काठमाडौँ- नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १७९ औँ पटक रक्तदान गरेका छन्।
नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखाद्वारा शनिबार आयोजित रक्तदान कार्यक्रममा उनले १७९ औँ पटक रक्तदान गरेका हुन्।
यसअघि गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले केन्द्रीय अध्यक्ष कर्माचार्यलाई १७९ औँ पटक रक्तदान गर्न रक्त संकलन थैली हस्तान्तरण गरेका थिए। त्यसपछि कर्माचार्यले रक्तदान गरेर कार्यक्रमको औपचारिक शुभारम्भ भएको थियो।
सो अवसरमा उनले पहिलेको तुलनामा स्वयंसेवी रक्तदाता बढे पनि बिरामीसंख्या नघटेकोले अहिले देशभर रगत आभाव भएको बताए।
उनले ४५ केजी तौल भएका प्रत्येक स्वस्थ यूवाहरुले आफ्नो १८औं जन्मोत्सवसँगै रक्तदान कार्यक्रममा लाग्न आग्रह गरे।