काठमाडौं- नेपाल चिकित्सक संघले डा मुकेश कुमार साहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।
नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं मनिषा हेल्थकेयर प्रा.लि. नवलपुर, सर्लाहीमा कार्यरत डा मुकेश कुमार साहमाथि नगरपालिकाका उप-मेयरको उपस्थितिमा त्यस वडाध्यक्ष लगायत अन्य व्यक्तिहरुबाट सांघातिक आक्रमण भएको भन्दै संघले दोषीलाई कारबाहीको माग गरेको छ।
महासचिव डा सन्जिब तिवारीले इलाका प्रहरी कार्यालय लालबन्दीमा असार २४ गते जाहेरी दिइएकोमा अहिलेसम्म पनि दोषीलाई कुनैपनि कारवाही नभएको बताए।
उनले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकमाथि भएको यस्तो निन्दनीय कार्यको नेपाल चिकित्सक संघ घोर भत्सर्ना गर्दै उक्त घटनामा संलग्न दोषीलाई "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन, २०६६ (पहिलो संशोधन), २०७९" मा व्यवस्था भए बमोजिम अविलम्ब कडा कानूनी कारबाही गर्न माग गरे।