काठमाडौं उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरमा गत साउन ९ गतेदेखि ३ दिनसम्म विशेष खोप अभियान सञ्चालन गरिएको थियो। उक्त अभियानले लक्ष्यभन्दा बढी बालबालिकालाई खोप प्रदान गर्न सफल भएको काठमाडौं जनस्वास्थ्य कार्यालयले जनाएको छ। काठमाडौंमा टुकुचा नदीको संगमस्थलमा पोलियोको परिवर्तित भाइरस देखिएपछि सरकारले विशेष खोप अभियान सञ्चालन गरेको थियो।
नेपालमा वि.सं २०६७ साल अर्थात् १४ वर्षदेखि नै पोलियो रोग देखिएको छैन। विश्व स्वास्थ्य संगठनले समेत नेपालबाट पोलियो उन्मुलन भएको घोषणा १० वर्ष अगाडि नै गरेको छ। छिमेकी मुलुकहरु अफगाननिस्तान तथा पाकिस्तानमा प्राकृतिक रुपमा नै पोलियो भाइरस पाइने गर्छ। अन्य मुलुकहरुमा पनि पोलियो भाइरस देखिने क्रम रोकिएको छैन। जबसम्म विश्वव्यापी रुपमा नै पोलियो उन्मुलन हुन सक्दैन जबसम्म हामीले रोगप्रति सजग हुनु आवश्यक छ।
सोही अनुसार नेपाल सरकारले नेपालमा पोलियो लाग्न नदिनका लागि दुई प्रकारले काम गरिरहेको छ। जस्तै १ वर्ष नपुग्दै बालबालिकाहरुलाई दुई प्रकारको पोलियो खोप दिने गरिएको छ। जसमा मुखबाट दिने पोलियो थोपा र सुईंको माध्यमबाट दिने खोप पर्छन्। त्यस्तै समुदायमा पोलियो रोगबाट ग्रत बालबालिका छन् कि छैनन् भनी हामीले निरन्तर रुपमा निगरानी पनि गरिरहेका छौं। यदि कोही बालबालिकामा लुतोपना तथा शरीरको कुनै पनि अंगको पक्षघात हामीले पायौं भने त्यस्ता बिरामी बालबालिकाको सम्पूर्ण परीक्षण गर्नुका साथ साथै नमुना संकलन गरी बालबालिकालाई पोलियो भए नभएको हामीले सुनिश्चित गर्ने गरेका छौं।
नेपालमा विगत १४ वर्षदेखि पनि कुनै मानिसमा पोलियो नदेखिएपनि हामीले वातावरणमा समेत पोलियोको भाइरस भए नभएको निगरानी गर्दै आइरहेका छौं। पोलियो संक्रमित व्यक्तिको दिसाबाट बाहिर निस्कने तथा दूषित खाना वा पानीको माध्यमबाट अन्य व्यक्तिमा सर्ने गर्छ। त्यसकारण जहाँका नदीहरुमा ढल मिसिएको छ , ती स्थानहरुबाट नमुना संकलन गरेर नियमित रुपमा परीक्षण गर्दै आएका छौं।
काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानहरुबाट त्यस्तै काठमाडौं बाहिर मधेस प्रदेश,गण्डकी प्रदेशमा पनि हामीले महिनाको एक पटक नमुना संकलन गरेर विदेशको प्रयोगशालामा पठाएर स्वरुप परिवर्तन भएको पोलियो भाइरस भए नभएको निगरानी समेत हामी गर्छाैं। निगरानीको कार्यक्रमलाई निरन्तरता दिने क्रममा हामीले गत जेठ १३ गते टुकुचा तथा बाग्मती नदीको संगमस्थलमा गरेको नमुना परीक्षणका क्रममा हामीले स्वरुप परिवर्तन भएको पोलियो भाइरस फेला पारेका थियौं।
यसले काठमाडौं उपत्यकाका बालबालिकाहरु पोलियो जोखिममा रहेकोले हामीले पोलियो विशेष अभियान सञ्चालन गरेका हौं। पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरु पोलियो उच्च जोखिममा हुने भएकोले हामीले बालबालिका लक्षित विशेष खोप अभियान सञ्चालन गरेका हौं। हामी सबैको सामुहिक प्रयासका कारण नै नेपाल पोलियोमुक्त हुन सफल भएको छ। यद्यपि अन्य मुलुकहरुमा पोलियो देखिदासम्म नेपालमा पनि पोलियो जोखिम कायम नै रहन्छ। सन् २०२६ सम्म पोलियोलाई विश्वव्यापी रुपमा नै उन्मुलन गर्ने लक्ष्य लिइएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले बाल स्वास्थ्य तथा खोप सेवा शाखा,मात्तृ तथा नवजात शिशु शाखा,पोषण तथा प्रजनन् स्वास्थ्य तथा परिवार योजना शाखाको माध्यमबाट सेवा दिदैं आइरहेको छ। विशेषगरी गर्भवती महिला,नवजात शिशु, बालबालिका,किशोर किशोरीहरु लक्षित कार्यक्रमलाई हाम्रो महाशाखाले प्राथमिकतामा राखेको छ।