पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालसहित विश्वभर वायू प्रदुषण बढ्दै गएको छ। वायुप्रदुषण र जलवायु परिवर्तनका कारण मौसम समेत राम्रो हुन सकेको छैन। धुवाँ, धुलो, वायुप्रदुषण, वंशाणुगत गुण, घरमा धूम्रपान, मोटोपना,कम तौल जन्मिनु आदि कारणले बालबालिकामा दमको समस्या अत्याधिक बढेको पाईन्छ।
ग्राण्डी अस्पतालमा आउने १०० जना बिरामीमध्ये ५ देखि १० जना बिरामी दमका हुने गरेको छ। बालबालिकामा मौसम परिवर्तन, चिसोका कारण, रूघाखोकि, भाईरल ज्वरो हुँदा, श्वासप्रश्वास नली साँघुरिंदा दमको समस्या हुने गरेको छ। श्वासप्रश्वास नली साँघुरिंदा खोकी बढी मात्रामा लाग्ने समेत गर्दछ। रुघाखोकी बारम्बार लाग्ने, सुत्ने र उठ्ने बेलामा लाग्ने, दौडिँदा, हाँस्दा, खेल्दा बोल्दापनि बढी खोकी लाग्ने, एन्टिबायोटिक खाँदा एक दुई हप्ता ठिक हुने र बल्झिने, घ्यारघ्यार आवाज आउने यस्तो भएमा दम भएको हुनसक्छ। यस्तो भएमा तत्काल विशेषज्ञ चिकित्सककोमा लैजानुपर्छ।
ठिक समयमा दम भएको पत्ता लागेमा दमको उपचार गर्न सकिन्छ। अन्यथा, दम दिर्घरोग भएर जान सक्छ। दमबाट हुने समस्यालाई कम गर्न इन्हेलरको प्रयोग गर्न सकिन्छ। इन्हेलर विभिन्न खालका हुन्छन्। जसलाई डाक्टरको सल्लाह बमोजिम प्रयोग गर्नुपर्ने हुन्छ। बच्चाहरूमा मुख्यत दम एलर्जीबाट हुने हुँदा ठीकसँग औषधि लिएमा पछि गएर आफै हराऊन सक्छ र लामो समय इन्हेलर लिइ रहनुपर्ने आवस्यकता रहंदैन।
दमका विरामीबाहेक अस्पताल आउने अन्य बिरामीमा रुघाखोकी, निमोनिया, टन्सिलाइटिस र ज्वरोका बिरामी बढी आउने गरेका छन्। रुघाखोकीका बिरामी अत्याधिक रुपमा बढेको छ। बिरामी बच्चाहरु स्कुलमा पठाउँदा अन्य बच्चा समेत बिरामी हुने गरेको पाइन्छ। मौसम परिवर्तन र खानपानमा विशेष ध्यान नदिँदा श्वासप्रश्वासका बिरामी अत्यधिक बढेका छन्।
(बाल, एलर्जीतथादमरोगविशेषज्ञ थापाग्राण्डीअस्पतालमा कार्यरत छन्।)