मौसम परिवर्तनसँगै छालामा समस्याहरु बढ्न थाल्छन्। मौसम अनुसार जाडो र गर्मीमा छालामा भिन्नाभिन्नै प्रकृतिका समस्याहरु देखिने गर्छन्।
हावामा आद्र्रताको मात्रा बढेसँगै छालामा इन्फेक्सन समेत बढ्दै जान्छ। दाद तथा फंगल इन्फेक्सन महिला तथा पुरुष दुवैमा बढी गर्मीमा देखिने समस्या हुन्।
गर्मी मौसममा विशेषगरी शरीरको पसिना बढी आउने भागमा दाद आउने गर्छ। त्यसैगरी यस समयमा जोसुकैलाई पनि ब्याक्टेरियल इन्फेक्सन बढी हुने गर्छ।
गर्मी समयमा जाडोको तुलनामा छालामा बढी मात्रामा पिलो आउने गर्छ। शरीरमा कपाल आउने स्थानका प्वाल थुनिएर पनि पिलो आउने गर्छ।
गर्मीमा बढी घाम लाग्ने तथा त्यसको असर छालामा पर्ने भएकोले चायाँ पोतो तथा डन्डीफोरको समस्याले बढी सताउँछ।
पसिना धेरै आउने तथा हाइपर हाइड्रोसिसको समस्या समेत धेरै मानिसमा हुने समस्या हो। हातगोडामा अत्यधिक मात्रामा पसिना आउने समस्याले गर्मीमा धेरै मानिसलाई असहज बनाइदिन्छ।
गर्मीमा बढ्छ फंगल इन्फेक्सन
घामको विकिरणका कारण धेरै मानिसमा घामको एलर्जी हुने गर्छ। शरीरका जुनसुकै भागमा रातो डाबरजस्तो फोकाहरु आउने समस्या धेरैमा हुन्छ।
शरीरमा बढी गुम्सिने भागहरुमा गर्मीको समयमा फंगल इन्फेक्सन बढी हुने गर्छ।
गर्मीमा छालाको स्याहार कसरी गर्ने?
प्रत्येक मानिसले मौसममा आएको परिवर्तनसँगै स्किन केयर रुटिङ पनि परिवर्तन गर्नुपर्ने हुन्छ।
जाडो मौसममा छाला सुख्खा हुने समस्या धेरै मानिसमा हुन्छ। त्यतिबेला छालालाई सुख्खा हुनबाट कसरी जोगाउने भन्नेतर्फ ध्यान केन्द्रित हुने गर्छ।
गर्मी मौसममा भने बढी पसिना आउने तथा तैलीय पदार्थहरु बढी आउने भएकोले त्यसै अनुसार छालाको हेरचाह गरिन्छ।
गर्मी मौसममा छालामा लागि लाइट वेटका सौन्दर्य सामग्रीहरुको प्रयोग गर्नुपर्ने हुन्छ। जेलवेसका मोस्टराइजरहरुको प्रयोग गर्मी मौसममा उपयुक्त हुन्छ।
त्यस्तै गर्मी मौसम तथा घामका विकिरणहरुबाट जोगिनका लागि गर्मी मौसममा सन्सक्रिमको प्रयोग अत्यावश्यक हुन्छ।
चिकित्सकको सल्लाह तथा छालाको प्रकृति अनुसारका सामग्रीहरुको प्रयोग गर्नुपर्ने हुन्छ।
यद्यपि, गर्मीयाममा छालामा सुख्खापनको समस्या एकदमै कम मानिसमा मात्रै हुने गर्छ।
छालाको प्रकृति अनुसार क्रिमको छनोट र प्रयोग कसरी गर्ने?
छालाको स्याहार कुन उमेरदेखि गर्ने भन्ने एक महत्वपूर्ण पक्ष हो। सामान्यतया बच्चाहरु ६ महिना पूरा भइसकेपछि बच्चाहरुमा समेत सन्सक्रिमको प्रयोग गर्नका लागि चिकित्सकहरुले सुझाव दिने गर्छन्।
किशोर अवस्थामा शरीरमा विभिन्न प्रकारका हर्माेनल परिवर्तन हुने गर्छ। विशेषगरी किशोर अवस्थामा प्रवेश गरेपछि छालाको विशेष ख्याल गर्नुपर्ने हुन्छ।
सामान्यतया १४ वर्ष पुगिसकेपछि छालाको स्याहारका लागि विभिन्न प्रकारका सामग्रीहरुको प्रयोग गर्नुपर्ने हुन्छ। छालाको स्याहारका लागि कस्मेटिकको सुरुवात गर्दाको समयमा छाला रोग विशेषज्ञको सल्लाह अनुसार अगाडि बढ्नुपर्ने हुन्छ।
छाला स्याहार सम्बन्धी सचेतना बढ्दै
पछिल्लो समय छालाको हेरचाह सम्बन्धी सचेतना बढ्दै गएको पाइन्छ। पहिले–पहिले छालाको उपचार भन्ने बित्तिकै नाक खुम्च्याउने मानिसहरु पनि छालाको स्याहारमा सचेत भएको पाइन्छ।
जसरी शरीरका अन्य अंगहरुको स्याहारका लागि समयसमयमा विभिन्न प्रकारका परीक्षणको आवश्यकता पर्ने गर्छ त्यसैगरी छालाको पनि स्याहार गर्नु आवश्यक हुन्छ।
पछिल्लो समय बढ्दो वायु प्रदुषण, विकिरणको उच्च तह जस्ता कुराहरुले छालामा विभिन्न प्रकारमा समस्याहरु देखिने गरेका छन्।
छालाको स्याहारमा लागि बेसिक स्किन केयरका साथै दैनिक खानपान तथा जीवनशैलीमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।
हरियो सागसब्जी, फलफूलको प्रशस्त मात्रामा प्रयोग, प्रशस्त मात्रामा पानीको प्रयोग छालाका स्याहारका साथै समंग्र स्वास्थ्यका लागि नै लाभदायक मानिन्छ।
(छाला रोग विशेषज्ञ डा भुसाल मिराकल स्किन, हेयर एन्ड एस्थेटिक क्लिनिकमा कार्यरत छिन्।)