नेपालमा बाथ रोगका बिरामीका लागि उपचारसहितको सेवा दिन भन्दै छुट्टै संस्थाका रुपमा सञ्चालनमा आएको संस्था हो, राष्ट्रिय बाथ रोग सेन्टर। सेन्टर सञ्चालनमा आएको दश वर्ष भइसकेको छ। यो अवधिमा सेन्टरले कसरी सेवा दिइरहेको छ? कति बिरामीले सेवा पाइरहेका छन्? सेन्टर सञ्चालनका चुनौती, भावी योजना लगायतका विषयमा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिसँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानी:
अस्पताल र स्वास्थ्य संस्थाहरुको भिडमा बाथ रोगमा मात्र केन्द्रित भएर छुट्टै संस्था खोल्ने सोच कसरी आयो?
हामीले सन् २०१२ तिर स्वास्थ्य क्षेत्रमा केही नवीनतम काम गरौं भन्ने सोच बनायौं। नयाँ काम के गर्ने त? हामीले विभिन्न विषयमा छलफल गर्यौं । जस्तो, चेन फार्मेसी, स्पेसलाइज क्लिनिक आदि–इत्यादि। त्यतिबेला बाथ रोग सेन्टर वा बाथ रोगको उपचारका लागि छुट्टै क्लिनिक वा अस्पताल थिएन। त्यसैले यसमा काम गर्दा नयाँ अभ्यास हुन्छ भन्ने लाग्यो।
राष्ट्रका लागि पनि नयाँ सेवा सुरु हुनु राम्रो कुरा थियो। हामीले सेन्टर स्थापना गर्नुअघि यस विषयमा मानिसहरुमा सचेतनाको अवस्था कस्तो छ? भनेर सर्वेक्षण पनि गरेका थियौं। त्यतिबेला बाथ रोग भनेको सामान्य जोर्नीको दुखाइ मात्र हो, पेन किलर खाएपछि निको हुन्छ भन्ने आम बुझाइ रहेछ। बाथ रोथ अटोइम्युनि डिजिज हो। जोर्नी दुख्ने सुन्निने भनेको समस्या हो। रगतमा खराबी हुन्छ, उपचार गर्नुपर्छ भन्ने कुराहरुको जानकारी एकदमै कम थियो। हामीले सन् २०१२ मा बाथ रोग भनेको अटोइम्युन डिजिज हो, समयमै परीक्षण गरौं, जोर्नीहरु बचाउँ भनेर नारा नै बनायौं । त्यससँगै स्पेसलाइजेसन बाथ रोग सेन्टरको अवधारणा बनाएर यो सेन्टर सुरु गर्यौं।
सुरुमा कति जनाले कति लगानीमा यो संस्था सञ्चालनमा ल्याउनु भएको हो?
सुरुवातमा हामीले साढे २ करोड लगानीमा रातोपुल, भक्तपुर र ललितपुरमा तीन ठाउँबाट सेन्टर चलाएका थियौं।
बाथ रोगका मात्र बिरामीलाई उपचार गर्ने भनेर खोलिएको यो संस्थाले सुरुमा बिरामीहरुको चाप र विश्वास कस्तो थियो?
हामीले सेन्टर सुरु गरेपछि पछाडि फर्केर हेर्न परेको छैन। बिरामीले यहाँ आएर सेवा पाएपछि उहाँहरु सन्तुष्ट हुनुभयो। उहाँहरुले नै हाम्रो सेवाबारे अरुलाई जानकारी गराउनु भयो। सेवामा विश्वास र सन्तुष्टिका कारण हामी निरन्तर अघि बढिरहेका छौं।
अहिले संस्थाले दैनिक कति जना बिरामीलाई सेवा दिइरहेको छ?
सुरुका दिनदेखि नै दैनिक ४० जना बिरामीलाई सेवा दिने लक्ष्य लिएर सेवा सुरु गरेका थियांै। सेन्टर सञ्चालन भएको तीन महिनादेखि नै हाम्रो लक्ष्य पनि पूरा हुन थालेको थियो। त्यतिबेला त बाथ रोग भनेको अटोइम्युनि डिजिज हो भनेर सचेतना फैलाउन सक्नु नै हाम्रो लागि ठूलो कुरा भएको थियो। हाम्रा चिकित्सकले क्लिनिकल्ली बिरामीको पहिचान र उपचार गर्न सक्नुभयो, त्यसैले पनि हाम्रो सेन्टर अहिले राम्रो चलिरहेको छ। अहिले हामीले दैनिक २०० बिरामीलाई सेवा दिइरहेका छौ।
सेन्टरको स्थापना भएको १० वर्ष भइसक्यो । यो अवधिमा कस्ता–कस्ता चुनौतीहरुको सामना गर्नुपर्यो?
सबैभन्दा ठूलो चूनौती त प्रविधि नै थियो। हामीले सेन्टर सुरु गर्दा इएनए प्यानल भन्ने १८ एन्टिबडिको परीक्षण गर्ने प्रविधि ल्याउन चूनौतीपूर्ण थियो। त्यो टेक्नोलोजी बल्लतल्ल नेपालमा ल्यायौ, ल्याइसकेपछि पनि त्यसलाई सही तरिकाले परिचालन गर्न दक्ष नजशक्ति आवश्यक थियो। हाम्रो लागि त्यो ठूलो चुनौतीको विषय थियो। समयसँगै हामीले प्रविधिको प्रयोग दक्ष जनशक्तिबाट गर्न सक्यौं त्यो प्रविधिको उपयोग गरेपनि अन्य प्रविधि भित्र्याउन पनि हामीलाई सहज भयो।
संस्थामा हाल कति जनशक्ति कार्यरत छन्?
बाथ रोग सेन्टरमा मात्र अहिले हामीसँग ६ जना बाथ रोग विशेषज्ञ मात्र हुनुहुन्छ। सबै जनशक्ति गरेर हामीसँग ६५ जना जनशक्तिले सेन्टर चलाइरहेका छौं।
बाथ रोगका क्षेत्रमा तपाईंहरुको लामो अनुभव भइसक्यो। यही क्षेत्रमा काम गर्ने क्रममा सरकारले के कुरामा सहयोग गर्दा बिरामीले थप सुविधा पाउने महसुस गर्नुभएको छ?
सरकारले यो रोगबारे सचेतनको कार्यक्रममा पहल गर्न आवश्यक छ। सचेत भयो भने हामीजस्तो हेल्थ केयर सेन्टरलाई पनि सेवा दिन सहज हुन्छ। रोग लागेपछि उपचार मात्र होइन, रोग लाग्नै नदिन वा रोग लागेको छ वा छैन भनेर पहिचान र निदानका लागि सहज हुन्छ। बिरामीको छिटो उपचार गर्न सकियो भने मानिसको ऊर्जाशिल समय यतिकै खेर जाँदैन। बाथ रोग २५ वर्षको उमेरमा लागेको छ भने उनीहरुलाई समयमै रोगबारे जानकारी पनि हुन्छ र त्यसको समयमै उपचार गराउँदा बाथ रोगबाट हुने असर न्युनिकरणमा सहयोग पुग्छ रे आफ्नो ऊर्जाशील समयको सदुपयोग गर्न पनि सक्छ।
सचेतनाको पाटोमा हामी सरकारसँग सहकार्य गरेर अगाडी बढ्न पनि चाहन्छौं। सरकारले के गर्छ भनेर हेर्ने मात्र होइन। सरकारलाई के कुरामा सहयोग गर्न सकिन्छ भनेर पनि हेर्न जरुरी छ। सचेतनाको पाटोमा सरकारसँग सहकार्य इच्छा छ।
सेन्टरबाटै दिने सेवाबाहेक स्वास्थ्य शिविर लगायतका अन्य तरिका वा स्थानबाट पनि सेवाहरु दिने गर्नुभएको छ?
हामीले वार्षिक रुपमा ६० वटा स्वास्थ्य शिविर गर्दै आएका छांै। हाम्रा अन्य ठाउँहरुमा रहेको ब्रान्च अफिसहरुबाट पनि सेवा दिँदै आएका छौ। देशभर नै बेला–बेलामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छांै। शिविरको उद्देश्य भनेको बाथ रोगको उपचारको पहुँचमा नरहेका बिरामीलाई सेवा दिने र यसका विषयमा सचेतना जगाउने हो।
सेन्टरमा पहिलोपटक उपचारका लागि आउने बाथ रोगको समस्या भएका बिरामीको बुझाइ कस्तो हुने रहेछ?
सुरुमा त दुखाइ भएरै बिरामी आएका हुन्छन्। उनीहरुलाई समस्या के भएको भन्ने नै थाहा हुँदैन। आम मानिसको सोचाइ बाथ रोग भनेको युरिक एसिड होला भन्ने हुन्छ। तर हाम्रा चिकित्सकहरुले बारम्बार भन्ने गर्नुहुन्न हरेक युरिक एसिड बाथ रोग हुँदैन। यसका पनि विभिन्न प्रकारका हुन्छन्।
के भएको हो भनेर अन्यौल अवस्थामा आएका बिरामीको रोग पहिचान गरेर उपचार सेवा दिन पाउँदा हामी खुसी हुन्छौं। उनीहरुलाई पनि समस्या पत्ता लगाएर सही उपचार पाउदा खुसी हुन्छन्। अर्को कुरा उपचार पछि दुखाइबाट राहत मिलेपछि औषधि छोड्दा फेरि समस्या बल्झिएको पनि देखिन्छ। अहिले बाथ रोग भएका ४५ प्रतिशत मात्र बिरामी मात्र नियमित उपचारमा छन्। त्यसैले बाथरोगको विषयमा अझ धेरै सचेतना जगाउन आवश्यक छ।
अब संस्थाले विस्तारका के योजना बनाएको छ? तत्कालिन र दीर्घकालिन योजनाहरु के–के छन्?
हामीले सेन्टर विस्तारको योजना तय गरिसकेका छौं। प्रदेश २ र ७ मा पनि सेन्टरको शाखा स्थापना गर्दैछौं। आगामी केही महिनामै धनगढी र जनकपुरबाट सेवा दिन गइरहेका छौं। सेवा केन्द्रमा मात्र राखेर सबै बिरामीलाई सेवा दिन सम्भव हुँदैन, त्यसैले हाम्रो सेवालाई सबै जिल्लामा विस्तार गर्ने काम गरिरहने छौं। अर्को लक्ष्य भनेको सेवा विस्तार गर्ने र बाथ रोगको नविनतम प्रविधि भित्र्याउने र उपयोग गर्ने हो।