काठमाडौं- चिकित्सा शिक्षा आयोगका चार निर्देशकले जिम्मेवारी सम्हालेका छन्। प्राडा सुदीप आचार्य, प्राडा गुरु खनाल, प्राडा सुजनबाबु मरहठ्ठा र प्राडा सरला श्रेष्ठले सोमबार नियुक्ति पत्र बुझ्दै कार्यभार सम्हालेका हुन्।
डा आचार्य यसअघि नेपाल मेडिकल काउन्सिलको सदस्य भएर काम गरेका थिए। उनले चिकित्सा शिक्षा आयोगको विज्ञ समूहमा समेत रहेर काम गरेका छन्। डा गुरु खनाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व रजिष्ट्रार हुन्। डा मरहठ्ठा जनस्वास्थ्य विज्ञ हुन्। डा सरला महाराजगन्ज नर्सिङ क्याम्पसकी पूर्व प्रमुख हुन्।
उनलाई आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले नियुक्ति पत्र दिएका छन्। समितिले सिफारिस गरेका नामहरुका आधारमा उपाध्यक्षले नियुक्त गर्ने व्यवस्था चिकित्सा शिक्षा ऐनमा रहेको छ।
आयोगका निर्देशक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ३० असोजमा डा फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए। समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य थिए।