काठमाडौं- वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनकी रजिस्ट्रार डा नन्दिताकुमारी झालगायत तीन कर्मचारी तीन महिनादेखि अस्पतालको सम्पर्कबिहिन भएका छन्। बिदा स्वीकृत गराइ गएका उनीहरु सम्पर्कमा नआएपछि अस्पतालले सार्वजनिक सूचना जारी गरेको छ।
डा झासँगै रेडियोलोजिकल टेक्नोलोजिस्ट सवि अधिकारी र स्टाफ नर्स प्रिया श्रेष्ठ समेत सम्पर्कमा नरहेको अस्पतालले जनाएको छ।
भनिएको छ, 'यस अस्पतालका देहायका कर्मचारीहरू बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रही आएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उचित कारण सहित लिखित रूपमा सम्पर्कमा आउनुहुन यो सूचना गरिएको छ।'
अस्पतालको कर्मचारी प्रशासन नियमावली २०६६ को नियम १३१ (ग) बमोजिम बिदा स्वीकृत नगराई लगातार नब्बे दिनभन्दा बढी अस्पतालमा अनुपस्थित भएकोमा भविष्यमा सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने उल्लेख भएको स्मरण गरिएको छ।