बिरामी नेपाल बाहिर जान पर्दैन। नेपालमा निदानका केही प्रविधि भित्रिएको छैनन्। तर संसारको कुनै पनि कुनामा नमुना पठाएर रिपोर्ट हासिल गर्ने काम हामीले गरेका छौं।
विश्वमा अहिले प्रयोगमा रहेका प्रणाली, प्रविधि र पद्धति नेपालमा उपलब्ध छन् त?
धेरैमा हुने क्यान्सरको उपचारका लागि प्रयोग हुने प्रणाली र प्रविधि नेपालमै उपलब्ध छन्। रेडियोथेरापी, केमोथेरापी र सर्जरी लामो समयदेखि छन्। अहिले क्यान्सरमा तार्गेटेड थेरापी र इम्युनो थेरापी पनि प्रयोग भइरहेका छन्। पहिले केमोथेरापी दिँदा क्यान्सर सेललाई मात्रै होइन, अन्यलाई पनि असर गथ्र्याे। शरीरका अन्य अंगलाई पनि हानि गर्ने सम्भावना हुन्थ्यो। त्यो भने छर्राले मार्ने जस्तै हो। तार्गेटेड थेरापी मिसाइल जस्तो हो। प्रविधिका सहायताले ट्युमर र रगतबाट कोषिका निकालेर त्यसमा कुन जिनमा खराबी रहेको छ भन्ने हेरिन्छ। त्यसैले लक्षित गरेर औषधि प्रयोग गरिन्छ। त्यो औषधि ट्याबलेट र इन्जेक्सनबाट दिइन्छ। अर्काे हामीसँग प्राकृतिक रुपमै रोगप्रतिरोधी क्षमता हुन्छ, जसले शरीरमा आएको नराम्रो प्रोटिनलाई मार्छ। त्यसैगरी शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सर सेललाई मार्न सकिन्छ। यो नेपालमा पनि प्रयोगमा छ। यही प्रविधिका कारण अहिले फोक्सोको क्यान्सरका बिरामी पनि पाँच वर्षदेखि १० वर्षसम्म बाँचिरहेका छन्। त्यसैले हामी अहिले भनिरहेका छौं, क्यान्सर मृत्युको पर्याय होइन। मधुमेह, उच्च रक्तचाप जस्तै दीर्घरोग हो। क्यान्सर कुनै बेला निको नहुँने अवस्थामा औषधि खुवाएर लामो समय बचाउन सकिन्छ। कानुनका कारण औषधि सहजै उपलब्ध गराउन भने गाह्रो भइरहेको छ।
नेपालमा क्यान्सर पत्ता ढिलो गरी लाग्ने वा कतिपय अवस्थामा यहाँ पत्ता नलाग्ने तर विदेशमा गएर पत्ता लागेको भन्ने बिरामीको गुनासो सुन्ने गरिन्छ। यी गुनासा सही हुन् वा अफवाह?
यी हामीले झेलिरहेका समस्या हुन्। नेपालमा मात्रै होइन, विकासोन्मुख देशमा बिरामी नै उपचारमा ढिलो आउने समस्या छ। समयमै क्यान्सर पत्ता लगाएर उपचार गर्न मानिसहरुमा जानकारी र पहुँच हुनुपर्छ। पहुँच र चेतनाको कमीले गर्दा यस्तो गुनासो आइरहेको हो।
हाम्रो जस्तो देशका बिरामी लक्षण देखिइसकेपछि अर्थात् तेस्रो र चौथो चरणमा प्रवेश गरेपछि मात्रै अस्पताल आइपुग्छन्। त्यसमा पनि हामी (नेपाली)को बानी अप्ठ्यारो परिसकेपछि उपचारका लागि जाने, सुरुमा नजिकको पसलबाट औषधि खाने र त्यसले पनि बिसेक नभएको अवस्थामा मात्रै क्यान्सरको उपचार हुने ठाउँ पुग्ने हुन्छ। निदानका उपकरण सबै ठाउँमा उपलब्ध हुँदैनन्। यसले पनि ढिलो हुने गरेको छ। सही ठाउँमा गयो भने निदान हुन्छ, उपचार हुन्छ र विदेश पनि जानु पर्दैन।
निश्चित ठाउँमा मात्रै क्यान्सर अस्पताल भएकाले पनि यस्तो भएको हो?
आमजनमा कुन ठाउँमा कस्तो प्रविधि र उपचार छ भन्ने थाहा छैन। हामीले जनचेतना गाउँमा पुर्याउन सकेका छैनौं। क्यान्सर भन्नेबित्तिकै मृत्यु हुने रोग भन्ने बुझाइ छ। त्यसैले पनि नेपालमा भन्दा सकेसम्म बाहिर गइहाल्ने गरेको पनि देखिन्छ।
विश्वका अन्य मुलुकको तुलनामा नेपालमा क्यान्सर उपचार महँगो रहेको पनि सुनिन्छ। क्यान्सरको उपचारमा घरबास नै जाने अवस्थाबाट कसरी राहत दिन सकिन्छ?
क्यान्सर महँगो उपचार हो। किनभने, उपचारका लागि बिरामी क्यान्सरको तेस्रो र चौथो चरणमा आउँछन्। स्वास्थ्य बीमा प्रणालीले यसलाई कभर गर्नुपर्छ। त्यस्तो नहुँदा धेरै बिरामी बीचमै बिचल्लीमा परेको देखेका छौं। निको हुने क्यान्सरहरु बढीमा १०÷१२ लाख हाराहारीको खर्चमा निको हुन्छन्। कुनै तीन लाखदेखि पाँच लाखमा समेत निको हुन्छन्। १० लाखसम्मको प्याकेज स्वास्थ्य बीमाले ल्याउन सक्यो भने बिरामीलाई राहत मिल्छ।
क्यान्सरका स्टेजहरु भनिन्छ। सामान्यता चार चरणमा विभाजन गरिएको पाइन्छ। ती चार चरणमा विभाजन गर्नुका मानक के–कस्ता हुन्छन्?
क्यान्सरका बिरामीहरुको जाँच गरेपछि चरण निर्णय गर्छौं। हाम्रो गाइडलाइन हुन्छ। सामान्य भाषामा बुझ्दा चार वटा स्टेजमा क्यान्सर हुन्छ। एउटा अंगमा सुरु भएर त्यही अंगमै रहेको छ भने पहिलो स्टेज हो। दोस्रो स्टेजमा त्यो ठूलो भएर झन्डै–झन्डै बाहिर निस्किने अवस्था हुन्छ। त्यसैगरी उक्त ट्युमर भएको अंगबाट बाहिर निस्किएको छ भने तेस्रो स्टेज भन्छौं भने एक अंग वा भागमा भएको ट्युमर सरेर अर्काे भाग वा अंगमा समेत पुगिसकेको अवस्थालाई हामी चौथो स्टेज भन्छौं।
अन्य रोगमा केही रुटिन जाँच गरेर रोग हुन सक्ने अवस्था थाहा लाग्छ। क्यान्सर हुनुभन्दा पहिले नै सम्भावित जोखिम थाहा पाउने उपाय के हो?
क्यान्सरको लक्षण हुँदैन। शरीरको एउटा भागमा सानो रुपमा हुन्छ। कतिपय अवस्थामा त्यसको आकार सानै हुन्छ तर अन्य भागमा फैलिसकेको हुन्छ। त्यसैले पूर्वानुमान गर्न गाह्रो हुन्छ। सबै खालका क्यान्सरका लागि त्यसको जोखिम पत्ता लगाउन गाह्रो छ। तर केही क्यान्सरमा भने सम्भावित जोखिम पत्ता लगाउन सकिन्छ। विदेशमा अहिले पाँच वटा क्यान्सरको आमजन माझ नै स्क्रिनिङ नै गरेर मृत्युदर घटाइएको पाइन्छ।
स्तन क्यान्सर, पाठेघर, स्किन ठूलो आन्द्रा र प्रोस्टेट क्यान्सरको जोखिम पत्ता लाग्छ। अहिले भन्ने गरिएको होलबडी चेकमा भने क्यान्सरको जाँच हुँदैन। क्यान्सर छ/छैन भन्ने हेर्नका लागि शरीरका अंगको हिस्ट्री लिनुपर्छ। वंशाणुगत लगायत जोखिम फ्याक्टर हेर्नुपर्छ र जाँच गरेको रिपोर्ट विश्लेषण गरेर फेरि उमेरजन्य जाँच गर्नुपर्छ। यति गर्दा पनि भित्री क्यान्सर रहस्यमै रहन सक्छ।
क्यान्सर कसरी उत्पन्न हुन्छ? शरीरका कोषिकामा आउने खराबी शरीरमा कसरी फैलिन्छ?
क्यान्सर जिन खराब भएर हुने हो। हाम्रो शरीरमा असंख्य कोषिका हुन्छन्। हरेक दिन मल्टिप्लाई हुन्छन् र मरिरहेका पनि हुन्छन्। एउटा सेलबाट अर्काे हुने क्रममा त्यसमा रहेको जिन पनि एउटाबाट दुइटामा विभाजित हुनुपर्छ। त्यस क्रममा कुनै न कुनै इरर हुन्छ। जति बढी क्रियाशील भयो त्यति नै बढी इरर हुने चान्स हुन्छ। यसरी हाम्रो शरीरमा डिएनएमा इरर हुन थाल्छ। प्रकृतिले नै त्यस्ता इरर करेक्सन मेकानिज्म बनाएको हुन्छ। मिलियन्स इरर केही घन्टामा करेक्सेन पनि गरिरहेको हुन्छ। डिफेक्टिभ सेललाई छिटो मर्ने वातावरण बनाउँछ। स्वस्थ मानिसमा त्यो प्रक्रिया निरन्तर हुन्छ। करेक्सन गर्ने क्रममा जिनमा खराबी आउन सक्छ। खराबी आएका सेललाई चाँडो निष्क्रिय बनाउन प्राकृतिक रुपमै आउन संकेतमा गडबडी आएर ती शरीरमा बस्छन्। डिफेक्टिभ सेल हुँदैमा पनि क्यान्स हुने होइन, त्यस्ता सेलहरु थप त्यस्तै सेल लिएर जन्मिन्छन्। त्यसमा आगोमा घ्यु हाल्ने काम भनेको हाम्रो जीवनशैली र खानपिन हो। गलत ढंगले जीवन अघि बढाइयो, रसायनजन्य खानेकुरा खाइयो भने विस्तारै कोषिकामा खराबी आउँछ। कोषिकामा त्यस्तो शक्ति हुन्छ, जसले फास्ट मल्टिप्लाई गर्छ। एउटा कोषिका नै ठूलो भएर ट्युमर हुने तथा अर्काे ठाउँमा सरेर क्यान्सर हुने हुन्छ। उपचार पाएन भने मृत्युसम्म पुर्याउँछ।
क्यान्सर गराउने कोषिका एक ठाउँबाट अर्काे ठाउँसम्म कसरी सर्छन्?
मुख्य माध्यम रगत हो। जहाँजहाँ रगत जान्छ, त्यहाँ क्यान्सरका कोषिका जान्छन्। कुनै पनि भागमा गएर बस्छन्, त्यहीँ मल्टिप्लाई हुन्छन्। अर्काे, शरीरमा प्राकृतिक ढलहरु हुन्छन्। त्यसबाट एक ग्ल्यान्डबाट अर्कोमा सर्न सक्छ।
यसैगरी पेटमा छ भने तल झर्ने हुन्छ। पेटको मुनि भागमा वा डिम्बासयमा हुने गर्छ। धेरै क्यान्सर चाहिँ एक ठाउँमा आयो भने नजिकको अग्र्यान ध्वस्त पर्दै ठूलो हुँदै अघि बढ्छ।
क्यान्सरका बिरामीहरु बढ्नुको कारण के हो? क्यान्सर नै बढेको हो वा आमजनमा चेतना बढेर परीक्षण बढेको हो?
क्यान्सरको संख्या संसारभरि नै बढेको छ। नेपालमा पनि जीवनशैली बदलिँदो छ। बढी बाँच्ने उमेर बढेको छ। क्यान्सरको दर पनि उमेर अनुसार नै बढ्दैछ। हाम्रो जीवनशैली प्रकृतिभन्दा टाढा गएको छ। प्रकृतिले नै क्यान्सर बढाएको छ।
क्यान्सर हुनुका धेरै कारण हुन्छन्। त्यसमध्ये मुख्य कारण के हो?
एक तिहाइ खानपिन हो। बच्चादेखि नै खानपान अनुशासित बनाउन सकेमा एक तिहाइ क्यान्सरबाट जोगिन सकिन्छ। पोलेर खाने, सुकुटी, तन्दुरी र बार्बिक्युले पनि आन्द्राको क्यान्सर भएको पाइएको छ। नुन बढी खाने, रसायन मिसिएका खानेकुराले पनि क्यान्सर हुन्छ। विषादीले पनि ब्लड क्यान्सर हुन सक्छ भन्ने देखाएको छ तर प्रुफ छैन। प्लास्टिकको बोतल फेरि प्रयोग गर्ने चलन छ। घाममा क्र्याक भएर क्यान्सर हुने केमिकल मिसावट हुन्छ र त्यसले पनि हुन्छ। क्यान्सरका कोषिका चिनी खाएर बाँचिरहेका हुन्छन् भन्ने भ्रम छ। दूधलाई पनि दोष दिन्छन्। त्यो पनि सही होइन।
क्यान्सरका लागि लामो समयदेखि काम थालेका छौं। क्यान्सर उपचार केन्द्र सरकारी कम छन्। निजी लगानी पनि त्यति धेरै देखिँदैन। यसको कारण के हो?
जनशक्ति नै कमी छ। यसमा लाग्ने जनशक्ति एकदमै स्पेसलाइज हुन्छन्। त्यसमा काम गर्ने नर्स र टेक्निसियन समेत यसैमा विशेषज्ञता हासिल गरेको हुनुपर्छ। डाक्टरहरु पनि अंग अनुसारका क्यान्सरको विज्ञ हुनुपर्छ। तर पछिल्लो २० वर्षको दौरानमा नेपालमा क्यान्सरको उपचार गर्ने ठाउँ र जनशक्ति बढेको छ। नयाँ अस्पताल बन्ने काम सुस्त भएको छ। उपचारका यन्त्र महँगा हुने भएकाले पनि सबैले यसमा लगानी गर्न गाह्रो हुन्छ।
नेपालका क्यान्सरका बिरामीको बाँच्ने दर बढाउने औषधि भित्र्याउने हाम्रो नीति बाधक रहेको कुरा तपाईंले पनि उठाउँदै आउनुभएको छ। कसरी बाधक देख्नुहुन्छ?
पहिले गुणस्तर कायम राख्नका लागि नीति लिइएको होला। जुन अहिले बाधक देखिएको छ। क्यान्सरमा महिनामा एउटा/दुइटा औषधि प्रमाणित भइरहेका हुन्छन्। नेपालको नियमअनुसार औषधि दर्ता हुन नै वर्षौं लाग्छ। त्यो औषधि उपलब्ध नहुँदा बन्दुक नभएको आर्मी जस्तो महसुस हुन्छ हामीलाई। केही प्रेस्कृप्सनबाट बिरामीलाई मगाउन छुट छ। त्यो पनि झन्झटिलो भयो। पहिले बिरामी चिकित्सककहाँ आउनुपर्यो। त्यसपछि औषधि व्यवस्था विभाग जानुपर्यो। फेरि मगाउनुपर्यो। औषधि बीचमै परिवर्तन गर्नुपर्ने हुन सक्छ। एक महिनाका लागि मात्रै बाहिरबाट ल्याउने पनि भेटिँदैनन्। कुनै पनि औषधिका ठूलो संस्था एफडीए वा युरोप वा भारतको ठूलो संस्थाबाट प्रमाणितलाई नेपालमा फेरि दर्ताको प्रक्रियामा नलिए हुन्थ्यो। बिरामीले राज्यलाई कर तिरेर ल्याउन सक्ने बनाए हुन्थ्यो। कहिलेकाहीँ मल्टिनेसनल कम्पनीले निःशुल्क दिने वा अन्य अफर ल्याउँछन्। नेपालमा दर्ता नहुँदा नेपाली बिरामीले त्यो लाभ लिन पाएका छैनन्। बरु गैरकानुनी रुपमा भित्रिएका औषधि महँगोमा किनिरहेका छन्। राज्यले कर पनि पाइरहेको छैन। गुणस्तरमा पनि विश्वास गर्न सकिँदैन।