काठमाडौं- नुवाकोटको राउतबेशी स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी कञ्चनमाला श्रेष्ठको जीवनमा बुधबार साँझ अप्रत्यासि खुशी आइलाग्यो। काठमाडौंको याक एन्ड यति होटेलमा आयोजित एक कार्यक्रममा पछिल्लो लहरमा बसेर हेरिरहेकी थिइन्। एकाएक स्टेजबाट आफ्नै नाम लिएजस्तै लाग्यो उनलाई। उनी वरीपरी हेरिन्, उनलाई चिन्नेहरु उनीतिरै हेरिरहेका थिए। उनले बुझिन्, 'पक्का मेरै नाम लिइएको हो।' उनी स्टेजतिर बढिन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उनलाई सम्मानको प्रमाणपत्र थमाए।
ग्रामिण स्वास्थ्यमा योगदान गरेका केहीलाई सम्मानित गर्ने गरिएको उनलाई जानकारी थियो। तर यसपल्ट आफैं परुँला भन्ने उनलाई एक रत्ति विश्वास थिएन। त्यसैले 'निक साइमन्स अवार्ड-२०२३'बाट सम्मानित भइरहँदाको यो दृष्य उनलाई सपना जस्तै लागिरहेको थियो। कार्यक्रमभरी सेलिब्रिटी भइन्। उनीसँग तस्विर खिचाउने चाहनेहरु एकपछि अर्को गर्दै आइरहेका थिए। यहीबीच उनले एउटा सदाबहार प्रश्न पाइन्, 'सम्मानित हुँदा कस्तो लागिरहेको छ?'
असीम खुशी र गहिरो पीडा कसैले कहिल्यै शब्दमा रुपान्तरण गर्न सक्दैन । प्रश्नकर्तालाई यसको बोध छ। तर, कार्यक्रमको उद्घाटनमा दीप प्रज्वलन गरिएजस्तै संवादको उद्घाटन गर्न उक्त प्रश्न सोधिएको थियो। प्रश्न सुन्नासाथ उनको अनुहार झन् उज्यालियो। जसले सम्मानित हुँदाको पूरै कथा वर्णन गरिसकेको थियो। शब्दमा यत्ति भनिन्, 'असाध्यै खुशी।'
आजको यो असाध्यै खुशीको एक पलका लागि उनले नुवाकोटको दुर्गम गाउँवस्तिमा वर्षौं दु:ख गरेकी छिन्। त्यसैले अहिले उनी जति खुशी छन्, त्यो भन्दा धेरै उनी कार्यरत स्वास्थ्य चौकीको टिम र गाउँ खुशी छ। बिहिबार बिहान स्वास्थ्यखबरसँग भन्दै थिइन्, 'सम्मान मैले पाएकी छु । म भन्दा धेरै खुशी मान्छेहरु गाउँमा छन्।'
राजधानी नजिकै भएपनि नुवाकोटका धेरै वस्ति बत्तिमुनिको अँध्यारोमा छन्। त्यहीमध्यै एक उनी कार्यरत राउतबेशी क्षेत्र पनि हो। जहाँका स्थानीय स्वास्थ्यका विषयमा निकै पछि छन्। कञ्चनमाला जस्तै सेवीहरुको जिम्मामा उनीहरुको जीवन छ । त्यो बोध गरेकी कञ्चनमाला त्यहाँ अहोरात्र खट्छिन्। गाउँले महिलाको 'हिस्ट्री' महशुस गरे नयाँ सन्तान योजना बनाएदेखि नै उपयुक्त ठाउँमा जाँच गर्न सुझाउँछिन्। गाउँका सवै बच्चालाई खोप लगाएपछि आफ्नो बच्चालाई लगाउँछिन् ।
गाउँका बच्चालाई लगाइसकेपछि किन लगाउने त ? हामीले बिचमै प्रश्न गर्यौं।
कञ्चनमालाले सजिलै उत्तर दिइन्, 'कसैको बच्चा पनि खोप लगाउन नछुटोस् भनेर। आफ्नोलाई लगाउन बाँकी भएमा क-कसले लगाउन बाँकी छ भनेर निर्क्योल गर्न सहज हुन्छ।' आफू अघाएको बेला अरुको भोक महशुस गर्न नसकिने जीवनबोध उनले उहिल्यै गरिसकेकी छिन्।
अझै त्यो क्षेत्रमा राम्रो मोटरबाटो पुगेको छैन। काखे बच्चासहित २-३ घन्टाको उकालो-ओरालो उनले धेरै समय गरिन्। तर, कहिल्यै पनि आफूले गर्नुपरेको दु:ख उनलाई दु:ख जस्तै महशुस भएन। बरु अरुलाई दु:ख पर्ने वातावरण आउन नदिन उनी हरदम लागिरहेकी हुन्छिन्।
विशेषगरी मातृशिशुको जीवन रक्षामा उनको ठूलो योगदान छ। गर्भवती र बच्चाको अवस्था जाँचका लागि अल्ट्रासाउन्डको तालिम लिएकी छिन्। उनले गाउँमै अल्ट्रासाउन्ड सेवा दिइरहेकी छिन्। पछिल्लो तीन वर्षमा उनले जटिल भनेर रिफर गरेका हरेक केसलाई ठूला अस्पतालका रेडियोलोजी विभागले प्रमाणित गरेका छन्। उनले गएको तीन वर्षमा अल्ट्रासाउन्ड गर्दा जटिल देखिएका ७० जना गर्भवती महिलालाई रिफर गरेकी छिन्। उनले गरेको कुनैपनि अनुमान फेल खाएको छैन ।
अल्ट्रासाउन्डको जोहो पनि उनी आफैंले गरेकी हुन्। तालिम लिएर आएको एक वर्षसम्म पालिकाले बजेट अभाव भन्दै किनिदिएन। आफूलाई तालिम दिने वन हर्ट फाउन्डेसनलाई अनुनय गरेरै जुटाएकी हुन्।
नियमित जाँच गरेर अवस्था सामान्य देखिएपनि कतिपय महिला सामान्य रुपमा प्रसुति हुन सक्दैनन्। उनीहरुलाई समयमै रिफर गर्नुपर्छ। त्यसरी रिफर गर्दा सकेसम्म आफैं एम्बुलेन्समा चढेर अस्पतालसम्म पुग्नेगरेको उनी बताउँछिन्। बाटोमा थप जटिल भएमा वा प्रसुति गराउन पर्न सक्ने कुरामा उनी तयारी गरेर बस्छिन्।
केही वर्षअघि उनले एकजना महिलाको त हेलिकोप्टरमै प्रसुति गराउनु पर्योर। 'समय भन्दा तीन महिनाअघि नै व्यथा लागेर आएकी महिलाको हवाइ उद्धार गर्नुपर्ने भयो। त्यसका लागि प्रक्रिया गर्दागर्दै दुई घन्टा बित्यो,' उनले सम्झिइन्, 'बाटोमै केही पर्ला भनेर म पनि हेलिकोप्टरमा बसेर आउँदै थिएँ । हेलिकोप्टरमै प्रसुति गराउनुपर्यो।'
उनले तत्कालका लागि आमा र बच्चाको ज्यान जोगाएर अस्पताल पुर्याझइन्। तर, ८०० ग्राम मात्रै रहेको बच्चा तीन दिन भन्दा बढी जोगिएन। ती आमाले अहिले फेरि छोरी जन्माएकी छिन्। उनको परिवार सन्तान सुख प्राप्तिको श्रेय कञ्चनमालालाई दिन्छ। 'उहाँको त्यसअघि पनि ८ महिनामा बच्चा खेर गएको रहेछ। दोस्रो बच्चा पनि खेर गयो। त्यसकारण बच्चाको योजना बनाएदेखि नै काठमाडौंका अस्पतालमा नियमित जाँचका लागि सल्लाह दिएँ । अहिले छोरी जन्मिएकी छिन्। तिम्रै कारण सन्तानको मुख हेर्न पायौं भन्नुहुन्छ,' उनले भनिन्।
हरेक भेटमा उनलाई त्यो परिवारले सोध्छ, 'के खाने? केही त खाएर जाउ।' आफ्नो कामका कारण प्राप्त त्यो प्रेमबाट उनी भावविभोर हुन्छिन्।
कतिपय बिरामीले आफ्नै जटिलता राम्रोसँग महशुस गर्दैनन्। त्यस्तोबेला उनीहरु भन्दा बढी चिन्ता कञ्चनमालालाई पर्छ। एकपल्ट कञ्चनमालाले अल्ट्रासाउन्ड गर्दा पानी कम भएको पाइन् र उनले बच्चा जन्माउने बेला जटिलता आउने भन्दै काठमाडौं रिफर गरिन्। उनीहरुको परिवार शिक्षण अस्पतालमा पुगेर जँचायो र डाक्टरले फेरि अल्ट्रासाउन्ड गरेर आउन भने। ती महिलाको परिवारले अस्पतालको भीडभाडका कारण फेरि डाक्टरलाई नदेखाइ नुवाकोट फर्किए। रिफर गर्नेको नाम खोज्दै अस्पतालबाट कञ्चनमालालाई फोन आयो। अस्पतालका डाक्टरले भने, 'उहाँहरुको इमर्जेन्सी प्रसुति गराउनु थियो तर अल्ट्रासाउन्ड गराउन पठाएको फर्केनन्।' घ्याङफेदीकी ती बिरामी खोजिन् उनले। एम्बुलेन्स प्राप्त भएन। स्थानीय सडकमा चल्ने बोलेरोमै राखेर आफैं काठमाडौं पुगिन्। बच्चा र आमाको ज्यान जोगियो।
उनीसँग यस्ता अनेक अनुभव छन्, जसले उनलाई आफूले रोजेको पेशाप्रति गर्व महशुस गराउँछ। त्यसैमाथि यसपल्ट निक साइमन्स जस्तो प्रतिष्ठिन संस्थाले उनको कामलाई लिएर सम्मान गरेको छ। यस्ता सम्मानले आफूजस्ता फलको आशा नगरेर कर्म गर्नेहरुलाई हौस्याउने उनी बताउँछिन्।