काठमाडौं- त्रिभुवन विमानस्थलमा नजिकै भएको विमान दुर्घटनामा पाइलटबाहेक कोही जीवित नभेटिएको उद्धारकर्ताले जनाएको छ। उद्धारका लागि पुगेको टोलीका एक सदस्यका अनुसार अहिले शव निकाल्ने क्रम जारी छ।
सौर्य एअरलाइन्सको ९ एनए एमई कलसाइनको जहाज दुर्घटनामा परेको हो। पाइलट घाइते अवस्थामा अस्पताल पुर्यासइएपछि चिकित्सकको टोली समेत घटनास्थल पुगेको थियो। घटनास्थल पुगेका चिकित्सकले भने, 'हामी पुग्दा आगो निभाइएको थियो तर सबै जलिसकेको अवस्थामा थिए।'
अहिलेसम्म १८ शव निकालिसकिएको बताइएको छ। बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो।