रामपुर (पाल्पा)- गेझा स्वास्थ्यचौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। रामपुर नगरपालिका–१० स्थित स्वास्थ्यचौकीमा आउने गर्भवतीले सो सेवा पाउनेछन्।
घरबाट अस्पतालसम्म र अस्पतालबाट घरसम्म सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने स्वास्थ्यकर्मी जगन्नाथ भण्डारीले बताए। चालु आर्थिक वर्षदेखि यस्तो व्यवस्था भएको हो । सुत्केरीलाई तीसवटा अण्डा पनि दिइने स्वास्थ्यचौकीले जनाएको छ।
यातायातको अभाव तथा आर्थिक समस्याले गर्भवतीलाई स्वास्थ्य संस्थामा पुग्न कठिन नहोस् भन्ने उद्देश्यले स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपलब्ध गराएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले राससलाई जानकारी दिए।