काठमाडौं - सरकारका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु आगामी शैक्षिक सत्रदेखि नै चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको एमबीबीएस कार्यक्रम सुरु गर्न पाठ्यक्रम तयारीमा जुटेका छन्। ६ वटा प्रतिष्ठानले तीन दिनसम्म विज्ञहरुसँग बसेर छलफल गर्दै पाठ्यक्रमका लागि पहिलो चरणमा साझा ढाँचा (फ्रेमवर्क) तयार पारेका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा पाठ्यक्रम तयार पार्ने काम भइरहेको हो। पहिलो चरणमा धुलिखेलमा भएको तीन दिने छलफलमा पाठ्यक्रमको फ्रेमवर्क तयार भएको हो।
अब त्यही फ्रेमवर्कमा टेकेर सबै प्रतिष्ठानका प्रतिनिधिहरु सम्मिलित एउटा कार्यदल बनाएर पाठ्यक्रम निर्माणका लागि थप काम अगाडि बढ्ने न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए। 'सबै प्रतिष्ठानका पदाधिकारीहरु र विज्ञहरुसँग भएको तीनदिने छलफलले पाठ्यक्रम निर्माणका लागि एउटा आधार तयार पारेको छ,' उनले भने, 'अब एउटा कार्यदल बनाएर थप गहन छलफल तथा गृहकार्य गरेर पाठ्यक्रम तयार पार्ने काम हुन्छ। उक्त कार्यदलमा ६ वटै प्रतिष्ठानका प्रतिनिधिहरु रहनेछन्।'
न्याम्सका डीन डा अशेष ढुंगानाले तीन दिने छलफल निकै फलदायी रहेको र पाठ्यक्रम निर्माणका लागि आधार तयार भएको बताए। 'छलफल निकै फलदायी भयो। छलफलमा आएका सुझाब र उठाइएका विषयहरुलाई सुक्ष्म रुपमा विश्लेषण गर्दै पाठ्यक्रम निर्माणको काम अगाडि बढ्छ,' उनले भने, 'छलफलपछि अब हाम्रो देशको आवश्यकता र भूगोल हेरेर पाठ्यक्रम निर्माण हुन्छ।'
तीन दिने संयुक्त छलफलमा चिकित्सा शिक्षा आयोगको एमबीबीएस सम्बन्धि पाठ्यक्रमको फ्रेमवर्क, न्याम्स र पोखरा स्वास्थ्य विज्ञानले तयार पारेका पाठ्यक्रमको फ्रेमवर्क र प्रारम्भिक मस्यौदा प्रस्तुत गर्दै छलफललाई अगाडि बढाइएको थियो। त्यसपछि एमबीबीएसको पाठ्यक्रममा रहेने विषयवस्तुहरुलाई विभिन्न समूहमा विभाजन गर्दै सुझाब लिने काम भएको थियो।
छलफलमा छ वटै प्रतिष्ठानका उपकुलपति, रेक्टार, डिन, रजिष्ट्रार लगायतका प्रतिनिधिहरु सहभागी भएका थिए। यसका साथै प्रतिष्ठानसँग जोडिएका अन्य प्रतिनिधिहरु र विज्ञहरुको पनि सहभागिता रहेको थियो। 'झण्डै एक सय जना जति विज्ञहरुसँग पाठ्यक्रमका विषयमा छलफल भएको छ,' उपकुलपति डा बस्नेतले भने।
डा बस्नेतका अनुसार सरकारका ६ वटै प्रतिष्ठानमा यसै वर्षदेखि पठनपाठन सुरु हुने हो भने ६ सय जनाले एमबीबीएस अध्ययन गर्न पाउने ढोका खुल्ने छ। जसमध्ये ४५० जनाले छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने छन्।
'सरकारका यी ६ वटै प्रतिष्ठानसँग पर्याप्त मात्रामा फ्याकल्टी छ। अस्पताल छ। बिरामीको संख्या पनि पर्याप्त छ। अब केही बेसिक साइन्सका फ्याकल्टी र कक्षाकोठा थप्ने हो भने सबै मापदण्ड पूरा हुने छ,' डा बस्नेतले भने, 'सबै मापदण्ड पूरा भएका कलेजलाई चिकित्सा शिक्षा आयोगले बढीमा एक सय कोटा दिने हो भने ६ सय विद्यार्थीलाई एमबीबीएस अध्ययनको ढोका खुल्ने छ।'
पाठ्यक्रमलाई सेमेस्टर प्रणाली अनुसार तयार पार्ने, अध्ययनका क्रममा विद्यार्थीहरु फेल भए भने उनीहरुको पुन परीक्षा (ब्यारिएर), पाठ्यभारहरु ओभरल्याप हुने र डुब्लिकेसन हुने विषय, बेसिक र क्लिनिकल साइन्सका लगायतका विषयमा धेरै नै छलफल भएको छलफलमा सहभागि प्रतिनिधिहरुले बताएका छन्।
![mbbs curriculum prog1.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-04-19/mbbs curriculum prog1.jpg)
![mbbs curriculum prog2.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-04-19/mbbs curriculum prog2.jpg)
![mbbs curriculum prog3.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-04-19/mbbs curriculum prog3.jpg)
![mbbs curriculum prog4.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-04-19/mbbs curriculum prog4.jpg)
![mbbs curriculum prog5.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-04-19/mbbs curriculum prog5.jpg)
![mbbs curriculum prog7.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-04-19/mbbs curriculum prog7.jpg)
![mbbs curriculum prog8.jpg](https://swasthyakhabar.com/uploads/editor/2024-04-19/mbbs curriculum prog8.jpg)