काठमाडौं- शिक्षा, स्वास्थ्य तथा वातावरण क्षेत्रका विज्ञहरुले स्वास्थ्य तथा वातावरण शिक्षा मात्रै नभइ चेतनाको जरुरी भएको बताएका छन्। ललिपुरस्थित हिमालय होटेलमा आयोजित नेपाल शिक्षा सम्मेलन २०२४ को 'दिगो भविष्यका लागि स्वास्थ्य तथा वातावरण शिक्षा'मा बहश गर्दै यस्तो बताएका हुन्।
उक्त सेसनको अध्यक्षता गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी भएपनि कार्यान्वयनमा ल्याएको नपाइएको बताए। उनले भने, 'साबुनपानीले हात धुनुपर्छ भन्ने थाहा छ । धुलोधुवाँ र भाइरसबाट जोगिन मास्क लगाउनुपर्छ भन्ने शिक्षा छ तर व्यवहारमा ल्याएको पाइएन र कोभिडकालमा हामीले फेरि भन्नुपर्ने अवस्था आयो।'
स्वास्थ्यमा बजेट समेत कम रहेको उनले बताए। उनले थपे, 'स्वास्थ्यका लागि कम्तिमा १० प्रतिशत बजेट छुट्याउनुपर्ने विश्वव्यापी मान्यता छ। तर, हामीकहाँ अझै त्यो लागु भइसकेको छैन। जसले गर्दा स्वास्थ्य र वातावरणीय स्वास्थ्यमा अपेक्षित काम हुन सकेका छैनन्।'
मदन भण्डारी प्राविधिक विश्वविद्यालयका प्राज्ञिक सल्लाहकार सञ्जयनाथ खनालले परम्परागत दृष्टिबाट स्वास्थ्य र वातावरणलाई हेर्न नहुने बताए। विश्वविद्यालयहरुले दिइरहेको वातावरण शिक्षा व्यवहारिक रहे/नरहेको विषयमा समेत सोच्नु्पर्ने बेला आएको बताए। उनले थपे, 'विश्व विद्यालयको शैक्षिक उत्पादन र उनीहरुको थेसिस कुन हदसम्म सरकारी नीति निर्माणमा सहयोगी भएको छ?'
नेपालमा वातावरण र स्वास्थ्यसँग जोडिएर विभिन्न अनुसन्धान भइरहे पनि दुवै क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ता जोडिएर नीति निर्माणमै प्रभाव पार्ने अनुसन्धान हुन नसकेको त्रिचन्द्र कलेजकी सहप्राध्यापक समेत रहेकी डा ज्योती गिरीले बताइन्। 'पेपर पब्लिकेसन्सका आधारमा हेर्दा विगतका डेटालाई जोड्ने काम बढी भएको छ । क्युमिलेटिभ रिसर्च भएको छैन,' उनले भनिन्।
विद्यालय तहदेखि नै विज्ञान, वातावरण र जनसङ्ख्याका पाठ्यक्रमहरु रहेको वातावरण विभागका उपमहानिर्देशक तारदत्त भट्टले जानकारी दिए। 'जति शिक्षा दिएपनि मानिसको बानी व्यहोरामा सुधार भएको नदेखिनुले थप प्रभावकारी शिक्षा जरुरी भएको उनले बताए। जसका लागि विभाग र अन्य निकायले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।
वातावरणले स्वास्थ्यमा पारिरहेको असरबारे प्रशस्त अनुसन्धान भएको विश्व स्वास्थ्य संगठनका राजाराम पोटे श्रेष्ठले बताए। उनले वातावरणीय प्रदुषणका कारणले वार्षिक करिव २६ लाख मानिसको मृत्यु भइरहेको बताए। वायु प्रदुषणका कारणले मात्रै पनि दैनिक १०० जनाको मृत्यु भइरहेको उल्लेख गरे।
नेपालले वातावरणीय प्रदुषणबाट स्वास्थ्यमा पार्ने असरका लागि नीति पनि बनाएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि बजेट भने प्रशस्त नभएको उल्लेख गरे।