मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ। बाहिरी अङ्ग भएकाले पनि पहिलो नजर मासिनको दाँतमा नै पर्ने गर्दछ। दाँत सफा, चट्ट मिलेको र हाँस्दा राम्रो देखियो भने मानिसको सुन्दरता झल्किन्छ।
त्यही दाँत बाङ्गोटिङ्गो, मुख बाहिर निस्केको भयो भने मानिसको सुन्दरतामा पनि कमी आउँछ। हो, त्यही दाँत बनाउने र उपचारका लागि अहिले मानिसहरुले धेरै नै खर्च गर्ने गरेका छन्। अधिकांश व्यक्तिमा दाँतसम्बन्धी कुनै न कुनै समस्या हुने गरेको पाइएको छ। दाँतको हेरचाह राम्रोसँग नगर्दा समस्या हुने गरेको चिकित्सकले बताएका छन्। गुलियो, टाँसिने खानेकुरा जस्तै चाउचाउ, चकलेट, चिजबलजस्ता खानेकुरा खाँदा धेरैजसोको दाँतमा किरा लाग्ने गरेको छ। बच्चामा पनि धेरै गुलियो खानेकुरा खाँदा र दाँत नमाझ्दा किराले खाने गरेको छ।
वीर अस्पतालका दन्तरोग विभागका प्रमुख प्रा.डा. शैली प्रधानले अस्पतालमा दैनिक सयभन्दा बढी मानिस दाँतको उपचारमा आउने गरेको बताउँछिन्। उनका अनुसार तीमध्ये ७५ प्रतिशत दाँतका किरा लागेका बिरामी हुने गर्दछन्। “पहिले दाँतमा किरा लागेपछि फाल्ने गर्दथे भने अहिले धेरैजसो दाँत बचाउनका लागि आउने गरेका छन्” उनले भनिन्, “दैनिक दाँतका बिरामी बढिरहेकाले थेग्न सक्ने अवस्था छैन।”
अस्पतामला दन्त विभागअन्तर्गत दाँत भर्ने, सफा गर्ने, गिजा रोग, दाँत फाल्ने र शल्यक्रिया गैने पाँच शाखा छन्। ती शाखामा दैनिक सय जना नयाँ दाँतका बिरामी आउने गर्दछन्। तीमध्ये दैनिक ५० जना बिरामीको दाँत भर्ने गरेको विभागका प्रमुख डा. प्रधानले बताइन्। उनले दाँतमा किरा लाग्नुबाहेक मानिसहरु दाँत राम्रो देखाउनका लागि पनि अस्पतालमा आउने गरेको बताइन्।
उनका अनुसार बाङ्गोटिङ्गो दाँत मिलाउनका लागि मानिसहरु धेरै आउने गर्दछन। बच्चा तथा युवाको विग्रेको बाङ्गो दाँतलाई स्टिलको तारले बाँधेर दुई वर्षभित्र मिलाउन सकिने उनको भनाइ रहेको छ। दाँतको उपचार छ÷छ महिना गर्नुपर्ने सुझाव चिकित्सकले दिन्छन्।
किराले खान थालेको कसरी थाहा पाउने?
हाम्रो मुखमा सात सय प्रकारका सूक्ष्म जीवाणु रहेका हुन्छन्। खानेकुरा खाएर दाँत सफा गरेन, मुख स्वस्थ राखेन भने जीवााणुले खानासँग रियाक्सन प्रतिक्रिया गरेर एसिड निकाल्ने गर्दछ। त्यही एसिडले दाँत विस्तारै खाने गर्दछ। एसिडले विस्तारै दाँतको बाहिरको सेतो भाग (इनामेल) खाने गर्दछ। विस्तारै जीवाणुले इनामेलको भित्र रहेको डेन्टिङ (कम कडा भएको) पल्प (दाँतको नसा) सम्म पुग्यो भने दाँत दुख्ने गर्दछ।
दाँत सुरुमा किराले खाएको थाहा पाउनका लागि गुलियो पदार्थ खादा दाँत सिरिङसरिङ गर्ने गर्दछ। अनि किराले अलि भित्र खाएको छ भने चिसो पानी खाँदा दाँत सिरिङ हुन्छ। अलि बढी नै दाँत किराले खान थाल्यो भने तातोपानी खाँदा दाँत सिरिङ हुने गर्दछ। तातो खाँदा दाँत सिरिङ गर्न थाल्यो भने दाँत धेरै नै दुख्न थालेको हुने विभागका प्रमुख डा. प्रधान बताउँछिन्। त्यसपछि दाँतको जरादेखि नै उपचार आरसिटी (रुट क्यानल ट्रिटमेन्ट) गर्नुपर्दछ।
मुखमा रहेका सूक्ष्म जीवाणु गिजाको वरिपरि लेउ बनाएर बस्ने गर्दछ। त्यसलाई सफा गर्न बिहान बेलुका नै राम्रोसँग दाँत माझ्ने गर्नुपर्दछ। खाना खाइसकेपछि बिहान र बेलुका दुई मिनेटसम्म नरम ब्रसले कम्तीमा दुई मिनेटसम्म दाँत माझ्नुपर्दछ र हरेक पटक केही कुरा खाएपछि मुख कुल्ला गर्नुपर्ने सुझाव डा. प्रधानको छ। दाँत माझेन भने सूक्ष्म जीवाणु दाँतको वरिपरि जम्मा हुने गर्दछ। त्यही सूक्ष्म जीवाणुले गर्दा पछि दाँतमा किरा लाग्ने गर्दछ।
वरिष्ठ दन्त चिकित्सक प्रा. डा. प्रधान मानिसलाई पटक–पटक खानेकुरा नखान पनि सुझाव दिन्छिन्। “पटकपटक खायो भने खाना मुखमा रहिरहन्छ। यसले गर्दा मुखमा अम्लीय भइरहन्छ र दाँत किराले खाने गर्दछ,” उनले भनिन्, “छिनछिनमा खानेकुरा खाने मानिसमा दाँतको समस्या बढी हुने गर्दछ।” उहाँका अनुसार चाउचाउ, चकलेट, चिजबलजस्ता गुलियो खानेकुरा दाँतको वरिपरि टाँसिएर बस्ने र तत्काल मुख सफा नगर्ने भएपछि जिब्रोमा सुक्ष्म जीवाणु हुने र त्यही जीवाणु दाँतमा बस्ने भएपछि दाँत किराले खाने गर्दछ।
दाँत बचाउने उपाय के हुन सक्छ?
उनले दाँतको उपचार अन्यभन्दा खर्चिलो र समय धेरै लाग्ने बताउँछिन्। नेपाल र भारतमा दाँतको सामान बाहिरबाट आउने भएकोले महँगाे पर्ने भएकाले सर्वसाधारणले दाँतको उपचार गर्नका लागि समस्या हुने उनको भनाइ छ।
उनले एक जना बिरामीको सामान्य उपचार गर्दा कम्तीमा चार पाँच दिन लाग्ने र आरसिटी, दाँत बाँध्नुपर्ने र नयाँ दाँत हाल्नुपर्ने भएप नि महिनौं बिरामी अस्पतालमा आउनुपर्ने बाध्यता रहेको बताइन्। “दाँत उपचारको स्वास्थ्य बीमा पनि नगरेकाले अझै सर्वसाधारण दाँतको उपचारबाट वञ्चित छन”, उनले भनिन्, “सर्वसाधारणलाई दाँतको उपचारमा सेवा पु र्याउनका लागि स्वास्थ्य बिमामा आबद्ध गर्नुपर्दछ।”
पहिले पहिले मानिसले दाँत किराले लागे भने फाल्ने गर्दथ्ये। तर अहिले मानिसहरुमा चेतना आएपछि दाँतको उपचार गरेर सकभर बचाउने गर्दछन्। अस्पतालका गिजा रोग विशेषज्ञ डा. रञ्जिता श्रेष्ठ गोर्खालीले सकभर दाँत बचाउनुपर्ने सुझाव दिन्छिन्। उनले दाँत फाल्दा खानपिनमा फरक पर्ने भएकाले दाँत बचाउन सुझाव दिनुहुन्छ। “दाँतले राम्रोसँग खानेकुरा चपाएर खाएनौँ भने हाम्रो स्वास्थ्यमा नै असर पर्ने गर्दछ”, उनले भनिन्, “त्यही भएर हामीले सकभर दाँत फाल्न हुँदैन।”
अस्पतालमा आउने दाँतका बिरामीमा दाँतसँगै गिजाबाट रगत आउने पनि समस्या देखिएको छ। सुरुसुरुमा ब्रस गर्दा गिजाबाट रगत आउने गर्दछ। त्यसको उपचार नगरेपछि पछि स्याउ, गाजर, टोक्दा रगत आउने गर्दछ। त्यसलाई पनि उपचार नगर्दा गिजामा छोयो कि रगत आउनेजस्ता समस्या देखिने गर्दछ। गिजाको रोग २५ वर्षपछि मानिसमा देखिने गरेको छ। दाँतका बिरामीलाई मधुमेह, मुटुको रोग, बिर्सने रोग (अल्जाइमर) रोग जस्ता थप रोग लाग्ने गर्दछन्।
दाँत किराबाट बचाउन के गर्ने ?
दाँत रोग गुलियो खानेकुरा, दाँतमा टाँसिने खालका खानेकुरा चाउचाउ, चकलेट, चिजबलजस्ता खानेकुरा खाँदा लाग्ने गर्दछ। यस्तै चुरोट खाने मानिसलाई दाँत किराले धेरै खाने गरेको छ। चुरोट सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई रोगसँग लड्ने क्षमता कम हुने गर्दछ र त्यस्ता मानिसको गिजा दुख्ने तथा दाँत झर्ने समस्या हुने गरेको छ। बच्चाले दाँत नमाझ्ने हुनाले किराले दाँत खाने गर्दछ।
दाँत बचाउनका लागि खानेकुरा खाएपछि कुल्ला गर्ने, बिहान उठनासाथ दाँत माझ्ने गर्नुपर्दछ। खाना खाइसकेपछि दाँत माझ्दा किराले खाँदैन। बिहान खाना खाएपछि दुई तीन घण्टा केही खानुहुँदैन। राति सुत्दा अनिवार्य रुपमा दाँत माझ्नुपर्दछ। दिउँसो थुक धेरै आउने भएकाले थुकले सूक्ष्म जीवाणुलाई भित्र लैजान्छ। राति मुखबाट थुक कम आउने र त्यही थुक मुखमा रहिरहने भएकाले दाँतको वरिपरि सूक्ष्म जीवाणु फैलिने हुँदा सुत्नुअघि पनि दाँत माझ्नु आवश्यक रहेको उनको भनाइ छ।
हरेक तीन/तीन महिना ब्रस फेर्नुपर्दछ। कडा नभई नरम ब्रसले दाँत माझ्नुपर्दछ। कडा ब्रसले दाँत माझ्दा दाँतको इनामेललाई असर पु र्याउने गर्दछ। एकपटकमा ठूलो केराउको दाना जति पेस्ट राखेर माझ्न सकिन्छ। दाँत माझेपछि त्यही ब्रसले जिब्रो पनि सफा गर्नुपर्छ।
अस्पतालमा ठाउँको अभाव
वीर अस्पतालमा दाँतको उपचार गुणस्तरीय र राम्रो भएकाले उपचारका लागि बिरामीलाई पालो पाउन नै समस्या हुने गरेको छ। थोरै जनशक्ति र बिरामीको चापले गर्दा दाँतको उपचारका लागि पालो पाउन समस्या हुने गरेको विभागका प्रमुख डा प्रधानले बताइन्। अन्य भन्दा वीर अस्पतालमा दाँतको उपचार ५० प्रतिशत सस्तो रहेको छ। “हाम्रोमा अन्य भन्दा गुणस्तरीय र सस्तो सेवा रहेको,” उनले भनिन्, “त्यही भएर बिरामीको भीड हुने गर्दछ र पालो पाउन समस्या हुने गरेको छ।”
अहिले दन्त विभागमा चिकित्सकलाई पनि उपचार गर्नका लागि पर्याप्त मात्रामा बस्ने ठाउँको अभाव रहेको छ। दन्त अस्पताल बनाउन पर्दछ भनेर सम्भाव्यता अध्ययन भएको तर त्यो त्यतिकै भएको अस्पतालका दन्त विभागका प्रमुख प्राडा प्रधान बताउँछिन्। अस्पतालमा अहिले सात जनाले मास्टर एण्ड डेन्टल सर्जरी स्नातकोत्तर अध्ययन गरिरहेका छन्।
अन्तर्राष्ट्रियस्तरको उपचार सेवा नेपालमै
नेपालमा दाँतको उपचार अन्तर्राष्ट्रिय स्तरको हुने गरेको छ। अस्पतालका गिजा रोग विशेषज्ञ डा. रन्जिता श्रेष्ठ गोर्खालीले विश्वमा नै नेपालमा दाँतका उपचारका लागि गुणस्तरीय सेवा भएको बताइन्। उनका अनुसार नयाँ दाँत हाल्नेदेखि बिग्रेको दाँत बनाउनेसम्मको उपचार नेपालमा नै हुने गरेको छ।
उनले डिजिटल स्क्यान गरेर कुन आकारको दाँत बनाउने भन्ने प्रविधि पनि अस्पतालमा रहेको बताइन्। “विदेशमा गरिने सबै विशेषज्ञ सेवा हामीले यही नेपालमा नै दिने गरेका छौ,” उनले भनिन्, “दाँत उपचारका लागि कोही पनि विदेश जानुपर्दैन।”
उनका अनुसार बाङ्गोटिगो दाँत मिलाउने, मुख खोल्न नसक्नेको उपचार, ढाड नभएको ठाउँमा ढाड राखेर दाँत राख्ने, चिउँडो बाहिर आउनेको मुखको आकृति मिलाउने, दाँतको टोकाइ नमिलेकोलाई मिलाउने, कस्मेटिक सर्जरी जस्ता उपचार नेपालमा नै हुने गर्दछन्।
नेपालमा दैनिक रुपमा दाँतका बिरामी बढे पनि गुणस्तरिय उपचार अस्पतालले दिन नसकेको छैन । “नेपालमा दन्त चिकित्साका प्रशस्त जनशक्ति छन्। तर राज्यले सर्वसाधारणलाई उपचार दिन छैन,” प्रमुख प्राडा. प्रधानले भनिन्, “राज्यले सरकारी अस्पतालमा दरबन्दी बढाउनुपर्दछ। दाँतको छुट्टै अस्पताल खोलेर सर्वसाधारणलाई उपचारको पहुँच पु र्याउन आवश्यक छ।”
उनका अनुसार अहिले १२ वटा शिक्षण संस्थामा वार्षिक ५०० भन्दा बढी दन्त चिकित्सक र सात वटा शिक्षण संस्थाबाट स्नातकोत्तर तहबाट सयभन्दा दन्त रोग विशेषज्ञ उत्पादन भइरहेका छन्। तर सरकारले ५० भन्दा बढी मात्र दन्त चिकित्सकको दरबन्दीमा राखेको छ।
सरकारी सेवामा पर्याप्तमात्रामा दरबन्दी नहुँदा दन्त चिकित्सक क्लिनिक सञ्चालन गरेर बसेका छन्। नेपालमा पर्याप्त जनशक्ति खपत नभएपछि ५० प्रतिशत दन्त चिकित्सक राम्रो सेवा सुविधाका लागि अमेरिका र अष्ट्रेलियामा समेत जाने गरेको उनको भनाइ छ। उत्पादन भए पनि दरबन्दी नभएर सरकारी अस्पतालमा दन्त चिकित्सकको अभाव रहेको प्रा. डा. प्रधान बताउँछिन्। अस्पतालमा अहिले स्थायी र करारमा ४० जना दन्त चिकित्सकले सेवा दिइरहेका छन्। रासस