काठमाडौं- १२ औं स्वास्थ्यखबर हेल्थ अवार्ड २०८१ मा उत्कृष्ट डाक्टर, नर्स र जनस्वास्थ्य सेवीका लागि आवेदन खुला गरिएको छ। डिजिटल हेल्थका विभिन्न विधामा यसअघि नै आवेदन मागिएकोमा असार मसान्तसम्मका लागि समयावधि थप गरिएको जुरी कमिटीले जनाएको छ।
उत्कृष्ट डाक्टर, नर्स र पब्लिक हेल्थ प्रोफसनल भने नियमित स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत दिन लागिएको हो। त्यसका लागि सरकारी प्रणाली (स्थानीय, प्रदेश र संघीय सरकारका स्वास्थ्य संस्था)मा रहेर सेवा दिइरहेकाहरुले आवेदन दिन पाउनेछन्।
दुर्गम क्षेत्रमा रहेर सेवा दिएको, न्युन स्रोतसाधनमा पनि धेरै सेवा दिने प्रयास गरेको, स्वास्थ्य सेवालाई सहज र पहुँचयोग्य बनाउन विभिन्न गतिविधि गरेको र असहज परिस्थितिमा समेत जोखिम मोलेर काम गरेकाहरुले यी विधामा आवेदन दिन सक्नेछन्।
असार मसान्तभित्र आवेदन वा सिफारिस आइसक्नुपर्नेछ। आवेदक तथा सिफारिसमध्येबाट उत्कृष्ट एक-एक जनाले भदौ ७ गते विशेष समारोहमा अवार्ड प्राप्त गर्नेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा उक्त अवार्ड हुँदै आएको छ। स्वास्थ्य खबर फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा यसपल्ट डिजिटल हेल्थ कन्फरेन्स पनि हुनेछ। कन्फरेन्समा स्वास्थ्य सेवामा डिजिटल प्रविधिको प्रयोगले पारेको प्रभाव, नयाँ प्रविधि र स्वास्थ्य प्रणालीमा हुनुपर्ने परिवर्तनका विषयमा बहश हुनेछन्। केही विधाका अवार्ड डिजिटल हेल्थमा केन्द्रीत हुनेछन्।
अवार्डका लागि आफैंले आवेदन तथा अरु कसैले सिफारिस गर्न सक्नेछन्। आवेदन गर्दा वा सिफारिस गर्दा संस्थाको नाम, गरेको काम, अवार्डको विधा उल्लेख गर्नुपर्नेछ। आवेदन वा सिफारिस [email protected] मा पठाउन सकिनेछ। अवार्ड र कन्फरेन्सका लागि स्वास्थ्य खबर फाउन्डेसनको बेबसाइट https://www.swasthyafoundation.org/ मा गएर रजिस्ट्रेसन पनि गर्न सकिनेछ।