काठमाडौं- चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोशन केन्द्र निर्माण गर्ने भएको छ। हाल नगरपालिकाले चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५ शय्यामा स्तरोन्नति गरिसकेको छ।
नगरपालिकाले आफ्ना सामुदायिक वनभित्र रहेका आयुर्वेदिक प्रजाति सुगन्धवाला, चिराइतो, गुर्जाे, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे, लौठसल्ला, पिपला र कौलोको संरक्षण, उपयोग एवं प्रवर्द्धन गर्न लागेको हो। यसका लागि नगरपालिकाले पहिलोपटक जडीबुटीको स्रोत सर्वेक्षण सम्पन्नसमेत गराएको छ।
काठमाडौँ उपत्यकाभित्रका नगरपालिकामध्ये चन्द्रागिरिले सम्भवतः पहिलोपटक सङ्घीय सरकारको ‘जडीबुटी सर्वेक्षण मार्गदर्शन २०१२’ अनुसार विज्ञ टोली मार्फत ‘चन्द्रागिरि नगर क्षेत्रभित्र रहेका औषधीय तथा सुगन्धित जडीबुटीको वैज्ञानिक अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण’ गराएको थियो।
चन्द्रागिरिका १५ सामुदायिक वन मध्ये जडीबुटी क्षेत्र पहिचान गरेका विभिन्न आठ वन सो सर्वेक्षणमा समेटिएका थिए। ती वन समूहमा मसिने, चन्द्रागिरि, मच्छेनारायण, चुनदेवी, गुमालचोक सचेत महिला, काफलडाँडा, रातमाटेडाँडा, जमुनाडाँडा वनक्षेत्रमा अध्ययन टोलीले वैज्ञानिक अध्ययन गरेको थियो।
अध्ययनका क्रममा जडीबुटीहरुको भौगोलिक अवस्थितिलाई ‘प्लटिङ’ समेत गरिएको थियो। ती वन क्षेत्रका सात सय १३ हेक्टरमध्ये एक सयदेखि एक सय ५० हेक्टरमा जडीबुटी पाइएको थियो। सम्भावना बोकेका एकसय जडीबुटी, खेतीयोग्य ६० प्रकारका जडीबुटी र प्रमुख दश जडीबुटी तुरुन्तै प्रशोधन गरेर बजारमा लान सकिने अध्ययनका क्रममा देखिएको थियो।
पाँच प्रकारका जडीबुटी (चिराइतो, सुगन्धवाला, टिमुर, पिपला र धासिङ्गरे) लाई खेती गर्न सकिने अनुसन्धान सर्वेक्षणले पुष्टि गरेको छ। ती जडीबुटी एउटै विधिद्वारा प्रशोधन गर्न सकिने जनाइएको छ। ती जडीबुटीबाट वार्षिक ५३ हजार केजी सङ्कलन सकिने अध्ययनले औँल्याएको छ।
सर्वेक्षणले वार्षिकरुपमा कम्तीमा रु ३५ लाख बराबरको जडीबुटी सङ्कलन गर्न सकिने, यदि ती जडीबुटी सङ्कलन नगर पनि बिरुवा मरेर नजाने, कुहिएर जाने तथा कुनै क्षति नपुर्याउने जनाइएको छ। यसैबीच अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण अध्ययन टोलीले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई आइतबार अध्ययन प्रतिवेदन हस्तान्तरण गर्यो।
सो अवसरमा उनले औषधीय तथा सुगन्धित जडीबुटीको संरक्षण , सम्वर्द्धन तथा उपयोग गर्ने नीति नगरपालिकाले लिएको जानकारी दिँदै चन्द्रागिरिमा आयुर्वेद रिसर्च सेन्टर स्थापना गर्ने र मातातीर्थ आयुर्वेदिक औषधालयलाई आवश्यक पर्ने स्रोतलाई सुदृढ बनाउने बताए।
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सामुदायिक वनको दीगो व्यवस्थापन एवं सदुपयोग गर्दै यसलाई आयआर्जनसँग जोड्न र जैविक विविधता संरक्षण गर्न नगरपालिकाले सहयोग गर्ने बताए।
मातातीर्थ आयुर्वेदिक औषधालयका प्रमुख डा नारायण आचार्यले पहिलोपटक गरिएको बहुआयामिक अध्ययनले चन्द्रागिरिमा प्रचुर मात्रामा औषधीय तथा सुगन्धित जडीबुटीको सम्भाव्यताको उजागर गरेको जानकारी दिए। उनले भने, “औषधालयको आफ्नै जडीबुटी उद्यान बनाउने, प्रशोधन केन्द्र स्थापना गर्ने तथा औषधिसमेत उत्पादन गर्ने नीतिलाई सहयोग गर्ने छ।”
अध्ययन टोलीमा डा नवीन जोशी, स्नेहा बर्मा तथा शालिकराम कँडेल थिए। टोलीले सामुदायिक वनभित्रका जडीबुटीका स्रोत स्थानीयवासी, वनमा आश्रित समुदायका लागि नगद आम्दानीको महत्वपूर्ण स्रोत र जीविकोपार्जनको माध्यम बन्न सक्ने सुझाव दिएको छ। साथै स्थानीयस्तरमा जडीबुटीको खेती, दिगो विकास, प्रशोधन गरेर वन तथा जैविक विविधताको संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने अवसर हुने पनि टोलीले निष्कर्ष निकालेको छ।
यसैबीच त्यहाँ जडीबुटीका प्रजातिको व्यवस्थापन, खेती, दिगो व्यवस्थापनको सम्भावना औँल्याएको छ। यसैगरी सामुदायिक वन, निजी वन तथा निजीस्तरमा जडीबुटी खेती गर्ने प्रयोजनका लागि अध्ययनले थप प्रोत्साहन गरेको जनाइएको छ।
मातातिर्थ आयुर्वेद औषधालय नगरपालिकाको स्वस्थ्य प्रवर्द्धन केन्द्रको रुपमा सन्चालित छ। हालसालै अस्पतालको रुपमा स्तरोन्नति भएको यस औषधालय सङ्घीय सरकारको अर्ग्यानोग्राममा औषधालयको रुपमा नै छ। नेपालमा आयुर्वेदको बहुआयामिक सम्भावना छ भन्ने कुराको उदाहरण दिन सफल उक्त औषधालयको सेवाहरु गुणस्तरीय रहेको बताइएको छ।
हाल नरदेवी अस्पतालसँग सहकार्य गरि विशेषज्ञ सेवा दिँदै आएको औषधलायमा पन्चकर्म, साउना, स्टिम, क्षारशुत्र लगायतका विशिष्टिकृत सेवाहरु उपलब्ध छन्। औषधालयले हालै स्थानीयहरुको लागि आयुर्वेदका विभिन्न थेरापीहरुको तालिम सन्चालन गर्दै आएको छ।