काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनपछि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसुति गृह) ले अस्पतालको सेवा दुई सिफ्टमा सञ्चालनमा ल्याएको छ।
अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले अस्पतालले दुई सिफ्टमा सेवाहरु सञ्चालन हुन थालेको जानकारी दिए।
उनले भने, ‘अस्पतालले ओपिडी, डिस्चार्ज सेवा तथा शल्यक्रिया सेवा बिहान ९ देखि ३ बजेसम्म मात्र दिने गरेकोमा बेलुका ४ बजेसम्म पुर्याइ एक घण्टा थप गरिएको छ। विस्तारित अस्पताल सेवामा ३ बजे देखि नै सुरु हुने गरेकोमा ४ बजेदेखि तय गरिएको छ।’
अस्पतालका निर्देशक डा अधिकारीका अनुसार जनरल ओपिडी सेवा बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन भएकोमा यसलाई सुधार गर्दै ओपिडी तथा अप्रेसन सेवा १ घण्टा बढाइएको छ। सो सेवा अब बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ।
विस्तारित अस्पताल सेवा इएचएसमा ३ बजेदेखि ६ बजेसम्म रहेको ओपिडी सेवालाई ४ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न थालिएको छ।
सो सेवामा गर्भवती महिलाको बच्चाको मुटुको परीक्षण अर्थात इकोकार्डियोग्राफी तथा आमाको मुटुको इको कार्डियोग्राफी सेवा जेठ देखि नै ४ बजेदेखि ६ बजेसम्म सञ्चालनमा थियो।
यस्तै ओपिडी सेवामा नवजात शिशु तथा बालरोगको विस्तारित ओपिडी सेवा साउन २० गतेदेखि सुरु गरिएको छ। अस्पतालले बिरामीलाई एक सिफ्टमा मात्र डिस्चार्ज गर्ने गरेकोमा हाल दुई सिफ्टमा डिस्चार्ज हुने व्यवस्था गरेको डा अधिकारीले बताएका छन्।
यस्तै ओपिडी ताथ शल्यक्रिया सेवा बिहान ९ देखि ३ बजेसम्म रहेकोमा बिहान ९ देखि ४ बजेसम्म अप्रेसन सेवा पनि सञ्चालन गर्न थालिएको छ।
यस्तै कुनै युनिटसँग केस बढी भएमा कम भएको अर्को युनिटसँग सहकार्य गरी कार्यव्यवस्थापन गरिएको डा अधिकारीले बताएका छन्।
स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन बीमा सेवामा कार्यरत कर्मचारीलाई जिम्मेवार बनाइएको छ।
उनले अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनको लागि ओपिडीको प्रत्येक तलामा जानकारीमूलक सूचनाहरु राखिएको तथा विभिन्न फ्लेक्स बोर्ड राखी जानकारीमूलक सन्देश उपलब्ध गराइएको बताए। साथै क्याप नेपाल मार्फत दुईजना स्वयंसेवनको व्यवस्थापन गरि सेवाग्राहीलाई अनलाइन टिकटको लागि सहजिकरण गरिएको जानकारी दिए।
बिरामीहरुको सहजताका लागि अस्पताल सेवा शुल्कको जानकारी अस्पताल बडापत्रमा देखिने गरि राखिएको, सेवा उपलब्ध हुने स्थानहरुको जानकारीका लागि नक्सा राखिएको, ओपिडीमा आएका बिरामीलाई बस्ने कुर्सीहरुको व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ।
यस्तै सोधपुछ कक्ष, सहायता कक्ष, गुनासो सुनुवाई कक्षको व्यवस्थालाई अझै प्रभावकारी बनाइएको र अस्पतालमा सरसफाइलाई विशेष ध्यान दिदैं, सरसफाइको चेकलिष्ट बनाइ वार्ड इन्चार्जबाट अनुगमन हुने व्यवस्था मिलाइएको जनाइएको छ।