आज मार्च २०, विश्व मुख स्वास्थ्य दिवस। मुख सम्बन्धी स्वास्थको चेतना फैलाउन विश्वभर आजको दिन यो दिवस मनाईन्छ। विश्व मुख स्वास्थको अबसरमा आयुर्वेदका प्राचीन संहिताहरुमा उल्लेख गरिएको ओरल हाईजिन सम्बन्धी जानकारी यहाँ संक्षिप्त रुपमा प्रस्तुत गर्न गईरहेको छु। यहाँ उल्लेखित विधिहरु दिनचर्या अर्थात मानवले दैनिक रुपमा पालना गर्नुपर्ने कार्य अन्तरगत पर्दछन्।
१ दन्तधावन
दैनिक रुपमा दन्तधावन ( दात माझ्नु ) गर्नुपर्ने आयुर्वेदमा बताइएको छ। निम खदिर अपामार्ग मधुक आदिको डाँठलाई दन्त धवन गर्नका लागि उपयोगी बताईएको छ। दात सफा गर्न प्रयोग गरिने डाँठलाई दन्तपवन भनिन्छ। दन्त पवनको लम्बाई १२ अङ्गुल र मोटाई कान्छि औँला बराबर हुनुपर्ने संहिता हरुमा वर्णन गरिएको छ। दाँत सफा गर्नका लागि दन्तसोधक चुर्णको वर्णन सुश्रुत संहितामा पाईन्छ। त्रिकटु चतुर्जात सिधेनुन मह ल्वाङ आदिको समिश्रण नै दन्तसोधक चुर्ण हो। दन्त धावन गर्नाले मुख सुद्दि हुनुका साथै खानाको रुचि बढाउने दाँत बलियो बनाउने शारिरिक स्फुर्ति बढाउने आदि फाईदा हुन्छ।
२ जिव्हा निर्लेखन
दन्तधावन पश्चात स्वर्ण चादि अन्य धातु वा काठबाट बनेको जिब्हा निर्लेखनिद्वारा जिब्रो सफा गर्नुपर्दछ। नियमितरुपमा जिवहा निर्लेखन गर्दा जिब्रो सफा हुनुका साथै खानामा रुचि बढ्ने फाईदा पनि हुन्छ भनेर आयुर्वेदका संहिताहरुमा वर्णन पाईन्छ।
३ कवल एवम् गण्डुष
कुनै पनि तरल पदार्थ वा कल्क ( जडिबुटी आदि पिनेर बनाईएको लेदो ) लाई मुखमा राखेर धारण गर्नु कवल हो भने उक्त तरल पदार्थ वा कल्क द्वारा मुख कुल्ला गर्नु गण्डुष हो। कवल गण्डुष गर्नाले मुख जिब्रो सुद्द हुनुका साथै मुखमा हुने घाऊहरु निको हुने वा मुखमा घाऊहरु आऊन नदिने हुन्छ। नियमित कवल गण्डुष गर्नाले चपाउन सक्ने क्षमता पनि वढ्दछ।
४. ताम्बुल सेवन
मुखको दुर्गन्ध नास गर्नका लागि पुंग जाईफल कटुकी आदि मिसाएर ताम्बुल सेवन ( सामान्य भाषामा पान) गर्नु पर्दछ। ताम्बुल सेवनलाई मुख सम्बन्धि फाईदाको अलवा मुटुलाई पनि फाईदा गर्ने भनेर बताईएको छ। अत: प्राचीन ग्रन्थ तथा संहिताहरुमा मुख स्वास्थ (ओरल हाईजिन ) का बारेमा बिस्तारमा बर्णन पाइन्छ। पुर्विय चिकित्सा पद्धति र वेदमा ओरल हाइजिनलाई मुख्य स्थान दिइएको छ। उक्त समयमा उपलब्धताको आधारमा उपयोगी द्रव्य सामाग्रीहरुको प्रमाणसहित उचित विधिको बर्णन आयुर्वेदका संहिताहरुमा पाईन्छ।