मानव इतिहाससँगै करिब २० हजार वर्ष लामो यात्रा गरेको क्षयरोगको जीवाणु “माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस’ आज पनि मानव जातिको निम्ति निरन्तर एउटा चुनौती बन्दै आइरहेको छ। फ्रान्सेली लेखक एलेक्जेन्डर दुमास भन्छन्, “क्षयराेगबाट ग्रसित हुनु फेसन जस्तै थियाे। सबैजना क्षयराराेगबाट संक्रमित थिए; विशेष गरी कविहरू, केही भावनात्मक उत्तेजनाहरू पछि रगत खाेक्ने र तीस वर्षको उमेर नपुग्दै जवानीमै मर्नु राम्रो मानिन्थ्याे।” १९औँ शताब्दीको एक समय यस्तो थियो जतिबेला युरोपमा कविताहरू क्षयरोगको वर्णनमा लेखिएका हुन्थे भने उपन्यासहरु क्षयरोगले संक्रमित पात्रहरूको भावनामा केन्द्रित हुन्थे। समग्र युरोपेली साहित्यमा त्यो स्तरको प्रभाव जमाएको क्षयरोगले समाजलाई कुन हदसम्म प्रभावित पार्यो होला भन्ने कुरा आँकलन गर्न सकिन्छ।
श्वासप्रश्वास प्रणालीको प्रमुख अङ्ग फोक्सोमा असर गर्ने एक संक्रामक रोग हो क्षयरोग। यो रोगले मुख्यतया फोक्सोमा असर गर्ने भएता पनि शरीरका अन्य अंगहरुमा पनि असर गर्दछ। संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा खेरी थुकको छिटा अथवा अन्य प्रकारका श्वासप्रश्वास बाट निस्किने तरल पदार्थ मार्फत माईको ब्याक्टेरियम ट्युबरक्युलाेसिस नामक जीवाणु सरेर लाग्ने यो रोगमा जीवाणुको मात्रा, रोगको प्राकृतिक चरणहरु, लक्षणहरु, निदान, उपचार, जटिलता लगायतका चिकित्सा विज्ञानले स्थापित गरेका आफ्नै सर्तहरु रहेका छन्।
विश्व स्वास्थ्य संगठन को प्रतिवेदन अनुसार सन् २०२२ मा मात्रै क्षयरोगका कारण संसारभरि १३ लाख मानिसहरूको मृत्यु भयो। जसमध्ये ८० प्रतिशत मृत्यु निम्न तथा मध्यम आय भएका राष्ट्रहरूमा भएको थियो। गरिबी, अत्यधिक भीडभाड र सीमान्तीकृत समुदायमा बाँचिरहेका मानिसहरूलाई असमान रूपमा असर गर्ने यो रोग दरिद्रता, कलंक र पारिवारिक एक्लाेपनको पनि कारण बनिरहेको प्रसस्त तथ्यहरु रहेका छन्। तसर्थ, क्षयरोग केवल एक चिकित्सा समस्या मात्र होइन, यो त एक सामाजिक मुद्दा पनि हो जुन रोगको अन्तर्निहित निर्धारकहरूलाई सम्बोधन गर्न बहुपक्षीय प्रयासहरूको आवश्यकता पर्दछ।
यस लेखमा, म क्षयरोगको जोखिम र बोझलाई प्रभावित गर्ने विभिन्न सामाजिक कारकहरू र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (एसडीजी) को एक लक्ष्यको रूपमा सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न प्रभावित समुदाय र नागरिक समाजलाई संलग्न गराउने महत्वको बारेमा छलफल गर्नेछु।
मानव दिमागमा चिप्स जोड्ने, अङ्ग प्रत्यारोपण गर्ने तहसम्म चिकित्सा विज्ञान पुग्दा पनि क्षयरोगका कारण अझै लाखौ मानिसहरुले ज्यान गुमाइरहनु आजको प्रविधिको विकासको निम्ति चुनौतिको विषय हो। ‘माइकोब्याक्टेरियम’ जिनस करिब १५ करोड वर्ष अगाडि नै उत्पत्ति भएको मानिएको छ। पुरानो ग्रिसमा क्षय रोगलाई ‘फ्थाइसिस’ भनेर भनिन्थ्यो जसको मतलब हुन्थ्यो क्षय। फ्रान्स र इङ्ल्यान्डमा क्षयरोगलाई ‘किङ्स इभिल’ भनेर भनिन्थ्यो र राजाले छोएपछि निको हुन्छ भन्ने अन्धविश्वास पनि त्यस समयमा थियो। भारतीय उपमहाद्वीपमा पनि क्षयरोगलाई ‘शाेष’ भनिन्थ्यो जसको अर्थ हुन्छ ‘शोषण गर्ने’। क्षयरोगले शरीरको सबै तरल पदार्थ शाेष्छ भन्ने चेतना त्यस समयको समाजमा थियो।
त्यति मात्र नभएर यसलाई ‘राज्य यक्ष्मा’ भनेर पनि भनिन्थ्यो यसको मतलब हुन्थ्यो राजाको रोग। त्यतिमात्र हैन क्षयरोगलाई कसै-कसैले रोमान्टिक र आदर्श पनि बनाए, जसले यसलाई कलात्मक प्रतिभा, आध्यात्मिक शुद्धता वा महान् दुःखकष्टको सङ्केतको रूपमा हेरे। क्षयरोगलाइ थुप्रै लेखक, कवि, सङ्गीतकार र चित्रकारहरूले सिर्जनशीलता, सुन्दरता वा त्रासदीको स्रोतको रूपमा चित्रण गरे।
१८औँ शताब्दीमा युरोपमा क्षयरोको महामारी फैलियो। र क्षयरोगका कारण वार्षिक १ लाख जनामा ९०० जनासम्मको मृत्युको लहर चल्यो। औद्योगिक क्रान्तिको दौरानमा पनि सामाजिक अवस्थामा आएको परिवर्तन, अव्यवस्थित सहरीकरण, अपर्याप्त स्रोतहरू, अव्यवस्थित कार्यस्थल, कुपोषण र अन्य कारणहरूले गर्दा युरोप क्षयरोगले ग्रस्त भयो। वनस्पति विज्ञानका विद्यार्थी हर्मन ब्रेमरले (जो आफै क्षयरोगबाट संक्रमित थिए) पहिलोपटक क्षयरोग निको हुन सक्ने रोग हो भनेर भने लामो समय क्षयरोगको संक्रमणको प्रकृति लगायतका कुराहरुमा अध्ययन भयो। १८८२ मार्च २४ मा ‘सोसाइटी अफ फिजियोलोजी’मा वैज्ञानिक रोबर्ट कोचले माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस पत्ता लगाएको घोषणा गरे। केही दशकको अध्ययनपछि क्षयरोग विरुद्धको बिसिजी खोप पत्ता लाग्यो र क्षयरोग विरुद्धका एन्टिबायोटिक्सहरु पनि बने।
इतिहासमा सताब्दी बिताएपानी क्षयरोग विगतको रोग भने होइन, यो त वर्तमान र भविष्यको खतरा हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा १३ लाख मानिसको मृत्यु भएको क्षयरोग कोभिड–१९ पछिको दोस्रो प्रमुख संक्रामक हत्यारा हो। आजपनि क्षयरोग एक विश्वव्यापी जनस्वास्थ्य चुनौतीको रूपमा रहेको छ, विशेष गरी निम्न र मध्यम आय भएका देशहरूमा, जहाँ एचआईभी, औषधि प्रतिरोध, बसाइँसराइ र सामाजिक असमानताजस्ता कारकहरू निर्धारक तत्वको रुपमा रहेका छन।
क्षयरोगले विभिन्न जनसंख्याका समूहहरुलाई उनीहरूको जोखिम, संवेदनशीलता र स्वास्थ्य सेवाहरूमा पहुँचको आधारमा फरक फरक प्रभाव पार्दछ। सबैभन्दा कमजोर जनसंख्यामा कैदीहरू, आप्रवासीहरू र सामाजिक रूपमा सीमान्तकृत व्यक्तिहरू पर्दछन, जसले प्रायः क्षयरोग रोकथाम, निदान र उपचारमा धेरै जोखिमका कारकहरू र अवरोधहरूको सामना गर्ने गरेका छन्। एक अध्ययन अनुसार , कैदीहरूमा क्षयरोगको भार (प्रिभालेन्स) सामान्य जनसंख्याको तुलनामा २३ गुणा बढी थियो। एक मेटा-विश्लेषणले आप्रवासीहरूमा क्षयरोगको नयाँ केशहरु सोहि देशमा जन्मिने जनसंख्याको तुलनामा १५ गुणा बढी रहेको पत्ता लगाएको छ।
सामाजिक रूपमा सीमान्तकृत व्यक्तिहरू, जस्तै गरिबी, झुपडी वा घरबारविहीन भएका मानिसहरूले पनि क्षयरोगको उच्च जोखिमको सामना गर्नुका साथै कलंक, भेदभाव र सामाजिक बहिस्कारको सामना गरिरहेका छन्। युरोपका १० वटा शहरमा गरिएको एक अध्ययनले घरबार विहीन मानिसमा क्षयरोगको व्यापकता सामान्य जनसंख्याको तुलनामा १७ गुणा बढी रहेको देखाएको छ।
स्वास्थ्य सेवाको पहुँचः क्षयरोगको रोकथाम, निदान र उपचारका लागि गुणस्तरीय र किफायती स्वास्थ्य सेवामा पहुँच आवश्यक छ। डब्लुएचओका अनुसार सन् २०२० मा अनुमानित क्षयरोगका बिरामीमध्ये ७१ प्रतिशत मात्र पत्ता लगाएर सूचित गरिएको थियो र नयाँ र पुनरुत्थान भएका बिरामीहरूको उपचार सफलता दर ८५ प्रतिशत थियो।
चिकित्सा विज्ञानको प्रगति हुँदै जाँदा मानवजातिले सङ्क्रमक रोगहरू विरुद्ध निरन्तर धावा बोलेको कुरा सत्य हो। संसारभरि रोगको ढाँचा बदलिएर सर्ने रोगहरूबाट नसर्ने रोगहरु तर्फ ढल्किसकेको छ। यस्तो अवस्थामा पनि १३ लाख व्यक्ति क्षयरोगको कारण मृत्यु हुने घटनाक्रम अझै रोकिएको छैन। हामीसँग क्षयरोग विरुद्धको खोप छ, हामीसँग क्षयरोग विरुद्धका एन्टिबायोटिक्स औषधिहरू छन्, हामीसँग सरकारको उच्च प्राथमिकतामा रहेको डट्स जस्ता कार्यक्रमहरू पनि छन्। तर पनि क्षयरोग हाम्रो निम्ति चुनौती बनिरहेकै छ। यस्तो किन भइरहेको छ ?
यो यसकारण भइरहेको छ कि हामीले क्षयरोगलाई र संक्रमित बिरामीलाई बायोमेडिकल दृष्टिकोणबाट मात्रै हेरिरहेका छौ। जब कुनै बिरामीलाई बायोमेडिकल दृष्टिकोणबाट मात्रै हेरिन्छ तब उसको शरीर एउटा मेसिन बन्छ। अङ्क र कोडसहितका फाइलहरूमा उसको रोग सीमित हुन्छ। ऊ एउटा जीवाणु बोकेर हिँडिरहेको कच्चा पदार्थ बन्छ।
२०१८ मा ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानको रिपोर्ट अनुसार गरिबी निवारण मात्र गर्न सकियो भने २०३५ सम्म क्षयरोगको समस्या ८४% सम्म कम हुन सक्छ। त्यही प्रतिवेदनले क्षयरोगबाट हुने मृत्युको ९५% मृत्यु निम्न तथा मध्यम आय भएका देशहरुमा भइरहेको पनि दाबी गरेको छ। महामारीको समयमा युरोपमा श्रमिकहरूको मृत्युदर एक तिहाई(१/३) थियो भने उपल्लो वर्गको मृत्युदर १/६ थियो। यसबाट के प्रष्ट हुन सकिन्छ भने हामीले क्षयरोग जस्ता रोगहरुलाई सामाजिक र आर्थिक दृष्टिकोणले पनि हेर्नुपर्छ र बायोमेडिकल दृष्टिकोणले मात्रै हामीलाई कुनै पनि निकास दिन सक्दैन किनकि एउटा बिरामी जीवाणुको कारणले मात्रै रोगि हुँदैन उसको सामाजिक आर्थिक पर्यावरणले उसलाई रोगि बनाइरहेको हुन्छ।
औद्योगिक क्रान्तिको समयमा युरोपमा जे भयो, त्यो तेस्रो विश्वले आज पनि भोगिरहेकै छ। अव्यवस्थित सहरीकरण, सुकुम्बासी बस्तीहरु, कुपोषण, अव्यवस्थित कार्यस्थल, सरसफाईको अभाव आज पनि हाम्रो समाजका विशेषता बनिरहेका छन्। यी सबैको जड हो आर्थिक असमानता।
क्षयरोग विरुद्ध बनेका एन्टिबायोटिक्सहरूप्रति पनि बिस्तारै माइकोबक्टेरियम ट्युबरक्युलोसिसले प्रतिरोध देखाउन थालेको छ। हिजो जब युरोप महामारीले ग्रस्त थियो त्यस समय यसका निम्ति प्रशस्तै काम हुन्थे। आज तेस्रो विश्व चिच्याइरहेको छ तर हामीसँग कुनै नयाँ एन्टिबायोटिक बनेको छैन ।यसले गर्दा नै होला आजको विश्व एन्टिबायोटिक प्रतिरोधको विषयमा घोतलिरहेको छ। तर पनि सामाजिक र आर्थिक कारकहरुलाई सम्बोधन नगरिकन क्षयरोग जस्ता रोगहरूको उन्मुलन सम्भव छैन। उपचार र उपचार पद्धतिकै मात्र कुरा यदि गर्ने हो भने हामी सुधार त गर्न सक्छौं तर यो महामारीको अन्त्य गर्न सक्दैनौँ।
क्षयरोगको उन्मूलन डीएनए सिक्वेन्सिङ अथवा अन्य छोटो समयका लागि प्रयोग हुने औषधिको विकासबाटमात्रै सम्भव छैन। बायोमेडिकल प्रविधिको विकासको निम्ति दुई अनिवार्य सर्त छन्- पैसा र समय। जुन क्षयरोगका बिरामीहरूसँग छैन। त्यसकारण क्षयरोगसँगको लडाई केवल एउटा जीवाणुसँग मात्र होइन समग्र विचारधारासँग पनि हुनुपर्छ। (कार्टर,२०१८) यसरी समग्रतामा हेर्दा उपचार र उपचार पद्धतिमा मात्रै केन्द्रित रहेर बिरामीको शरीरलाई ध्यानमा राखेर र केवल ‘माइकोबक्टेरियम ट्युबरक्युलोसिस’ विरुद्धको मात्र लडाई लड्ने हो भने हाम्रो विजय सम्भव छैन। अब हाम्रो लडाई असमानताको अन्त्य गर्ने तर्फ, सामाजिक संरचनालाई ध्यानमा राखेर स्वास्थ्यका वृहत सामाजिक निर्धारकहरु तर्फ केन्द्रित हुनुपर्छ।