दुवै मिर्गौला स्थायी रुपमा फेल भैसकेपछि ३ प्रकारको उपचार पद्धती हुन्छन्, १.मिर्गौला प्रत्यारोपण २.हेमोडायलाइसिस ३.सिएपीडी अर्थात घरमा नै गर्न सकिने डायलाइसिस
सिएपीडी भनेको के हो
घरमा नै बिरामी वा बिरामीका आफन्तले गर्न सकिने डायलाइसिस पद्धतीलाई सिएपीडी (कन्टिन्युज बम्बुलेटोरी पेरीटोनल डायलाइसिस) भनिन्छ। यस पद्धतीमा बिरामीको पेटमा एउटा सानो शल्यक्रिया गरी एउटा पाइप राखिन्छ। त्यस पाइपको आधाभाग पेट भित्र रहन्छ र आधा भाग पेट बाहिर रहन्छ। पेट भित्र वा बाहिर रहेको यो पाईपले पेट दुख्ने वा असहज गर्ने काम गर्दैन। पाइपको पेट बाहिर रहेको भागलाई कपडाको पेटीले बाँधेर राख्ने गरिन्छ।
सिएपीडी घरमा नै कसरी गरिन्छ?
पेटमा राखिएको पाईपको माध्यमबाट पेटभित्र एक किसिमको पानी राखिन्छ। यो पानी यसरी पेटभित्र राख्न १०–२० मिनेट जती समय लाग्छ। बिहान ७–८ बजेतिर राखिएको पानीलाई दिउसो १–२ बजेतिर निकालिन्छ र फेरीनयाँपानी पेटभित्र राखिन्छ। दिउसो राखिएको पानी राती ९–१० बजेतिर निकालिएर नयाँ पानी राखिन्छ। राती राखिएको पानी भोलीपल्ट बिहान निकालेर नयाँ पानी राख्ने र त्यही क्रम दैनिक गर्नुपर्छ।
सुरुमा पढ्दा वा सुन्दा यो पद्धती गाह्रो जस्तो देखिन्छ –अहो ! घरमा आफैले कसरी गर्ने? अहो! दैैनिक गर्नुपनर्। तर गर्दै गएपछि,यो पद्धती सजिलो हुँदै जान्छ र यसले बिरामीलाई धेरै सजिलो र आराम पनी हुँदै जान्छ। अस्पतालमा बिरामी र बिरामीका अभिभावकहरुलाई ३–४ दिन देखि १ हप्ता लगाएर पेटमा पानी राख्ने र निकालने तरिका सिकाईन्छ।
सिएपीडीले कसरी काम गर्छ?
पेटमा राखिएको पानीले रगतमा जम्मा भएका फोहोर तत्वहरु तथा बढी मात्रामा भएको पानीलाई सोसेर लिन्छ। पेटको पानी निकालेर बाहिर फालिदा त्यो फोहोर पनी फालिन्छ र फेरि राखिएको नयाँ पानीले फेरी रगतमा जम्मा भएको फोहोर तत्व र पानीलाई सोसेर तान्छ।
सिएपीडीका फाइदाहरु के के हुन?
यसले हाम्रो मिर्गौलाले जस्तै २४ घण्टानै काम गरेर बिस्तारै रगतमा जम्मा भएका फोहोर तत्वहरु तथा बढी भएको पानी शरीरबाट बाहिर फाल्ने काम गर्दछ। यसले गर्दा मिर्गौला फेल भएका बिरामीहरुको शरीर सुन्निएको बिस्तारै कम हुँदै जाने, दम फुल्ने जस्ता समस्या कम हुँदै जाने, खानामा रुची बढ्ने तथा वाकवाकी÷बान्ता कम हुन्छ।
सिएपीडीका बेफाइइदाहरु के के हुन् ?
बिरामीहरुको पेटको इन्फेक्सन हुन सक्छ। पेट दुख्ने, ज्वरो आउने, पखाला लाग्ने र पेट भित्रबाट बाहिर निस्किएको पानी धमिलो हुने गर्छ। यस्ता लक्षणहरु आएमा मिर्गौला रोग विशेषज्ञको निगरानीमा उपचार सुरु गर्नुपर्ने हुन्छ।
दुवै मिर्गौला स्थायी रुपमा फेल भैसकेपछि ,कुन उपचार पद्धतीमा जाने, त्यस बारेमा मिर्गौला रोग विशेषज्ञसँग राम्रोसँग परामर्श गरि अघि बढेमा बिरामीको सहि उपचार गर्न सकिन्छ।
(कन्सल्टेण्ट नेफ्रोलोजिष्ट तथा मिर्गौला रोग विशेपज्ञ प्राडा शैलेन्द्र श्रेष्ठ बि.एण्ड बी. अस्पताल, ग्वार्कोमा कार्यरत छन्।)