स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कुनै पनि दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताएका छन्।
बुधबमर लागू औषध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले विदेशी दिन्छन् र काम गर्छु भन्ने आसमा स्वास्थ्य मन्त्रालय नबस्ने भन्दै मन्त्रालयलाई आफूले आजैबाट आत्मनिर्भर बन्ने कार्यविधि बनाउन निर्देशन दिने बताए। उनले नेपालमा बसेर नेपालकै विरोध गर्ने र लगानी गरेन भन्नेजस्ता आरोप नलगाउन विभिन्न सङ्घ संस्थाहरूलाई आग्रह गरे।
मन्त्री यादवले एनजिओ, आइएन्जिओको सहयोग नेपालमा रहेको र सरकारले स्वागत पनि गरिरहेको भन्दै नेपाल सरकारले केही गरेन भन्ने जस्ता अभिव्यक्ति नदिन चेतावनी दिए। उनले कसैको सहयोगको आस गर्न नपर्ने गरी मन्त्रालयको कार्यविधि बनाइ लागू गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन समेत दिए।
मन्त्री यादवले लागू औषध दुर्व्यसनीबाट आफ्ना नागरिकलाई बचाउन सरकार एकबद्ध भएर लाग्ने बताए ।