विश्व स्तनपान सप्ताह सन् १९९२ बाट मनाउन सुरु गरिएको भन्ने भनाइ छ। विभिन्न तथ्यांक अनुसार विश्व स्तनपान सप्ताह अहिले आएर १२० भन्दा बढी देशहरुले मनाउने गरेको पाईन्छ। विश्व स्तनपान संगठन, युनिसेफ लगाएतका संस्थाहरु र अन्य सम्बन्धित संस्था र अभियानहरुको प्रत्यक्ष संलग्नतामा हरेक वर्ष अगस्ट १ देखि ७ गतेसम्म विश्व स्तनपान सप्ताह विश्वभरी भब्यताका साथ मनाउने चलन चलिआएको छ। हुनत आफ्नो बच्चालाई स्तनपान गराउने कुरा सबैलाई जानकारी भएकै कुरा हो। तर यस बारेमा बिस्तृत रुपमा जानाकारी पाउन आवश्यक छ। प्रारम्भिक स्तनपान अर्थात बच्चा जन्मिएको एक घन्टाभित्र वा यसमा पनि जतिसक्दो चाँडो स्तनपान गराउने, पूर्ण स्तनपान गराउने अर्थात ६ महिनासम्म नवजात शिशुलाई आमाको दुधमात्र खुबाउने र बच्चा जन्मेको कम्तिमा २ वर्षसम्म अन्य खानेकुराको सँगसँगै आमाको दुधपनि प्रयाप्त मात्रमा खुबाउने कुरामा सबै आमाहरुलाई अनिबार्य जानकारी हुनु आवश्यक छ।
बच्चालाई पूर्ण स्तनपान गराउन निम्न कुरामा जानकारी हुनुपर्दछ
शिशु जन्मिएपछि जतिसक्दो चाँडो (१घन्टा भित्र ) आमाको बिगौति दुध खुवाऔं।
शिशुलाई जन्मेदेखि ६ महिना पुरा नभए सम्म आमाको दुधमात्र खुवाऔं।
बालबालिकालाई ६ महिना पुरा भएपछि पुरक खानाका साथै कम्तिमा २ वर्षको उमेरसम्म निरन्तर स्तनपान गराऔं।
आमाको दुध शिशुको लागि सर्बोत्तम आहार हो र यसले शिशुको रोगसँग लड्न सक्ने क्षमता बढाउछ।
स्तनपानले महिलाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई कम गर्दछ। साथै मानसिक समस्या लाई समेत कम गर्दछ।
चिकित्सकको सल्लाह बिना शिशुलाई आमाको दुध बाहेक अन्य कुनै किसिमको दुध नखुवाऔं।
स्तनपान सम्बन्धी उचित परामपर्श तथा थप जानाकारीको लागि नजिकको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सम्पर्क गरी थाहापाउन सकिने छ। बच्चालाई पूर्ण स्तनपान गराउनको लागि प्राकृतिक रुपले आमाको महत्वपुर्ण भुमिका भएता पनि यसमा परिबारका हरेक सदस्यको जिम्मेवारी पनि महत्वपुर्ण रहन्छ। हरेक परिवारका अन्य सदस्यहरुले स्तनपान जस्तो महत्वपूर्ण कार्यमा आमालाई सहयोग नगरेमा कुनैपनी हालतमा उसको बच्चाले पूर्ण स्तनपान गर्न सक्दैन। नेपालमा अझैपनि शिशु जन्मेको १ घन्टाभित्र दुध चुसाउने आमाको संख्या जम्मा ६३ प्रतिशत रहेको छ। त्यस्तै शिशुलाई ६ महिनासम्म आमाको स्तनपान मात्र गराउने आमाको संख्या ६८ प्रतिशत र शिशुलाई २ वर्षभित्र निरन्तर स्तनपान गराउने आमाको संख्या बल्ल ९४ प्रतिशत रहेको कुरा सर्बेक्षणहरुबाट देख्न सकिन्छ।
त्यस्तै गरेर पहाडी गाँउहरुमा जन्मेको १ घन्टाभित्र स्तनपान गराउनेको संख्या ६३ प्रतिशत र शहरमा ५१ प्रतिशत रहेको तथ्याङक पाइन्छ। शुदूरपश्चिम प्रदेशमा ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या ७४ प्रतिशत छ भने बागमतीमा ४३ प्रतिशत छ। लुम्बिनी प्रदेशमा जम्मा ३६ प्रतिशत स्तनपान गराउने आमाको संख्या रहेको छ। त्यसैले यो प्रतिशतलाई आधार मानेर भन्ने हो भने अझैपनि हाम्रा समुदायहरुमा शिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौति दुध खुवाउनेप्रति जोड दिनुपर्छ। आमाको बिगौति दुध बच्चाको लागि रोगसँग लड्न सक्ने क्षमता बढाउने एक प्रकारको पहिलो खोप नै हो भनेर बुझाउनुु निकै आवश्यक छ।
शिशुलाई जन्मेको १ घन्टाभित्र जति सक्दो चाँडो आमाको दुध अनिवार्य खुवाऔं, जन्मेको ६ महिनासम्म आमाको दुध मात्र पूर्ण रुपमा खुवाऔं। स्तनपान गराउदाँ २४ घन्टामा कम्तिमा १० देखि १२ पटक सम्म गराऔं। एउटा स्तनको स्तनपान गराउँदा कम्तिमा १५ मिनेटको समय अवधिसम्म दुध चुसाऔं। एउटा स्तनको दुध पुरामात्रामा सकाएर मात्र अर्को स्तनको दुध खुबाउन शुरुवात गरौं। यसो गरेमा मात्र बच्चाले दुधबाट प्राप्त गर्नुपर्ने पानीदेखि सम्पुर्ण पोषक तत्व समेत प्राप्त गर्न सक्दछ। जन्मेको कम्तिमा २ वर्षको उमेरसम्म थप खानाको साथमा पुर्ण स्तनपान गराऔं।
शिशुुलाई पूर्ण स्तनपान गराउन घरदेखि अफिसमा कार्यरत आमाहरुलाई सहजताका लागि सोच्नुपर्दछ। सरोकारवालाहरुले जागिरे आमाहरुको लागि हरेक कार्यालयमा स्तनपान कक्षको बारेमा नीति निर्माण गर्ने र कार्यान्वायन गर्न जरुरी छ।