काठमाडौं– काठमाडौं महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ। उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौं मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो।
‘सहरी वातावरणमा महसुसयोग्य सुधार गर्नुपर्छ। यस कार्यका फोहोर उत्पादकहरुले दायित्व बोध गरेर नागरिक र कानुनी दायित्व पूरा गर्नुहुनेछ भन्ने विश्वाश लिएका छौँ। वातावरणीय जोखिम बढ्न नदिन हामी सचेत छौँ। क्षेत्राधिकारभित्रका काम गरिरहेका छौँ,’ डंगोलले भनिन्।
काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानीकारक फोहोर व्यवस्थापनसम्बन्धी व्यवस्था छ। ऐनको दफा २० बमोजिम हानीकारक, स्वास्थ्य संस्थाजन्य, रसायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्छ। यो व्यवस्थामा उल्लेख भएका दायित्वसम्बन्धी काम अनुगमनका सूचक हुन्।
अनुगमका क्रममा मोडेल अस्पतालको नर्सिङ् विभागका प्रमुख राधिका घिमिरे, संक्रमित फोहोर उत्पादन हुने ठाउँ, उत्पादिन फोहोर संकलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापनको अभ्यास देखाएकी थिइन्।
अस्पतालले ३ लाख रुपैयाँ लागतमा फोहोर प्रशोधन गर्ने सामान तथा उपकरण खरिद गरेर संक्रमित फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्ने प्रणाली विकास गरेको घिमिरेले बताइन्।
‘स्रोतमा फोहोर छुट्याउन नर्सिङ् वेस्ड सिस्टम कार्यान्वयनमा छ। फोहोर उत्पादन हुने ठाउँको ड्युटीमा रहने नर्सिङ् स्टाफले यसको जिम्मेवारी लिने गरेका छन्। अस्पताल १०० बेडको हो। सामान्य फोहोर उत्पादन हुने ठाउँमा ४ प्रकारका बाल्टिन राखिएका छन्। प्लास्टिक, बोतल र क्यान, कागज र खानाजस्ता कुहिने र नकुहिने बस्तु छुट्टाछुट्टै बाल्टिनमा जम्मा गरिन्छ,’ घिमिरेले भनिन्,’ ‘हानीकारक फोहोर संकलन गर्न ८ वटा बाल्टिनसहितको ट्रली प्रयोग गर्ने गरिएको छ। संक्रमित फोहोर निर्मलीकरण गर्न १०० लिटरका २ वटा अटोक्लेभ मेसिन राखिएका छन्।’
उपचारका क्रममा उत्पादन भएको तरल हानीकारक फोहोरलाई क्लोरिनेसन गरेर सामान्य बनाउने घिमिरेको भनाइ छ।
निर्मलीकरण गरिएको पुनः प्रयोग गर्न सकिने फोहोर बेचेर अस्पतालले वार्षिक करिब १ लाख ८० हजार रुपैयाँ आम्दानी गर्ने गरेको घिमिरेले बताइन्। ‘कति फोहोर पुनः प्रयोग गर्न सकिँदैन। यस्तो खालको फोहोर निर्मलीकरण गरेपछि पैसा तिरेर उठाउन लगाउनु पर्छ। मासिक १० देखि १५ किलोग्रामसम्म यसप्रकारको फोहोर उत्पादन हुँदै आएको छ,’ उनले भनिन्।
अनुगमनपछि वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले फोहोर प्रशोधन कक्ष अलग्गै ठाउँमा राख्न सुझाव दिए। ‘क्यान्टिन र फोहोर प्रशोधन कक्षको दुरी नजिक देखियो। प्रशोधन कक्ष साँघुरो छ। यसलाई बढाउनुपर्ने देखिएको छ,’ उनले भने।
यस्तै विभागले अस्पतालजन्य फोहोर वर्गीकरण गर्न, जोखिमयुक्त फोहोरलाई प्रशोधन गरेर निर्मलीकरण गर्न र उत्पादन फोहोरलाई व्यवस्थापन गर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ।