काठमाडौं- नेपालभर ३० जनामा हैजाको संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)ले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा हैजा संक्रमितको संख्या ३० पुगेको हो।
इडिसीडीका अनुसार ललितपुरमा हैजाका सबैभन्दा बढी संक्रमित फेला परेका छन्। ललितपुर र काठमाडौँमा गरी उपत्यकामा २० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको छ। यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये सबैभन्दा बढी ७ जना ५ देखि १४ वर्षका बालबालिकालाई रहेको महाशाखाले जनाएको छ। १५ देखि २४ वर्षका ६ जना, २५ देखि ३४ वर्षका ४ जना, ३५ देखि ४४ वर्षका ५ जना, ४५ देखि ५४ वर्षका ५ जना , ५५ देखि ६४ वर्ष र १४ वर्षमुनिका एक–एक जना हैजा देखिएको महाशाखाले पुष्टि गरेको छ।
हैजाबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ। खाना बनाउनु अघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ।
यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले सुझाव दिएका छन्।